कर्णालीमा देखिन थाले लक्षण सहितका कोरोना संक्रमित

कर्णालीमा देखिन थाले लक्षण सहितका कोरोना संक्रमित

सुर्खेत भदौ २८ गते । कर्णालीमा लक्षणसहितका बिरामी देखिन थालेका छन् । भदौयता लक्षणसहितका संक्रमित बढ्दै गएको प्रदेश अस्पतालस्थित कोरोना विशेष अस्पतालका फोकल पर्सन डा. प्रदीप न्यौपानेले बताए ।उनका अनुसार प्रदेश अस्पतालको आइसोलेसनमा रहेका संक्रमितमध्ये २१ जनालाई सघन उपचार कक्ष (आईसीयू) मा राखेर उपचार गरिएको छ । आईसीयूमा ५ वर्षका बच्चादेखि वृद्धसम्मकालाई राखिएको उनले बताए ।

कोरोना विशेष अस्पतालमा आइतबार ६६ जना संक्रमित उपचाररत छन्, जसमध्ये ११ जनामा लक्षण देखिएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान (शिक्षण अस्पताल) जुम्लामा पनि निको भएर फर्किएका १ सय १४ जनामध्ये १५ जनामा लक्षण देखिएको थियो । अस्पताल निर्देशक डा. मंगल रावलका अहिले आइसोलेसनमा रहेका ५ जना संक्रमितलाई भने कुनै पनि लक्षण देखिएको छैन ।

प्रदेश अस्पतालका कोरोना फोकल पर्सन डा. न्यौपानेले यसअघि करिब ३ प्रतिशत संक्रमितमा मात्रै लक्षण देखिएकामा साउन अन्तिम सातायता १० प्रतिशतभन्दा बढी बिरामीमा लक्षण देखिएको बताए । ‘यसअघि देशबाहिरबाट आएकाहरूमा लक्षण देखिएको थियो,’ उनले भने, ‘तर केही सातायता समुदायमै फेला परेका संक्रमितमा पनि लक्षण देखिन थालेको छ ।’ अहिलेसम्म केही संक्रमितलाई आईसीयूमा राख्नुपरे पनि भेन्टिलेटरमा भने राख्नुपर्ने अवस्था नआएको डा. न्यौपानेको भनाइ छ । कोरोना संक्रमित ६ जनाको मृत्यु भएको कर्णालीमा असार ९ गतेयता मृत्यु भएको छैन । सुर्खेतका एक संक्रमितको भने काठमाडौंमा भदौ १७ गते मृत्यु भएको थियो ।

कर्णालीमा हालसम्म २ हजार ७ सय ७६ कोरोना संक्रमित फेला परेका छन् । तीमध्ये २ हजार ३ सय ९५ (८६ दशमलव २७ प्रतिशत) निको भएका छन् । कर्णालीका विभिन्न आइसोलेसनमा अहिले ३ सय ७५ जना संक्रमित उपचाररत रहेको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाले जनाएको छ । सक्रिय संक्रमितमध्ये अहिलेसम्म ९२ जना होम आइसोलेसनमा रहेको स्वास्थ्य शिक्षा अधिकृत नवराज कँडेलले जानकारी दिए । होटल आइसोलेसनमा सुर्खेतका ४ जना छन् ।

प्रतिक्रिया