समतामूलक समाजका लागि नैतिक शिक्षा

          |   प्रकाशित मितिः आइतवार, कार्तिक १६, २०७७     ::: 245 पटक पढिएको   |  

डा. हरिप्रसाद पोखरेल

लोक कल्याणकारी राज्यको पृष्ठभूमिमा स्थापित संस्कार एवम् सभ्यतासहितको समुन्नत र विकसित समाजलाई हामी समतामूलक समाज भन्छौँ । यस्तो समाजमा शान्ति, सकारात्मक चिन्तन र आलोचनात्मक चेतनाको समुचित विकास हुने अपेक्षा गरिन्छ ।
अवसर र सम्भावनाहरूमा नागरिकको न्यायोचित पहुँचको सुनिश्चित हुने समाज समतामूलक समाज हो । यस्तो समाजमा सही र गलत छुट्ट्याउने निश्चित मापदण्डको परिपालना हुन्छ । आग्रह र पूर्वाग्रहमा विचारहरू सम्प्रेषित हुने अवस्था सिर्जना गरिँदैन । अमनचैन, सुव्यवस्था, सुशासन, शान्ति, समावेशीकरण, मानवअधिकार तथा सामाजिक न्यायको प्रत्याभूति हुन्छ । नैतिक मूल्य–मान्यताको जगमा गुणस्तरीय शिक्षाको माध्यमले स्वअनुशासन र कर्तव्यबोधमा लाग्न आमनागरिकलाई प्रोत्साहित गरिन्छ । समतामूलक समाज निर्माणमा ऐन, कानुन र नीति तयार गर्दा आधारभूत संरचना र सोचाइको विकास हुन्छ । लक्षित कार्यक्रमहरू आधारभूत वर्गको हित र उत्थानमा केन्द्रित रहन्छ । भुइँमानिस र फुइँमानिसलाई एउटै कानुन हुन्छ । अवसरहरूको न्यायोचित वितरण गरिएको समाज समतामूलक समाज हो ।
सहकार्य र सहयोगको माध्यमबाट न्याय र नैतिकतामा आधारित पहुँचयोग्य समानताको प्रत्याभूतिले मात्र समतामूलक समाजको जग निर्माण गर्न सकिन्छ । नैतिक शिक्षाद्वारा असल आचरण निर्माणमा जोड दिइन्छ । कर्तव्य र आत्मानुशासनको पाठ सिकाइन्छ । शासक वर्गको चरित्र, कार्यशैली र गतिविधिहरू सर्वसाधारण जनताले स्वीकार्नेखालको हुनुपर्छ भन्ने वास्तविकतालाई उजागर गरिन्छ । समाजका अगुवा, राजनीतिक दलका नेता र राज्य सञ्चालनका जिम्मेवार व्यक्ति स्वयम् अनुकरणयोग्य र आस्थाको केन्द्र हुनुपर्छ । के अहिलेको वर्तमान नेपाली परिवेशमा हाम्रा राज्य सञ्चालकहरूको व्यवहार अनुकरणयोग्य छ त ? के हामी समतामूलक समाजको आधार तयार गरिरहेका छौँ ? सायद यी र यस्ता पहेलीहरूले वर्तमान नेपाली परिवेशमा समतामूलक समाजको परिकल्पनालाई भद्दा मजाक गरिरहेको प्रतीत हुन्छ । राम्रो योजना र नीति बनाउँदैमा सबै समस्याको समाधान हुन्छ भन्ने होइन । निर्मित योजनाको कार्यान्वयनका लागि कुशल नेतृत्व र इमानदार कार्यकर्ता चाहिन्छ । नीतिलाई कार्यान्वयन तहमा लैजानु सम्पूर्ण सरोकारवालाहरूको परम कर्तव्य हो भन्ने भावनाको विकास हुनुपर्छ । नेपालको राजनीतिक परिवर्तनले धेरै आयामहरू पार गरिसकेको छ । राष्ट्रिय एकता र भौगोलिक अखण्डतामा एक हुने नेपाली संस्कार विकास निर्माण र समृद्धिको यात्रामा पनि मुखरित हुुनुपर्छ ।
