लकडाउनको अवधिमा पनि भ्रष्टाचार मौलायाे, अख्तियारमा उजुरीको चाङ

लकडाउनको अवधिमा पनि भ्रष्टाचार मौलायाे, अख्तियारमा उजुरीको चाङ

काठमाडौं भदाै १ गते । लकडाउनको अवधिमा पनि भ्रष्टाचार मौलाएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरीको चाङ लागेको छ। कोरोना संक्रमण व्यवस्थापनमा भएका भ्रष्टाचार र अनियमिताका उजुरी बढेका छन्। क्वारेन्टाइन व्यवस्थापन, आइसोलेसन निर्माण, स्वास्थ्य सामग्री खरिदका अनियमितता, चार्टर उडानसम्बन्धी उजुरी धेरै परेको अख्तियारले जनाएको छ। आर्थिक वर्षका अन्तिमको समय भएकाले विकास निर्माणसम्बन्धी उजुरी पनि धेरै छन्। गत वैशाखदेखि असार मसान्तसम्ममा अख्तियारमा भ्रष्टाचार, अनियमितताका ३ हजार १ सय ५० उजुरी दर्ता भएका छन। त्यसमध्ये १ सय ९९ उजुरीको विस्तृत अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ।

४ सय १५ उजुरीलाई कारबाहीका लागि सम्बन्धित कार्यालयमा पठाइएको छ। त्यसैगरी ३ सय ५४ उजुरीलाई अन्य उजुरीमा गाभिएका छन्। लकडाउनको अवधिमा पनि सामान्य अवस्थामा झैं उजुरी परेका अख्तियारका प्रवक्ता तारानाथ अधिकारीले जानकारी दिए। उनका अनुसार लकडाउनको अवधिमा घुसखोरीका उजुरी पनि धेरै दर्ता भएका छन्। आर्थिक वर्ष २०७६/७७ को चौथो त्रैमासिक अवधिमा वैशाखदेखि असारसम्म २२ वटा स्टिङ अपरेसनमा ३५ जनालाई नियन्त्रणमा लिइएको प्रवक्ता अधिकारीले जानकारी दिए। उनीहरूबाट ३८ लाख ९७ हजार ८ सय १६ रुपैयाँ जफत भएको छ।

पछिल्लो तीन महिनामा ९६ वटा भ्रष्टाचारका मुद्दा विशेष अदालतमा दायर भएका छन्। अघिल्लो आर्थिक वर्षमा ४ सय ४१ मुद्दा दायर भएका छन्। जेठमा ६, असारमा ३१ र साउनमा ५९ मुद्दा चलाइएको छ। घुस रिसवत वैशाखदेखि असारमा २९ वटा मुद्दा चलाइएको छ। यही अवधिमा अख्तियारमा सूचनाको माग गरी २९ वटा निवेदन परेका छन्। जसमा २० वटा निवेदन उपर कारबाही गरी सूचना उपलब्ध गराएको छ। उजुरी प्रशस्त परे पनि कोरोना संक्रमणका कारण स्थलगत अनुगमन, कागजपत्र संकलन गर्ने जस्ता विषयमा समस्या देखिएको अख्तियारको भनाइ छ।

प्रतिक्रिया