कोरोनाबाट थप ६ जनाको मृत्यु ,मृतकको संख्या १२० पुग्यो

कोरोनाबाट थप ६ जनाको मृत्यु ,मृतकको संख्या १२० पुग्यो

काठमाडौं भदौ ३ गते । पछिल्लो २४ घण्टामा कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट थप ६ जनाको मृत्यु भएको छ। योसँगै मृतकको संख्या १२० पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।  काठमाडौं र बर्दियाका एक/एक गरी दुई पुरुष र मोरङ, भक्तपुर, चितवन र सुनसरीका ४ महिलासहित  कुल ६ जनाको कोरोनाबाट मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको छ।

यस्तै मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ६८१ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ। संक्रमित हुनेमा २१६ महिला र ४६५ पुरुष हुन्।  योसहित संक्रमितको संख्या २८ हजार ९ सय ३८ पुगेको हो।

 मन्त्रालयका अनुसार बुधबारसम्म सक्रिय संक्रमितको संख्या ११ हजार ११८ पुगेको छ। मन्त्रालयका अनुसार संस्थागत आइसोलेसनमा ७ हजार ९ सय ८७ जना रहेका छन्। यस्तै होम आइसोलेसनमा ३ हजार १ सय ३३ जना छन्।पछिल्लो २४ घण्टामा १२० जना कोरोना जितेर डिस्चार्ज भएका छन्। योसँगै कुल डिस्चार्ज हुनेको संख्या १७ हजार ७ सय पुगेको छ। 

यस्तै हालसम्म १३१ जना कोरोना भाइरस (कोभिड-१९) संक्रमितको आइसीयूमा उपचार भइरहेको छ। विभिन्न प्रदेशका १३१ जना संक्रमितको आइसीयूमा उपचार भइरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।यस्तै ६ जना संक्रमितको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए।उनीहरु सबै बागमती प्रदेशका हुन्।

प्रदेश १ मा १० जना, प्रदेश २ मा ४६ जना, बागमतीमा ५७ जना, गण्डकी प्रदेशमा ६ जना र प्रदेश ५ मा १२ जना गरी १३१ जनाको आएसीयूमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ। यस्तै मन्त्रालयका अनुसार मोरङ, पर्सा, रौतहट, महोत्तरी र काठमाडौंमा ५ सय बढी कोरोनाका बिरामी रहेका छन्। मनाङ, मुस्ताङ, डोल्पा र हुम्ला कोरोनामुक्त भएका छन्।

प्रतिक्रिया