एकै दिन कोरोनाले पाँचको मृत्यु

एकै दिन कोरोनाले पाँचको मृत्यु

काठमाडौं साउन २१ गते । नेपालमा कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट एकै दिन पाँच जनाको मृत्यु भएको छ। पर्सा र मोरङमा दुईदुई र काठमाडौंमा एक गरेर बुधबार पाँच जनाको मृत्यु भएको हो।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मृत्युको आधिकारी पुष्टि नगरेपनि सम्बन्धित अस्पतालले भने कोरोनाकै कारण मृत्यु भएको पुष्टि गरेका छन्। 

पर्सामा दुईको मृत्यु 

पर्सामा कोरोनाले बुधबार दुई जनाको मृत्यु भएको छ। वीरगन्ज हेल्थ केयर अस्थायी कोभिड अस्पतालमा उपचारका क्रममा बुधबार बिहान वीरगन्ज १५ का ४६ वर्षीय पुरुषको मृत्यु भएको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदन उपाध्यायले जानकारी दिए। उनमा साउन १९ गते राति कोरोना संक्रमण पुष्टि भएको थियो। यस्तै गत सोमबार राति उपचारका लागि वीरगन्जको नेशनल मेडिकल कलेजमा ल्याउने क्रममा बाटोमै मृत्यु भएकी पर्साको पोखरीया नगरपालिका-८ की १८ वर्षीया युवतीमासमेत गएराति कोरोना पुष्टि भएको छ। बुधबार दुई जनाको कोरोनाकै कारण मृत्यु भएसँगै पर्सामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १७ पुगेको छ। साउनमा मात्रै १३ जनाले कोरोनाकै कारण ज्यान गुमाएका छन्। 

मोरङमा दुईको मृत्यु 

मोरङमा बुधबार कोरोनाले दुई पुरुषको मृत्यु भएको छ। मृत्यु हुने मध्ये एक विराटनगर र एक रंगेलीका हुन्।  कोशी अस्पतालको आइसोलेसनमा उपचार गराइरहेका विराटनगर महानगरपालिका-९ का ४५ वर्षीय पुरुषको बुधबार दिउँसो १ ः १० बजे मृत्यु भएको हो।अस्पतालका मेडिकल सुपरिटेन्डेन डा. चुमनलाल दासका अनुसार उनको स्वाबको पीसीआर रिपोर्ट भने दिउँसो पौने चार बजेमात्र आएको थियो।ज्वरोका साथै जण्डिसको समस्या देखिएपछि ती पुरुषलाई उपचारका लागि मंगलबार राति साढे १० बजे अस्पताल ल्याइएको थियो। त्यसैगरी मोरङकै रंगेली नगरपालिका-८ का ४५ वर्षीय अर्का एक पुरुषको कोरोनाका कारण मृत्यु भएको छ। स्वास्थ्यमा समस्या भएपछि उपचारका लागि विराटनगर ल्याइएका उनको कोशी अस्पताल ल्याइपुर्याउँदा मृत्यु भइसकेको हो। उनको स्वाबको पीसीआर रिपोर्ट दिउँसो बुधबार दिउँसो साढे ३ बजे आएको थियो। 

काठमाडौंमा एक महिलाको मृत्यु 

कोरोना संक्रमणबाट बुधबार काठमाडौंमा एक जनाको मृत्यु भएको छ। साउन १९ गते कोरोना पुष्टि भएकी सर्लाही मलंगवा-६ की ६५ वर्षीया महिलाको बुधबार बलम्बुस्थित सशस्त्र प्रहरीको अस्पतालमा मृत्यु भएको हो। 

सशस्त्र प्रहरीका प्रवक्ता डीआईजी राजु अर्यालका अनुसार ति महिला प्रहरी अस्पतालमा साउन १६ गते भर्ना भएकी हुन्। मनमोहन अस्पतालमा उपचार गराइरहेकी ति महिलामा कोरोनाको लक्षण देखिएपछि प्रहरी अस्पताल रिफर गरिएको थियो। 

निमोनियाको उपचार गराइरहेकी महिलामा स्क्रब टाइफस समेत देखिएको थियो। योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ६५ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भने अहिलेसम्म ६० जनाको मात्र मृत्यु भएको औपचारिक जानकारी दिएको छ।  

उपत्यकामा थप ६२ जनामा संक्रमण

काठमाडौं उपत्यकामा थप ६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ६२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।काठमाडौंका ५७ जना र ललितपुरका ५ जना गरी कुल ६२ जनामा कोरोना संक्रमण देखिएको मन्त्रालयले पुष्टि गरेको हो। मंगलबार पनि उपत्यकामा ६२ जनामा कोरोना संक्रमण देखिएको थियो।

एकै दिन ३८१ मा कोरोना  संक्रमण

मन्त्रालयका अनुसार बुधबारसम्म ६ हजार १ सय ७४ जना कोरोनाका सक्रिय बिरामी छन्। जसमध्ये प्रदेश १ मा ३१२ जना, प्रदेश २ मा २ हजार ६ सय २२ जना, बागमती प्रदेशमा ७८५ जना, गण्डकी प्रदेशमा २७२ जना, प्रदेश ५ मा ३४० जना, कर्णली प्रदेशमा २९२ जना र सुदूरपश्चिम प्रदेशमा १ हजार ५ सय ५१ सक्रिय बिरामी रहेको मन्त्रालयले जनाएको छ।यस्तै बुधबार थप ३८१ जनामा कोरोना  संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता गौतमका अनुसार नयाँसहित कूल संक्रमितको संख्या २१ हजार ३९० पुगेको हो ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा १३० जनाले कोरोना जितेर घर फर्किएका छन्। योसहित कोरोना जित्नेको कुल संख्या १५ हजार १ सय ५६ पुगेको छ। मन्त्रालयका प्रवक्ता डा. गौतमकाअनुसार पछिल्लो २४ घण्टामा ६ हजार ३ सय ५९ जनाको पीसीआर नमुना परीक्षण भएका छन्।क्वारेन्टाइनमा रहनेको संख्या ९ हजार ९सय २५ पुगेको छ यस्तै मन्त्रालयका अनुसार आइसोलेसनमा ६ हजार १ सय ७४ जनाको उपचार भइराखेको छ । मन्त्रालयले अहिलेसम्म कोरोनाबाट ६० जनाको मात्र मृत्यु भएको औपचारीक जानकारी गराएको छ । 

प्रतिक्रिया