कोरोना परिक्षण : पीसीआर टेस्ट रिपोर्ट एकै व्यक्तिमा फरक –फरक किन ?

कोरोना परिक्षण : पीसीआर टेस्ट रिपोर्ट एकै व्यक्तिमा फरक –फरक किन ?

शंकर शाही
सन २०१९ को डिसेम्बरदेखि चिनको वुहानबाट सुरु भएको कोरोना भाइरस (कोभिड–१९) नामक नयाँ कोरोना भाइरसले संसार भरि नै गम्भीर खालको निमोनिया र स्वासप्रश्वासको रोग निम्तिन सुरु गर्यो । सुरुवाती दिनमा यसलाई २०१९ नोवेल कोरोना भाइरस भनियता पनि पछि यसबाट हुने रोगलाई कोभिड–१९ भनियो । यो रोग लगाउने भाइरसलाई सिभिआर यक्युटरेस्पिरेटोरी सिन्ड्रोम कोरोना भाइरस–२ (सार्सकोभ–२) भनियो । यो भन्दा पहिला सन २००३ मा सार्स कोरोना भाइरस र सन २०१२ मा मर्स कोरोना भाइरस देखिएका थिए । कोरोना भाइरस एक व्यक्तिबाट अर्को व्यक्तिमा मास्क नलगाई हाछ्यु गर्दा, खोक्दा र बोल्दा मुखबाट निस्किने साना ड्रप्लेटहरु अर्को व्यक्तिको नाक, मुख र आँखाको माध्यमबाट शरिरभित्र प्रवेश गरेमा सर्दछ ।
त्यसैले यसबाट बच्नको लागि सधै मास्कको प्रयोग गर्नुपर्दछ । खोक्दा हाछ्यु गर्दा रुमाल अथवा टिस्सु पेपरले छोपेर मात्र गर्नु पर्दछ । साबुन पानीले मिचीमिची हात धुने बानी बसाल्नुपर्दछ । सामाजिक दुरी कम्तिमा १ मिटर कायम गर्नु पर्दछ । भिडभाडमा जानु हुँदैन । सबैले बारम्बार छुने बस्तुहरु छोएपछि ह्याण्ड सेनीटाइजरको प्रयोग गर्नुपर्दछ । अथवा कम्तिमा २० सेकेन्डसम्म साबुन पानीले हात धुनु पर्दछ ।
नेपालमा कोरोना भाइरसबाट संक्रमित व्यक्तिहरुमा प्रयाप्त मात्रामा लक्षणहरु नदेखिए पनि ज्वरो आउनु, सुख्खा खोकी लाग्नु, सास फेर्न गार्हो हुनु र पखाला लाग्नु यसका प्रमुख लक्षणहरु हुन् । कोरोना भाइरसको संक्रमण भए नभएको पत्ता लगाउनको लागि प्रमुख दुई वटा तरिका अपनाइएको पाइन्छ जस अन्तर्गत :
१. डाइरेक्ट भाइरस छ छैन भनेर पत्ता लगाउने बिधि ।
२.कोरोनाको संक्रमण भईसकेपछि हाम्रो शरिरले कोरोनाको बिरुद्दमा निकाल्ने रोग प्रतिरोधात्मक तत्वको जाँच गर्ने (जसलाई हामी सेरोलोजिकल टेस्ट) पनि भन्दछौ ।
डाइरेक्ट भाइरस छ छैन भनेर पत्ता लगाउनको लागि विभिन्न विधिहरुको प्रयोग गरिन्छ । जसमा धेरै प्रयोग भईरहेको विधिको नाम हो, आरटीपीसीआर टेस्ट । अर्को बिधि हो, आइसोथर्मल एम्प्लिफिकेसन एस्से । त्यस संगसंगै ¥यापिड एण्टिजिन डिटेक्सन टेस्ट पनि प्रयोग गर्न सकिन्छ ।
सेरोलोजिकल टेस्टहरुमा एकदमै चलन चल्तीमा रहेको आरडिटी टेस्ट अथवा यसलाई ¥यापिड एण्टिबडि टेस्ट पनि भनिन्छ । अन्य टेस्टहरुमा इलाइजा, किलियारन्युट्रलाइजेसन एस्सेहरु पर्दछ । तर सबै भन्दा राम्रो गोल्ड स्ट्याण्डर्ड मानिएको टेस्ट चाहिँ रिअल टाइमपीसीआर टेस्ट नै हो ।
पीसीआर भनेको पोलिमरेजचेन रियाक्सन हो । यो संसारभर व्यापक रुपमा प्रयोग गरिएको मोलिक्युलर बायोलोजी (आणविक जीव विज्ञान) प्रविधि हो । यसमा कोरोना भाइरसको आनुबांशिकतत्व (जेनेटिककम्पोनेन्ट) छकि छैन भनेर हेरिन्छ । यो अत्या धिक संवेदनशील विधि हो । यसमा संकलन गरिएको नमुनालाई आधिकारिक प्रयोगशालामा ल्याएपछि त्यसलाई २ चरणमा परिक्षण गरिन्छ । पहिलो चरणमा नमुनामा भएको भाइरसको आरएनए छुट्याइन्छ । त्यस बिधिलाई आरएनए एक्सट्रयाक्सन भनिन्छ ।
