कोरोना संक्रमितको संख्या २१ हजार नाघ्यो : १५ हजार डिस्चार्ज

कोरोना संक्रमितको संख्या २१ हजार नाघ्यो : १५ हजार  डिस्चार्ज

काठमाडौं : पछिल्लो २४ घण्टामा नेपालमा २५९ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २१ हजार ९ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार  संक्रिय संक्रमितको संख्या पाँच पाँच हजार ९२५ रहेको छ।  सोमबार ४१८ जनामा कोरोना पुष्टि भएको थियो। 

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ६५ डिस्चार्ज भएका छन्। कुल डिस्चार्ज हुनेको संख्या भने १५ हजार २६ पुगेको छ। अहिले क्वारेन्टाइनमा १० हजार ४५२ जना रहेका छन्। मन्त्रालयका अनुसार नेपालमा पाँच सय बढी संक्रमित हुने जिल्ला रौतहट, पर्सा र कैलाली हुन्। अहिले कोरोना संक्रमण शून्य हुने जिल्लाको संख्या भने पाँच पुगेको छ। प्रवक्ता गौतमका अनुसार भोजपुर, संखुवासभा, रसुवा, मनाङ र मुस्ताङमा कोरोना संक्रमण शून्यमा झरेको हो।  

मन्त्रालयले साउन १० देखि १३ गतेसम्म काठमाडौं प्रवेश गर्ने मुख्य नाका नागढुंगा, साँगा र फर्पिङबाट स्वाब संकलन गरेको थियो। तीन दिनमा  १० हजार ८२७ नमुनाको पीसीआर परीक्षणमा ४० जनाको रिपोर्ट पोजिटिभ आएको छ।  नेपालमा कोरोनाले मृत्यु हुनेको संख्या ५८ पुगेको छ।  

प्रतिक्रिया