नेपालमा संक्रमण दक्षिण एसियाकै उच्च

नेपालमा संक्रमण दक्षिण एसियाकै उच्च

काठमाडौं कात्तिक २० गते । रोकथामका उपायमा सरकार एकपछि अर्को गरी चुक्दा नेपाल दक्षिण एसियामै सबैभन्दा धेरै संक्रमित देश बनेको छ । संख्याका आधारमा भारत संक्रमणको केन्द्र देखिए पनि जनसंख्याको अनुपातमा नेपाल बढी प्रभावित देखिएको छ । अझ पछिल्ला दिनमा दक्षिण एसियाका अन्य मुलुकको तुलनामा नेपालमा उच्च दरमा संक्रमण बढिरहेको छ । 

संक्रमितको संख्याका आधारमा भारत दक्षिण एसियामा पहिलो स्थानमा छ । भारत अहिले विश्वमै दोस्रो नम्बरमा छ । यस्तै बंगलादेश २२, पाकिस्तान २७ र नेपाल ३४ औं स्थानमा छन् । तर यी तीनै देशको जनसंख्या नेपालको भन्दा धेरै छ । जनसंख्याका आधारमा तुलना गर्दा नेपालको अवस्था सबैभन्दा खराब देखिन्छ । सुरुवाती दिनमा दक्षिण एसियामा तेस्रो नम्बरमा रहेको नेपालले अहिले यो क्षेत्रका सातै मुलुकलाई उछिनेको छ । प्रति एक करोडमा प्रतिदिन माल्दिभ्समा ६ सय ६२, भारतमा २ सय ७६, श्रीलंकामा १ सय २८, बंगलादेशमा १ सय ५  र ५२ जना संक्रमित हुँदा नेपालमा एक हजार माथि छ ।

संक्रमण समुदायमा विस्तार हुनु तथा सरकारले परीक्षण र उपचारको दायित्वबाट हात झिक्नुका साथै संक्रमितसँग सम्प हुनेको पहिचान ठप्प हुनुले नेपालको अवस्था दिनप्रतिदिन खराब भएको अनुसन्धानकर्ताको भनाइ छ ।  

संख्यात्मक आधारमा भुटानमा कम संक्रमित छन् ।  त्यहाँको जनसंख्या नै थोरै भएकाले संक्रमितको संख्या कम देखिएको हो । सवा अर्बभन्दा बढी जनसंख्या रहेको भारतमा अहिलेसम्म ८३ लाखभन्दा बढीमा संक्रमण पुष्टि भएको छ । नेपालमा त्यो संख्या  १ लाख ८३ हजार छ । झट्ट हेर्दा संक्रमितको संख्या भारतमा भन्दा निकै कम देखिए पनि जनसंख्यालाई आधार मान्दा नेपालको स्थिति निकै डरलाग्दो बनेको अनुसन्धानकर्ताको निष्कर्ष छ । यस निष्कर्षलाई अहिले दैनिक देखिएको संक्रमण दरले पनि पुष्टि गर्छ । बुधबार परीक्षण गरिएका नमुनामध्ये २५ प्रतिशतमा संक्रमण पुष्टि भयो । संक्रमण दर दिनहुँ बढिरहेको छ । ८ महिनामा करिब १५ लाख नमुना परीक्षण गर्दा संक्रमण दर १२ प्रतिशत नाघिसकेको छ । 

नेपालमा पहिलो संक्रमण पुष्टि भएको तीन महिनामा जम्मा ४० संक्रमित थपिएका थिए । तर रोकथामका उपाय प्रभावकारी नहुँदा कात्तिक ५ गते एकै दिन ५७ सयभन्दा बढीमा संक्रमण पुष्टि भयो । त्यो संख्या परीक्षण घटाइएकाले बढेको छैन । तर संक्रमण दर भने ३५ प्रतिशतसम्म पुगेको सरकारकै तथ्यांक छ । संक्रमण बढ्दा मृत्यु हुने दर पनि बढिरहेको छ । त्यसैले संख्याभन्दा पनि संक्रमण दरलाई आधार मानेर रोकथामका प्रभावकारी उपाय अवलम्बन नगर्ने हो भने स्थिति नियन्त्रणबाहिर गइ नसोचेको क्षति हुन सक्नेछ ।  

प्रतिक्रिया