पहिरोले कर्णालीमा ३ जनाको मृत्यु, ७ बेपत्ता

पहिरोले कर्णालीमा ३ जनाको मृत्यु, ७ बेपत्ता

कालीकोट,रुकुम पश्चिम साउन १३ गते । अविरल वर्षाका कारण खसेको पहिरोमा परी कालीकोट र रुकुम पश्चिममा ३ जनाको मृत्यु भएको छ भने ७ जना बेपत्ता छन् । सोमबार राति गाउँमाथिबाट पहिरो खस्दा रुकुमको बाँफिकोट गाउँपालिका–९, स्यालाका २२ वर्षीय नविन विक, १६ वर्षीय बलबहादुर सुनार र कालीकोटको रास्कोट–१, पोतमाराकी १५ वर्षीया बेलपुरा शाहीको मृत्यु भएको हो । रास्कोट नगरपालिका–१, बडोलतलास्थित जयबहादुर शाहीको घरमाथिबाट आएको पहिरोले उनीसहित ५ जना, नरहरिनाथ–८ लालुमा एकजना किशोर र तिलागुफा–८ स्थित टाकुल्लाखोलाले बगाउँदा एक वृद्ध बेपत्ता भएका छन् ।

कालीकोटका जिल्ला प्रमुख डिएसपी श्यामबाबु ओलिका अनुसार ५० वर्षीय जयबहादुर शाहीसहित उनकी १५ वर्षीया छोरी संगीता, १२ वर्षीया कोशी, ८ वर्षीय छोरा नवीन र पाहुना आएकी १५ वर्षीया भदैनी अस्मिता शाही पहिरोमा बेपत्ता छन् । पानी नरोकिएकोले बेपत्ताको खोजी गर्न समस्या भएको उनले बताए । उनका अनुसार पहिरोले जयबहादुरको घर पुर्दा एक भैंसी, ७ बाख्रा, एक हल गोरुसहित सबै धनमाल बगाएको छ । नरहरिनाथ–८, लालुस्थित निर्माणाधीन सडकमा हिँड्दै गर्दा पहिरो खसेपछि १६ वर्षीय पारस भण्डारा बेपत्ता भएका हुन् ।

त्यस्तै, मंगलबार दिउँसो कर्णाली राजमार्गअन्तर्गत सुर्खेत–जुम्ला सडकखण्डमा पर्ने तिलागुफा–८, टाकुल्लाखोलामा आएको बाढीले बगाउँदा खाँडाचक्र–६, दाहाँकी ५० वर्षीया अविसरा शाही बेपत्ता भएका छन् । छोरी भेट्न छाप्रे गएकी उनी आफ्नो घर फर्कदै थिइन् । खोलामा बाढी आएपछि आवागमन ठप्प भएको छ । रास्कोटमा डेढ किलोमिटर माथिबाट पहिरो आएको कालिका निमाविका प्रधानाध्यापक दीर्घराज शाहीले टेलिफोनमा बताए ।

अविरल वर्षासँगै आएको बाढी–पहिरोले सान्नीत्रिवेणी–८, पोतमारा र रास्कोट–७, सान्तिघाटका २/२ घर बगाएको छ । कर्णाली करिडोरअन्तर्गतको फुगाडमा नेपाली सेनाले निर्माण गरेको फलामे बेलिब्रिज पनि बाढीले बगाएको प्रहरीले जनाएको छ ।

जो सुतेको खाटसँगै बगे

रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका–९ स्यालाका २२ वर्षीय नविन विक र उनका छिमेकी भाइ १६ वर्षीय बलबहादुर सुनारले सोमबार बेलुकी अरिंगालको गोला पोले । साथीसित अरिंगालको गोला पोल्न गएकामध्ये अरु आ–आफ्नै घर गए पनि दुवैजना छुट्टिएनन् । नविनकै घरमा सँगै सुतेका उनीहरुलाई घर माथिबाट खसेको पहिरोले खाटसँगै बगायो ।

सुतेकै अवस्थामा पहिरोले उनीहरुलाई घरमुनिको किमाना खोला किनारमा पुर्याएको हो । प्रहरीका अनुसार उनीहरु खाटमा सुतेकै अवस्थामा मृत फेला परेका हुन् । उनीहरुको शव ओढेको बलांकेट हटाएरै खाटबाट निकालिएको जिल्ला प्रहरी प्रमुख डीएसपी ठगबहादुर केसीले बताए । उनका अनुसार घरको माथिल्लो तलामा सुतेका ४ जना घाइते छन् । उनीहरुको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । नविनकी ६० वर्षीया आमा झुपी, २२ वर्षीया भाउजु व्युझनासहित उनकी २ छोरी ५ वर्षीया कोपिला र ३ वर्षीया रितु घाइते छन् ।

गर्भवतीसमेत रहेकी व्युझना २ छोरीलाई लिएर भाग्न सफल भएकी थिइन् । ‘कतिबेला पहिरो आयो थाहा पाइनँ,’ उनले भनिन्, ‘मेरा दुवै खुट्टा र छोरीहरुका खुट्टा पनि पहिरोले च्यापेको थियो ।’ सासुलाई कतै नदेखेपछि छिमेकी गुहार्दा मात्र अरुले पहिरो आएको थाहा पाएको उनले बताइन् । उनका पति हस्तबहादुर दाङमा छन् ।

पहिरोमा परी मृत्यु भएका नविनकी पत्नी भने साउन बार्न माइती गएकी थिइन् । नविनले गत मंसिरमा बिहे गरेका थिए । घरको आर्थिक अवस्था कमजोर भएपछि नविन र बलबहादुरले पढाइ छोडी ज्यालामजदुरी गर्दै आएका थिए । वडाध्यक्ष कविराम खत्रीले क्षतिको विवरण संकलन भइरहेको बताए । भिरालो भागमा धेरै पानी बगेपछि पहिरो गएको डीएसपी केसीले बताए । उनका अनुसार मंगलबार दिनभर पनि उक्त क्षेत्रमा पहिरो झरिरहेको छ । Kantipur

प्रतिक्रिया