कुनै पनि परिस्थितिमा राजीनामा दिन्‍नँ : प्रधानमन्त्री

कुनै पनि परिस्थितिमा राजीनामा दिन्‍नँ : प्रधानमन्त्री

काठमाडौं कात्तिक १९ गते । प्रधानमन्त्री केपी ओलीले अहिले आफूले पदबाट राजीनामा नदिने प्रष्ट पारेका छन्। आफूले राजीनामा दिनु भनेको देशलाई बर्बादीतिर लैजानु भएको भन्दै उनले राजीनामा नदिने बताएका हुन्। त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान अन्तर्गतको मनमोहन सेन्टर एनेक्सको भवनको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले बुधबार यस्तो बताएका हुन्। राजीनाको विषयमा हल्ला मात्र भएको भन्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन्। 

‘सञ्चार माध्यममा हल्ला आउँछ राजीनामा दिन पस्यो । तर, तपाईंहरु विचार गर्नुहोस्, के अहिले मैले राजीनामा दिन हुन्छ ? राजीनामा दिन मिल्छ ? मेरो लागि होइन देशको लागि’, प्रधानमन्त्री ओलीले भने, ‘मैले राजीनामा दिनु भनेको देशलाई बर्बादितिर जान दिनु हो। त्यस कारण म राजीनामा दिने वाला छैन।’ 

अविश्वासको प्रस्तावको तयारी भइरहेको भन्ने सन्दर्भतर्फ लक्षित गर्दै ओलीले आफू जालझेल र तिकड्मबाट प्रधानमन्त्री पदमा नआएको भन्दै जनताको आवश्यकता र व्यापक समर्थनबाट आएको प्रष्ट पारेका छन्। उनले अविश्वासको प्रस्तावले केही फरक नपर्नेसमेत बताए। 

‘म यहाँ आएको जालझेल र तिकड्मबाट होइन’, प्रधानमन्त्री ओलीले भने, ‘जनताको आवश्यकता र व्यापक समर्थनबाट आएको हुँ। तपाईंहरु ढुक्कले काममा लाग्नुहोस्।’ 

उनले देशलाई अस्थिरतातिर धकेल्न खोज्नेले प्रधानमन्त्रीबाट आफूलाई हटाउने कोशिस गरिरहेको तर, यो सफल नहुने प्रष्ट पारे। प्रधानमन्त्री ओलीले कोरोना भाइरस (कोभिड-१९)लाई जितेर छाड्नेसमेत बताएका छन्। 

‘धेरैले धेरैपल्ट धेरै प्रकारका पोलिटिक्स गरे। भित्र बाहिर अनेकथरीका कोशिसहरु आए। जे मा पनि आलोचना गर्ने प्रवृति छन्। त्यसबाट प्रभावित नहोऔं। एकथरीको यो अस्थिरताको खेती धेरै गर्ने, देशलाई अस्थिरतातर्फ धकेल्न खोज्ने प्रयास गर्ने आदत छ कि ? एडिक्ट भएका छन् कोही। यस्तो एडिक्सनलाई म के भनौँ। तर देशमा स्थिरताका लागि हामी काम गर्छौँ। स्थिरता विकासका लागि हो। स्थिरता जनताको जीवनमा परिवर्तनका लागि हो’, प्रधानमन्त्री ओलीले भने, ‘कोभिडसँगको लडाईं पनि जित्छौँ र गरिबीसँगको लडाईंलाई पनि जितेर समृद्धितर्फ जान्छौँ। विकृति र विसंगतीको लडाईविरुद्ध हामी हमला गरिराखेका छौँ। त्यसलाई पनि पराजित गरेर अगाडि बढ्छौँ।’ 

प्रतिक्रिया