नेपालमा कोरोना कहर : ५७ जनाले गुमाए ज्यान

नेपालमा कोरोना कहर : ५७ जनाले गुमाए ज्यान

फोटो फाइल

काठमाडौं साउन १५ गते ।  नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट मृत्यु हुनेको संख्या ५७ पुगेको छ।  कोरोनाका कारण शनिबार साँझ वीरगन्जकी एक वृद्धाको मृत्यु भएसँगै मृतकको संख्या ५७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले जानकारी दिए। नारायणी बयोधा अस्पतालमा उपचाररत वीरगन्ज महानगरपालिका–१६ नगवाकी संक्रमित ६८ वर्षीया महिलाको शनिबार साँझ ६ बजे मृत्यु भएको हो।  उनमा शुक्रबार राति कोरोनाको संक्रमण पुष्टि भएको थियो। 

ज्वरो र निमोनिया भएपछि उपचारका लागि साउन १३ गते बयोधा अस्पतालमा भर्ना भएकी महिलाको शनिबार साँझ मृत्यु भएको हो।  स्वास्थ्यमा समस्या भएपछि बयोधा अस्पतालले शनिवार (साउन १७ गते)  साँझ ६ बजे कोभिड अस्पतालमा पठाएको थियो। उनको कोभिड अस्पताल ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता गौतमले जानकारी दिए। उनी मधुमेह तथा उच्च रक्तचाप रोगले पीडित थिइन्। 

यसअघि बयोधा अस्पतालमै शुक्रबार बिहान मृत्यु भएकी वीरगन्ज–१६ नगवाकै ५० वर्षीया मृतक महिलामा  शुक्रबार राति संक्रमण पुष्टि भएको थियो। दुई दिनमा बयोधा अस्पतालमै दुई संक्रमीतको मृत्यु भएको हो। योसँगै वीरगन्जमा कोरोनाका कारण मृत्यु हुनेको संख्या १५ पुगेको छ। देशभर कोरोनाले ज्यान गुमाउनेको संख्या भने ५७ पुगेको छ। पछिल्लो २४ घण्टामा नेपालमा २४६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २० हजार ३३२ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्तागौतमका अनुसार  संक्रिय संक्रमितको संख्या पाँच हजार ६ सय ७२ रहेको छ।  शनिबार ३१५, शुक्रबार २२४, बिहीबार २७४, बुधबार २१०, मंगलबार ३५३, सोमबार १३९ जनामा कोरोना संक्रमण देखिएको थियो। मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १११ डिस्चार्ज भएका छन्। कुल डिस्चार्ज हुनेको संख्या भने १४ हजार ६०३ पुगेको छ। अहिले क्वारेन्टाइनमा १० हजार ९६४ जना रहेका छन्। 

मन्त्रालयका अनुसार नेपालमा पाँच सय बढी संक्रमित हुने जिल्ला रौतहट र कैलाली हुन्। अहिले कोरोना संक्रमण शून्य हुने जिल्लाको संख्या भने पाँच पुगेको छ। प्रवक्ता गौतमका अनुसार भोजपुर, संखुवासभा, रसुवा, मनाङ र मुस्ताङमा कोरोना संक्रमण शून्यमा झरेको हो।  मन्त्रालयले साउन १० देखि १३ गतेसम्म काठमाडौं प्रवेश गर्ने मुख्य नाका नागढुंगा, साँगा र फर्पिङबाट स्वाब संकलन गरेको छ। तीन दिनमा  १० हजार आठ सय २७ नमुना संकलन गरेर परीक्षणका लागि विभिन्न प्रयोगशालामा पठाइएको प्रवक्ता गौतमले जानकारी दिए। 

प्रतिक्रिया