कोरोनाले मृत्यु हुनेको संख्या १०० पुग्यो

          |   प्रकाशित मितिः शुक्रबार, साउन ३०, २०७७     ::: 124 पटक पढिएको   |  

काठमाडौं साउन ३० गते । नेपालमा कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट मृत्यु हुनेको संख्या १०० पुगेको छ। कुल संक्रमितको संख्या २५ हजार ५५१ पुग्दा मृतकको संख्या १०० पुगेको हो। मृत्यु हुनेमध्ये ७८ पुरुष र २२ महिला छन्। अहिलेसम्म १७ हजार ७७ जनाले कोरोना जितेका छन्। मृतकमध्ये एक जनाको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले औपचारिक जानकारी गराएको छैन। शुक्रबारको नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा चार जनाको मृत्यु भएको जानकारी दिए।

पछिल्लो २४ घण्टामा विराटनगरमा दुई, पर्सामा दुई र धनुषाका एक जनाको कोरोना संक्रमणबाट मृत्यु भएको हो। धनुषाकी ८५ वर्षीया महिलाको साउन २९ गते बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा कोरोनाले मृत्यु भएको हो। उनी ज्वरो र रुघाले च्यापेपछि उपचारका लागि अस्पताल पुगेकी थिइन्। त्यसैगरी पछिल्लो २४ घण्टामा विराटनगरमा दुई जनाको मृत्यु भएको छ। शुक्रबार सिहरा विष्णुपुर गाउँपालिकाका ४० वर्षीया पुरुष र विराटनगर १५ का ३० वर्षीया पुरुषको कोशी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। सिरहाका पुरुष निमोनिया भएर अस्पताल पुगेका थिए। त्यसैगरी विराटनगरका ३० वर्षीया पुरुष ज्वरो र श्वासप्रश्वासमा समस्या भएपछि अस्पताल पुगेका थिए। 

सँगै पर्साका ५० वर्षीय पुरुषको शुक्रबार कोरोनाले निधन भएको छ। जितपुर सिमरा उपमहानगरपालिका-४ सिमरा टोल बस्ने पुरुषमा मृत्युपछि कोरोना संक्रमण पुष्टि भएको हो। मधुमेह र उच्च रक्तचापका रोगी उनको नारायणी अस्पतालमा शुक्रबार मृत्यु भएको हो।त्यसैगरी पर्साकै प्रसौनी गाउँपालिका-२ का ६५ वर्षीय पुरुषको नारायणी अस्पतालमा शुक्रबार मृत्यु भएको छ। उनकोसमेत मृत्युपछि कोरोना पुष्टि भएको हो। 

मन्त्रालयका अनुसार नेपालमा पाँच सय बढी संक्रिय संक्रमित भएका चार जिल्ला छन्।  पाँच सय बढी संक्रमित पर्सा, रौतहट, महोत्तरी र काठमाडौंमा रहेको मन्त्रालयले जनाएको छ। शून्य संक्रमित संखुवासभा, मनाङ, मुस्ताङ र डोल्पामा भएको मन्त्रालयले जनाएको छ। गौतमका अनुसार पछिल्लो २४ घण्टामा ५९४ जनामा संक्रमण पुष्टि भएको छ। नेपालमा अहिले सात हजार ९१३ संक्रिय संक्रमित रहेका छन्। अहिले क्वारेन्टाइनमा १४ हजार ६३८ रहेका छन्। पछिल्लो २४ घण्टामा २४० डिस्चार्ज भएका छन्। योसँगै नेपालमा १७ हजार ७७ जनाले कोरोना जितेको छन्।  सातै प्रदेशका ३९ प्रयोगशालामा पीसीआर परीक्षण हुँदै आएको छ।  

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ११९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। बुधबार १३८ जना र बिहीबार १२७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो। काठमाडौंका ८३ जना, भक्तपुरका ६ जना र ललितपुरका ३० जना गरेर कुल ११९ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. गौतमले जानकारी दिए।



Leave a comment

Your email address will not be published.


*