कर्णाली प्रदेशको टेलिकम कार्यालय अर्कै प्रदेशमा !

कर्णाली प्रदेशको टेलिकम कार्यालय अर्कै प्रदेशमा !

सुर्खेत साउन २३ गते । संघीयता कार्यान्वयनसँगै कर्णाली प्रदेशको छुट्टै अस्तित्व छ, प्रादेशिक कार्यालयहरू स्थायी राजधानी सुर्खेतमा स्थापना भएका छन् । तर, कर्णाली प्रदेशको टेलिकम कार्यालय भने अर्कै प्रदेशमा खोलिएको छ । प्रदेशको कार्यालय प्रदेशभित्रै खोलिनुपर्ने भए पनि टेलिकमले भने कर्णालीको कार्यालय ५ नम्बर प्रदेशको बाँकेमा खोलेको छ ।

नेपालगञ्जस्थित टेलिकमको भव्य कार्यालयबाहिर बोर्ड झुण्ड्याइएको छ – नेपाल टेलिकम प्रादेशिक निर्देशनालय सुर्खेत, कर्णाली प्रदेश । अनि त्यसको तल लेखिएको छ – हाल नेपालगञ्ज । टेलिकमको यो अनौठो तरिकाले कर्णाली प्रदेशका जनता अचम्मित बनेका छन् । २०७४ चैत १२ गते नै प्रदेशको स्थायी राजधानी वीरेन्द्रनगर तोकिएको भए पनि हालसम्म प्रदेश कार्यालय स्थानान्तरण गरिएको छैन । बरु बाँकेमै कर्णालीको बोर्ड झुण्ड्याइएको छ ।

प्रादेशिक राजधानी तोकिए पछि सुर्खेतमा हालसम्म नेपाल राष्ट्र बैंक, राष्ट्रिय बीमा कम्पनी, नेपाल विद्युत् प्राधिकरण, नेपाल आयल निगम, कृषि सामाग्री कम्पनी लिमिटेड, साल्ट ट्रेडिङ कर्पोरेसन जस्ता सरकारी तथा अर्धसरकारी धेरै कार्यालयले प्रादेशिक कार्यालय खोलेका छन् ।  बाँकेमा रहेको कर्णाली प्रदेशको कार्यालयले प्रदेशका १० जिल्लामा टेलिकमबारे नीति बनाउने र प्रदेशमा रहेका टेलिकमका टावरको मर्मत गर्ने गर्छ ।  

प्रादेशिक कार्यालयका प्रमुख अन्तप्रकाश मल्लिकले सुर्खेतमा कार्यालयको लागि आफ्नै भवन नहुँदा र भाडामा उपयुक्त घर पाउन नसक्दा कार्यालय नेपालगञ्जमा रहेको बताए । ‘सुर्खेतमा हाम्रो आफ्नै भवन छैन । घर पनि उपयुक्त पाइएको छैन,’ उनले भने, ‘अब छिट्टै नै टेलिकम सुर्खेत रहेको भवनमा मिलाएर भए पनि कार्यालय सार्ने तयारी गरिरहेका छौं ।’ Lokaantar

प्रतिक्रिया