अहिले नेपालमा सङ्घीय लोकतान्तिक गणतन्त्रात्मक शासन व्यवस्थासहितको शासन प्रणाली लागू छ । समाजवादउन्मुख राज्य व्यवस्थाको परिकल्पना पनि नेपालको संविधानले गरेको छ । यसै मेसोमा शिक्षा, सूचना, बौद्धिक कसरत, सम्पर्कजस्ता उपायबाट सशक्तीकरण गर्न सके समतामूलक समाज निर्माण गर्न सकिन्छ । तर, हाम्रा अभ्यास र गतिविधिहरू यस दिशामा केन्द्रित भइरहेको अवस्था छैन । समतामूलक समाज निर्माणको मुख्य अवयव भनेको संस्कारयुक्त शिक्षा हो । आचरण र कर्तव्य सिकाउने शिक्षा । कुल र धर्मको ज्ञान दिने शिक्षा । त्याग र समर्पण सिकाउने शिक्षा । संस्कार र संस्कृति सिकाउने शिक्षा  । सामाजिक सद्भाव, एकता, मेलमिलाप, सहकार्य र सहिष्णुतासहितको सभ्यता सिकाउने शिक्षा । यस्तो शिक्षा नै नैतिक शिक्षा हो । यो समतामूलक समाज निर्माणको आधार पनि हो । समतामूलक समाज निर्माण गर्न निम्नउपाय अवलम्बन गर्नुपर्ने देखिन्छ ।
सशक्तीकरण– सशक्तीकरण सीप चेतना र शिक्षाको माध्यमबाट गरिन्छ । सशक्तीकरण सामाजिक, आर्थिक र साँस्कृतिक रूपमा कुनै व्यक्तिलाई सक्षम र सबल बनाउने अवधारणा हो । नातावाद र कृपावादको चस्माले सक्षम व्यक्तिलाई नचिन्ने स्थिति रहेसम्म सशक्तीकरण केवल कागजी योजनामा मात्र सीमित हुन पुग्छ र यो लागू गरिनेभन्दा पनि बहस गरिने व्यर्थको सन्दर्भ बन्न जान्छ । मूल प्रवाहीकरण– मूल प्रवाहीकरण राज्यका विभिन्न क्षेत्रमा अवसर नपाएकालाई अवसर प्रदान गरी वा अवसर उपलब्ध गराई समाहित गराउने प्रक्रिया हो । राजनीति, प्रशासन, शिक्षा, स्वास्थ्य, न्यायलगायत राज्यका महŒवपूर्ण अङ्गहरूमा विभिन्न कारणले पछाडि परेका वा पछाडि पारिएका व्यक्तिहरूलाई समाहित गराउने अभियान नै मूल प्रवाहीकरण हो । र, यो विविधताको उपयोगको सिद्धान्तमा आधारित अवधारणाबाट निर्देशित हुन्छ ।
मातृभाषाको संरक्षण र सम्बद्र्धन– विभिन्न जातीय समुदायमा प्रचलित भाषालाई मातृभाषा भनिन्छ । नेपालको संविधानले समुदायमा बोलिने सम्पूर्ण भाषालाई राष्ट्रभाषा मानेको छ । समाजमा प्रचलित मातृभाषाका आधारमा शैक्षिक गतिविधि सञ्चालन गर्न सक्दा कुनै समुदायले आफू हेपिएको अनुभूति गर्ने छैनन् । धर्मनिरपेक्षता– संसारमा सबैभन्दा घातक विद्रोह धर्मका नाममा भएको छ । यसको ज्वलन्त उदाहरण इरान हो । नेपालमा विभिन्न धर्महरू प्रचलनमा छन् ।
सबै धर्मलाई उचित अभ्यासको मौका दिएर समतामूलक समाज निर्माण गर्न सकिन्छ । हस्तक्षेपकारी नीति– सुविधा र क्षमताबाट वञ्चितलाई आवश्यक क्षमता उपलब्ध नहुन्जेल हस्तक्षेपकारी नीति अवलम्बन गरी पहिलो अवसर प्रदान गर्ने र त्यसपछि क्षमता विकास गर्ने अवधारणा नै हस्तक्षेपकारी नीति हो । यसलाई सकारात्मक विभेद भनेर पनि अथ्र्याउने गरिन्छ । सकारात्मक विभेद भनेको विशेष सहायता, आवश्यकता परेको समुदाय या वर्गका व्यक्तिहरूलाई दिइने विशेष सुविधा पनि हो । नेपालमा आरक्षणको माध्यमले हस्तक्षेपकारी नीति लागू गर्ने प्रयत्न गरिएको छ । तर, यो पर्याप्त र समग्रतामा हुन आवश्यक छ ।
