‘नेकपा (एमाले)’ निर्वाचन आयोगमा दर्ता

‘नेकपा (एमाले)’ निर्वाचन आयोगमा दर्ता

काठमाडौँ भदाै ३ गते । निर्वाचन आयोगमा नयाँ दल दर्ता भएको छ । बुधबार निर्वाचन आयोगमा ‘नेकपा (एमाले)’ नामको दल दर्ता भएको आयोगले जनाएको छ । निर्वाचन आयोगका प्रवक्ता सहसचिव राजकुमार श्रेष्ठले नेकपा (एमाले) नामको दल दर्ता भएको पुष्टि गरे । उनले भने, ‘आयोगको बुधबार बसेको बैठकले नेकपा (एमाले) नामको दल दर्ता गर्ने निर्णय गरेको छ ।’

सन्ध्या तिवारी अध्यक्ष रहेको नेकपा (एमाले)को महासचिवमा मनिषकुमार उपाध्याय रहेको र चुनाव चिह्न ‘उदाउँदो सूर्य’ रहेको पनि श्रेष्ठले बताए । दल दर्ताका सबै प्रक्रिया पूरा गरेकाले आयोगको बैठकले दर्ता गर्ने निर्णय लिएको उनको भनाइ थियो ।नयाँ दर्ता भएको पार्टीको विधानमा पूरा नाम ‘नेपाल कम्युनिस्ट पार्टी (एकीकृत- मार्क्सवादी, लेनिनवादी)’ रहेको र छोटकरीमा ‘नेकपा (एमाले)’ रहेको आयोगले जनाएको छ ।

एमाले दर्ताको निवेदन आयोगमा परेसँगै सत्तारुढ नेकपाभित्र विवाद चर्किएको थियो । प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीले पार्टी विभाजनका लागि दल दर्ता गराउन लगाएको आरोप लागेको थियो । नवगठित नेकपा (एमाले)मा रहेका पदाधिकारी ओलीसँगै सांसद महेश बस्नेत निकट रहेको नेकपाका नेताहरूले बताउँदै आएका छन् । पछिल्लो समय भने नेकपाभित्रको विवाद समाधानतिर गएको छ । एमाले दर्ता भएसँगै आयोगमा १ सय ३२ दल भएका छन् ।

प्रतिक्रिया