पत्रकार डिलप्रसाद शर्माको नाममा अक्षय कोष स्थापना

पत्रकार डिलप्रसाद शर्माको नाममा अक्षय कोष स्थापना

सुर्खेत साउन १३ गते । संसदीय मामिला पत्रकार समाज कर्णाली प्रदेशको पहिलो साधारण सभाले संस्थाका संस्थापक सचिव स्वर्गीय पत्रकार डिलप्रसाद शर्माको नाममा अक्षय कोष स्थापना गर्ने निर्णय गरेको छ । संस्थाका अध्यक्ष शेरबहादुर थापाको अध्यक्षतामा बसेको साधारण सभाले ‘डिल स्मृति पत्रकारिता पुरस्कार’ वितरण गर्न २ लाख रुपैयाँको अक्षय कोष स्थापना गर्ने निर्णय गरेको संस्थाका सचिव सिताकुमारी वलीले जानकारी दिइन् ।

‘२०७६ कात्तिक २८ गते बोनम्यारो रोगबाट मृत्युवरण गर्न पुगेका संस्थापक सचिवज्यूको सम्झनामा संसदीय बिटमा पत्रकारिता गर्ने २ जनालाई पुरस्कार वितरण गर्ने योजनाका साथ हामीले यो अक्षय कोष स्थापना गर्ने निर्णय गरेका हौं,’ उनले भनिन्, ‘त्यसका लागि सरकारी तथा गैरसरकारी संस्थासँग समन्वय गर्न, अक्षय कोष स्थापना गर्न, सञ्चालन गर्न र व्यवस्थापन गर्न उपाध्यक्ष देवबहादुर रानाको संयोजकत्वमा एक समिति निर्माण गरेका छौं ।’

उनका अनुसार बैठकले साधारण सभामार्फत समितिलाई पूर्णता दिएको छ । अध्यक्षमा शेरबहादुर थापालाई निरन्तरता दिइएको छ भने उपाध्यक्षमा देवबहादुर राना, सचिवमा सिताकुमारी वली, सहसचिवमा पूर्णबहादुर खड्का, कोषाध्यक्षमा यज्ञ खत्री, सदस्यमा यसकुमार चपाई, सिता आचार्य, बसन्त भण्डारी र रमा केसी निर्विरोध चयन भएका छन् । 

प्रतिक्रिया