सुर्खेतमा सुनका गहना बरामद

सुर्खेतमा सुनका गहना बरामद

सुर्खेत साउन २९ गते ।  सुर्खेतमा प्रहरीले लुकाइएको अवस्थामा सुनका गहना बरामद गरेको छ। वीरेन्द्रनगर वडा नम्बर ३ मा सुनका गहनासहित प्रहरीले एक जनालाई प्रक्राउसमेत गरेको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार बुधबार राती स्थानीय मनबहादुर सुनारको घरमा लुकाइएको अवस्थामा ठूलो मात्रामा गहना बरामद गरिएको हो।

प्रहरीले केही दिन पहिला ठूलो मात्रामा सुन ल्याइएको सुचना पाएपछि निगरानी बढाएको थियो। सोही क्रममा गहना बरामद गरिएको र थप सुन हुन सक्ने आशंकामा खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी रामप्रसाद घर्तीले बताए। उनकाअनुसार मनबहादुर सुनारलाई पक्राउ गरेर अनुसन्धान भइरहेको छ।

डीएसपी घर्तीले भने,‘गहनाहरु बाहिरबाट चोरेर ल्याएको आशंका गरेका छौं, घरमा हात धुने धाराको खाली स्पेसमा लुकाइएको अवस्थामा गहना भेटिएको हो। हामीले सिलबन्दी गरेर राखेका छौं, जोख्न बाँकी रहेकाले कति परिणाम छ भन्नेबारेमा एकिन भएको छैन।’ साथै उनले सुन नै हो वा सुनको जलपमात्र लगाइएको छ भन्नेबारेमा परीक्षणपछि मात्र एकिन हुने बताए। तर स्थानीय बासिन्दाले भने करिब २० तोला जति गहना प्रहरीले बरामद गरेको बताएका छन्। साथै स्थानीयले अरु पनि सुन हुनसक्ने आशंका गरेका छन्।
    
प्रहरीका अनुसार दुईवटा सुनाका कडा, पाँच वटा झुम्का, तीन वटा काँटा, १६ वटा चुरा र चार वटा श्रीफुल बरामद गरिएको छ। यसबारे थप अनुसन्धान भइरहेको र पक्राउ परेका व्यक्तिले अरुले नै राख्न दिएको बयान दिएकाले अनुसन्धान जारी रहेको एसपी राजेन्द्र भट्टले बताए। घटनास्थलका नागरिकले भने उक्त सुन भारतबाट ल्याइएको आशंका गरेका छन्।

प्रतिक्रिया