निरन्तर बढ्दै मृतकको संख्या

निरन्तर बढ्दै मृतकको संख्या

काठमाडाैं साउन २९ गते ।
नेपालमा कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घण्टामा चार जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट मृत्यु हुनेको संख्या ९५ पुगेको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार महोत्तरीको मटिहानी नगरपालिका–६ का एक ४५ वर्षीय पुरुषको साउन २५ गते मृत्यु भएको हो । उनको रामजानकी अस्पतालमा मृत्युपछि कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ । उनी क्षयरोग र मधुमेहबाट पीडित थिए । सँगै धनुषको मिथिला नगरपालिका–७ ढल्केबरकी ८५ वर्षीया महिलाको साउन २८ गते मृत्यु भएको छ । उनको उपचारको क्रममा धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको हो । उनी निमोनिया, खोकी र स्वासप्रश्वासको समस्याबाट ग्रसित भएको मन्त्रालयले जनाएको छ ।
त्यसैगरी अछामको रामारोशन गाउँपालिका ५ का १८ वर्षीय युवककोसमेत कोरोनाले मृत्यु भएको छ । उनको साउन २८ गते ललितपुरको पाटन अस्पतालमा मृत्यु भएको हो । उनी मुटु रोगी थिए । त्यसैगरी मोरङको विराटनगर महानगरपालिका–३ का ५७ वर्षीय पुरुषको मृत्यु भएको छ । उनको साउन २८ गते कोशी अस्पतालमा मृत्यु भएको हो । उनी मधुमेह र उच्च रक्तचाप पीडित थिए ।
यस्तै बिहीबार थप ५२५ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता गौतमका अनुसार नयाँसहित कूल संक्रमितको संख्या २४ हजार ९५७ पुगेको हो । बुधबार मात्रै ४८४ जनामा कोरोना संक्रमण देखिएको थियो । यस्तै सक्रिय संक्रमितको संख्या ८ हजार २५ पुगेको छ । मन्त्रालयका अनुसार १६ हजार ८ सय ३७ जनाले कोरोना जित्नेका छन् । क्वारेन्टाइनमा रहनेको संख्या १४ हजार ७६९ जना पुगेको छ ।

प्रतिक्रिया