अनशनस्थलमै बिरामी जाँच्दै डा. केसी

अनशनस्थलमै बिरामी जाँच्दै डा. केसी

सुर्खेत भदाै ३० गते ।  आइतबारदेखि आमरण अनशनरत डा.गोविन्द केसी मन्दिरमै बिरामी जाँच्न थालेका छन्। जुम्ला चन्दननाथ नगरपालिका-६ रानिचौरमा रहेको बाबिरा मष्टोको (थान) मन्दिर परिसरमा बसेर १९ औँ पटक सत्याग्रह सुरु गरेका डा. केसी भोकभोकै बिरामी जाँच्न थालेका हुन्।  चिकित्सा शिक्षामा सुधारको माग राख्दै आमरण अनशन बसेका डा. केसीले भने, ‘मेरा माग पुरा नभए बरु मर्न तयार छु। तर अनशन तोड्ने छैन। मेरो अन्तिम सास रहुन्जेल अनशनमै बिरामीको सेवा गर्छु।’ केसी मन्दिरमा अनशन बसेको थाहा पाएपछि स्थानीयवासी त्यही पुगेर आफ्नो स्वास्थ्य समस्या देखाउन थालेका छन्। आफ्नो ज्यानको प्रवाह नगरी मन्दिरमा अनशनरत डा. केसीले आफू भोकै बसेर नागरिकको स्वास्थ्य अवस्थाबारे देखाएको चासोप्रति स्थानीयले प्रशंसा गरेका छन्। 

डा.केसीका समर्थकले उनको माग पूरा गर्न सरकारलाई जस्तोसुकै दबाब दिन तयार भएको बताएका छन्। नेपालीको निःशुल्क गुणस्तरीय शिक्षा तथा स्वास्थ्य सेवामा समान पहुँचको सुनिश्चितता गर्न र सरकारको लुटतन्त्रविरुद्ध सत्याग्रह सुरु गर्नु परेको उनको भनाइ छ।यसअघि १६ औँ पटक जुम्लामा सत्याग्रह बस्दा २०७५ साउन १० गते आफूसँग भएको सम्झौता अनुसार चिकित्सा शिक्षा ऐनमा संशोधन गरिनुपर्ने लगायतका माग राखेर डा. केसीले अनसन सुरु गरेका हुन्। पहिलाको सत्याग्रहका बेला गरिएका सम्झौता अहिलेसम्म पनि सरकारले कार्यान्वयन नगरेकाले आफू फेरि अनशन बस्न बाध्य भएको डा. केसीले बताए। 

अनशनबाट आफ्नो माग पूरा भएमा दुर्गमका नागरिकको स्वास्थ्य सेवामा पहुँच वृद्धि हुने उनले दाबी गरे। उनले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएस लगायतका कार्यक्रम सञ्चालन गरिनुपर्ने र स्नातकोत्तर तहको अनुमति तत्काल पदान गर्नुपर्ने, गेटा मेडिकल कलेज र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठनपाठन सुरु गरिनुपर्ने, प्रदेश २ र गण्डकी प्रदेश तथा डोटी, डडेलधुरा, उदयपुर र इलाम, पाँचथरमा सरकारी मेडिकल कलेज तथा अस्पताल प्रक्रिया अघि बढाउनुपर्ने माग राखेका छन्। 

प्रतिक्रिया