दोश्रो चरणमा एक्सट्रयाक्सन गरिएको आरएनएलाई कोभिड–१९ को विशेष प्राइमरसँग जुधाइन्छ । संक्रमण शंका गरिएका व्यक्तिको नमुनामा कोरोना भाइरसको आनुबांशिकतत्व (जेनेटिककम्पोनेन्ट) छैन भने कुनै प्रतिक्रिया आउँदैन । नतिजा नेगेटिभ आउँछ । तर संक्रमित व्यक्तिको नमुनामा कोरोना भाइरसको जेनेटिक कम्पोनेन्ट छ भने त्यो बिशेष प्राइमरसँग मेल खान्छ र एउटा रंगिन चित्र (फ्लोरेसेंस) देखिन्छ जसले परिणाम पोजेटिभ भएको पुष्टि गर्दछ ।
एउटा गुणस्तरीय रिपोर्ट निकाल्नको लागि प्रयोगशाला र त्यसमा प्रयोग भएको विधि मात्र नभयर नमुना संकलन, नमुनाको प्रकार, नमुनाको भण्डारण, संक्रमणको अवस्था, नमुनाको ओसार पसारले ठुलो भूमिका खेल्छ जसलाई हामी प्राबिधिक भाषामा प्रि–एनालाइटिकलफेज भन्दछौ । जसले ५० देखि ८० प्रतिसतसम्म रिपोर्टको गुणस्तरियतालाई निर्धारण गर्छ । तसर्थ नमुना निकाल्ने व्यक्तिले यस पक्षमा बढी नै ध्यान दिन जरुरी छ । नभए एकै व्यक्तिमा एकै दिनमा निकालेको नमुनामा पनि फरक–फरक रिजल्ट आउन सक्छ जसमा मेसिन, मेनपावर, मेथड र मेटेरियलको कुनै दोष हुँदैन । अर्को पक्ष भनेको कोरोना संक्रमित व्यक्तिको नमुना संकलन भएकै दिन अथवा संक्रमण भएको एक दुई दिनमै नमुना संकलन गर्दा संकलन गरेको नमुनामा प्रयाप्त मात्रामा कोरोना भाइरसको जेनेटिक कम्पोनेन्ट नपाइनुले पनि रिजल्ट नेगेटिभ आउनसक्छ ।
त्यहि व्यक्तिको नमुना पुन तेस्रो वा चौथो दिनमा संकलन गरेर जाँच गर्दा रिपोर्ट पोजेटिभ आउन पनि सक्छ । संक्रमण भएको पहिलो हप्ता अथवा ३ देखि ७ दिनसम्म भाइरसको संख्या उच्च हुन्छ भने बिस्तारै हाम्रो सरिरले रोग प्रतिरोधात्मक तत्वको विकास गरेसंगै भाइरसको संख्या घट्दै जान्छ । पीसीआर विधिबाट रिपोर्ट पोजेटिभ आउनको लागि १ एमएल नमुनामा ५०० भन्दा बढी भाइरसको संख्या हुनुपर्दछ ।
त्यसैले कोरोनाको संक्रमणको लक्षण भएका अथवा शंका लागेका व्यक्तिहरुमा पीसीआर रिपोर्ट नेगेटिभ आउँदैमा उ संक्रमित भएको छैन भन्न सकिदैन । अरु प्रविधि भन्दा धेरै संवेदनशिल र खर्चिलो प्रविधि भएको हुनाले कोरोना संक्रमणको लक्षण नदेखिएका जाँचको मापदण्डमा नपरेका र अति आवश्यक नभएका व्यक्तिहरुमा पीसीआर टेस्ट नगराउँदा पनि हुन्छ । कोरोना संक्रमण भईसकेपछि पनि दुई देखि तीन हप्तामा हाम्रो शरीरले कोरोनाको विरुद्दमा रोग प्रतिरोधात्मक तत्वको विकास गर्ने र कोरोना भाइरसलाई बिस्तारै निस्कृय पार्ने भएकोले पनि पीसीआर टेस्ट नेगेटिभ देखिन सक्छ । यस्तो बेलामा एक व्यक्तिबाट अर्को व्यक्तिमा कोरोना सर्ने सम्भावना पनि एकदमै न्यून अथवा शुन्य बराबर हुन्छ ।

लेखक कोभिड–१९ पीसीआर प्रयोगशाला दैलेखका इन्चार्ज हुन् ।

प्रतिक्रिया