मीन विश्वकर्माको कोरोना रिपोर्ट नेगेटिभ, होस खुल्यो

मीन विश्वकर्माको कोरोना रिपोर्ट नेगेटिभ, होस खुल्यो

काठमाडौं कात्तिक १८ गते । नेपाली कांग्रेसका केन्द्रीय सदस्य मीन विश्वकर्माको स्वास्थ्यमा सुधार आएको छ। काठमाडौंको ग्राण्डी अस्पतालको भेन्टिलेटरमा राखेर उपचार भइरहेको विश्वकर्माको स्वास्थ्यमा आजदेखि क्रमिक सुधार आएको डाक्टरहरूले बताएका छन्। विश्वकर्मालाई गत कात्तिक १ गते कोरोना संक्रमण देखिएको थियो। कोरोना र निमोनियाका कारण उनको फोक्सोले राम्रोसँग काम गरेको थिएन।

सुरूमा आइसियु र पछि ग्राण्डीको भेन्टिलेटरमा राखेर उनको उपचार गरिएको थियो। विश्वकर्माका सहयोगी आकाश उप्रेतीका अनुसार आज गरिएको पिसिआर परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ। ‘उहाँको स्वाब परीक्षणको रिपोर्ट नेगेटिभ आयो,’ उप्रेतीले भने, ‘डाक्टरहरूले केहीबेर अघि हामीलाई दिएको जानकारीअनुसार उहाँको होस पनि खुलेको छ।’

विगत छ दिनदेखि विश्वकर्माको होस थिएन।उनको फोक्सोले पनि काम गर्न थालेको जानकारी चिकित्सकहरूले दिएको उप्रेतीले बताए। विश्वकर्मा कोरोना देखिएपछि केही दिन होम आइसोलेसन बसेका थिए।सुरूमा तीन दिन वीर अस्पतालमा उपचार गरिएकोमा कात्तिक १२ देखि उनलाई ग्राण्डीको आइसियुमा राखेर उपचार गरिएको थियो।

प्रतिक्रिया