रोजगारीमूलक लक्षित कार्यक्रम– सामाजिक आर्थिक रूपले पछाडि परेका र पछाडि पारिएका दलित, सीमान्तकृत, अल्पसङ्ख्यक, लोपोन्मुख, महिला, अपाङ्गता भएका आदि आधारभूत वर्गका लागि रोजगारीमूलक लक्षित कार्यक्रमका माध्यमले स्वावलम्बी सीप विकास गरी स्वरोजगारमूलक कार्यक्रम सञ्चालित गर्नुपर्ने देखिन्छ । पुनर्वितरणकारी नीति– कुनै कार्यक्रम एकपटक आकस्मिक रूपमा ल्याउँदैमा लक्ष्य प्राप्ति हुने होइन । लक्ष्य प्राप्तिका लागि सबैभन्दा उपयुक्त विकल्प तयार गरी उक्त विकल्पमा निरन्तर र अझ प्रभावकारी रूपमा कार्यक्रमहरू सञ्चालन गरिरहने प्रक्रिया नै पुनर्वितरणकारी नीति हो । यसका अतिरिक्त शैक्षिक छात्रवृत्तिमाथि लगानी, गाउँमा सेवा सुविधाको अभिवृद्धि गर्ने, कानुनको शासन र मानवअधिकारको पूर्ण प्रत्याभूति गर्ने र लक्षित वर्गलाई उच्च प्राथमिकता दिनेजस्ता नीति अवलम्बन गरी समतामूलक समाज निर्माण गर्न सकिन्छ ।
समतामूलक समाज सुशासनयुक्त समाज हो । नैतिक मूल्य–मान्यता, धर्म, प्रेम, शान्ति, सहकार्य, सहिष्णुता र अहिंसायुक्त समाज नै समतामूलक समाज हो । जहाँ नैतिक शिक्षाको अनुशासित मार्गमा दायित्व र जिम्मेवारीको यात्रा गर्ने वातावरण निर्माण गरिन्छ । समतामूलक समाज राष्ट्रिय पहिचान र राष्ट्रिय आवश्यकताबाट निर्माण गरिन्छ । निर्माण हुन्छ । स्वास्थ्य, शिक्षा, रोजगारीलगायत आवश्यक पूर्वाधारको सन्तुलित विकास र त्यसमा जनताको सहज र न्यायोचित पहुँचको सुनिश्चितता पनि समतामूलक समाज हो । शासकीय पात्रहरूमा निहित शक्ति, अधिकार, दायित्व र नागरिक सेवा र सन्तुष्टि सापेक्ष शासन प्रणाली र त्यसको जगमा निर्मित समुन्नत समाजबाट समतामूलक समाजको प्राप्ति सम्भव छ ।
समावेशीकरणको माध्यमले सबै क्षेत्र र वर्गका समुदायलाई राष्ट्रिय मूलधारमा समाहित गर्दै उनीहरूको आत्मसम्मान र स्वाभिमानको संरक्षण गर्न सक्दामात्र समतामूलक समाजले सार्थकता पाउन सक्छ । तर, यी सबै कार्यका लागि नैतिक शिक्षाका पवित्र निर्देशनको परिपालना वाञ्छनीय हुन्छ । नैतिकता र इमानदारीको कसीमा विद्यमान समस्याको वस्तुनिष्ठ पहिचान, समस्याको वैज्ञानिक प्राथमिकीकरण र समाधानका लागि प्रभावकारी र नतिजामुखी कार्यक्रम सञ्चालन नभएसम्म समतामूलक समाज ‘कस्मेटिक’ बौद्धिक बहसको विषयमात्र बन्नेछ र यो केवल स्वैरकल्पनामात्र हुनेछ । 
(लेखक रूपान्तरणका लागि नागरिक अभियान, नेपालमा संलग्न हुनुहुन्छ ।)



Leave a comment

Your email address will not be published.


*