कक्षा १२ को परीक्षाको विकल्प खोजी

कक्षा १२ को परीक्षाको विकल्प खोजी

काठमाडौँ भदाै १८ गते । लकडाउन वा निषेधाज्ञा कायमै रहे वैकल्पिक माध्यमबाट पनि कक्षा १२ को परीक्षा सञ्चालन गर्न नसकिने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । देशभर लकडाउन खुकुलो भए मात्र वैकल्पिक विधिबाट परीक्षा सञ्चालन गर्न सकिने बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलले बताए । कक्षा १२ को परीक्षा नभए विश्वविद्यालयको आगामी शैक्षिकसत्र संकटमा पर्ने चिन्ता व्यक्त हुन थालेको छ ।

बोर्डले कोरोना संक्रमणको अवस्था अलिक सहज भए अन्य विधिबाट परीक्षा गर्ने गृहकार्य गरिरहेको जनाएको छ । वैशाखमा हुनुपर्ने कक्षा १२ को परीक्षा अहिलेसम्म हुन सकेको छैन । परीक्षा कहिले हुने भन्ने पनि अनिश्चित छ । ‘कोरोनाको अहिलेको जस्तै अवस्था रहे, कुनै पनि माध्यमबाट परीक्षा लिन सकिँदैन,’ अध्यक्ष पौडेलले भने, ‘अलि अवस्था सहज भए नयाँ तरिकाबाट परीक्षा चलाउने छलफल भइरहेको छ तर टुंगो लागेको छैन ।

कक्षा १२ मा ४ लाख ३१ हजार परीक्षार्थी छन् । पाँच महिनादेखि परीक्षा रोकिएपछि बोर्डले विकल्पहरूको खोजी गर्न थालेको हो । ‘सार्वजनिक यातायात सञ्चालन नभएसम्म परम्परागत विधिबाट परीक्षा लिन सम्भव छैन,’ उनले भने, ‘महामारी कायमै रहँदा पनि कसरी विद्यार्थीको मूल्यांकन गर्न सकिन्छ भनेर अध्ययन थालेका छौं ।’ नयाँ मोडलका विकल्पबारे सरोकारवालाहरूसँग छलफल गरेर शिक्षा मन्त्रालयमा पेस गर्ने बोर्डका अधिकारीहरूले बताए । ‘परीक्षाको कुरा हाम्रो हातमा मात्रै छैन, सीसीएमसी र सरकारले सहमति दिनुपर्छ,’ उनले भने ।

विषय विज्ञ, शिक्षक, अभिभावक, शिक्षाविद्, विद्यार्थीलगायत सरोकारवाला पक्षको रायसुझावसहित मन्त्रालयलाई सुझाव दिने सदस्य सचिव दुर्गाप्रसाद अर्यालले जानकारी दिए । शिक्षामन्त्री गिरिराजमणि पोखरेलले पनि कक्षा १२ को परीक्षाको सम्बन्धमा रायसुझाव दिन बोर्डलाई निर्देशन दिएका थिए । सरकारले कक्षा १० र ११ को परीक्षा आन्तरिक मूल्यांकनका आधारमा गर्ने निर्णय गरेको थियो । कक्षा १० को विद्यालयले सञ्चालन गरेको परीक्षाका आधारमा नतिजा प्रकाशन भइसकेको छ । कोरोना संक्रमण झन्झन् फैलिएकाले नतिजा प्रकाशन भए पनि विद्यार्थीलाई प्रमाणपत्र वितरण हुन सकेको छैन । परीक्षा नियन्त्रण कार्यालयले निषेधाज्ञाका कारण करिब साढे ४ लाख विद्यार्थीको ग्रेडसिट पनि प्रिन्ट गरेको छैन । कक्षा ११ को परीक्षा विद्यालयले नै सञ्चालन गर्ने भने पनि रोकिएको छ । अवस्था अनुकूल नभएसम्म परीक्षा नगर्न बोर्डले निर्देशन दिएको छ ।

अवस्था सहज भए सम्पूर्ण तयारी पूरा भइसकेका कारण सूचना प्रकाशित गरेर परम्परागत विधिबाटै परीक्षा सञ्चालन गर्न सकिने अवस्था छ । प्रश्नपत्र र उत्तरपुस्तिका परीक्षा केन्द्रहरूमा पुगिसकेका छन् । प्रतिकूल अवस्थामा पनि परीक्षा सञ्चालन गर्ने विधिहरू सरकारलाई सिफारिस गर्ने गृहकार्य भइरहेको उनले जनाए । ‘सरोकारवालाको रायसुझाव प्राप्त भइसकेपछि विकल्प १, २, ३ भनेर सरकारलाई बुझाउँछौं,’ उनले भने । विज्ञहरूले कक्षा ११ को नतिजा, विद्यार्थीको आन्तरिक मूल्यांकन, कक्षा कार्य, हाजिरीलगायत विषयलाई मापदण्ड बनाएर कक्षा १२ को मूल्यांकन गर्न सकिने सुझाव दिएका छन् । बोर्ड स्रोतका अनुसार अनलाइन परीक्षा चलाउन भने सम्भव नहुने धेरै विज्ञको सुझाव छ । लाखौं परीक्षार्थी रहेको र उनीहरू इन्टरनेटको पहुँचमा नभएको निष्कर्ष निकालिएको छ ।

कतिपय सरोकारवालाले होम सेन्टर कायम गरेर पनि परीक्षा दिन सुझाव दिएको बोर्डले जनाएको छ । घरपायक परीक्षा केन्द्र कायम गरेर पनि परीक्षा सञ्चालन गर्न सकिने विकल्पहरू आएका छन् । कोरोना महामारी उच्च र कम रहेका जिल्लामा दुई चरणमा परीक्षा लिने विषयमा पनि छलफल चलिरहेको छ । ‘संक्रमण कायमै रहे पनि अब परीक्षा रोक्नु हुँदैन भनेर तयारी अघि बढाएका छौं,’ सदस्य सचिव अर्यालले भने, ‘दसैंअघि नै परीक्षा गर्ने सम्भावना भने ज्यादै न्यून छ ।’

प्रतिक्रिया