शुक्रबार दिउँसो नेकपा सचिवालय बैठक

शुक्रबार दिउँसो नेकपा सचिवालय बैठक

काठमाडौं : सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालयको बैठक शुक्रबार बस्ने भएको छ। पार्टी महासचिव एवम् अर्थमन्त्री विष्णु पौडेलमार्फत भोलि दिउँसो ४ बजे बैठक बोलाइएको हो। महासचिव पौडेलले अध्यक्षद्वय प्रधानमन्त्री केपी ओली र  पुष्पकमल दाहाल ‘प्रचण्ड’सँगको परामर्श गरेपछि बैठक बोलाएका हुन्।

नेकपा सचिवालयका पाँच सदस्यले यसअघि अध्यक्ष एवम् प्रधानमन्त्री ओलीलाई भेटेर लिखित रुपमा सचिवालय बैठक तत्काल बस्ने कुरामा सहमति जुटाउन र बैठक बस्न अनुरोध गरेका थिए। नेताहरुले बैठकका एजेन्डाहित दुई पन्ने पत्र ओलीलाई बालुवाटार पुगेका बुझाएका थिए।

सचिवालय बैठक बोलाउनुपर्नेसँगै पत्रमा पछिल्ला दिनमा पार्टीभित्र देखिएका विवाद र सरकारले गरेका कामको समीक्षा हुनुपर्ने माग गरिएको थियो। नेताहरुसँगको भेटमा ओलीले बैठक बोलाउने आश्वासन दिएका थिए । 

यस अगाडि पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा डेढ घण्टा चलेको छलफलमा कार्यकारी अध्यक्ष ‘प्रचण्ड’सहित वरिष्ठ नेताद्वय माधवकुमार नेपाल, झलनाथ खनाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठ  सहभागी थिए। 

पार्टीको निर्णय र सहमतिको उलंघन गर्दै प्रधानमन्त्री ओलीले आफूखुसी राजदूत नियुक्तिको सिफारिस गरेको, मन्त्रिपरिषद् पुनर्गठनमा पार्टीभित्र कुनै परामर्श नगरेको, कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्न उक्साएको, सीमा लगायत विषयमा संवाद ठप्प भएका बेला भारतको गुप्तर संस्था ‘रअ’ प्रमुख सामन्तकुमार गोयललाई भेटेर त्यसलाई उपलब्धीका रुपमा प्रचार गरेको र पर्सामा पूर्वमाओवादी पृष्ठभूमिका मुकेश चौरसियाको हत्या हुँदा दोषीलाई कारबाही नगर्न दबाब दिएको आरोप लगाउँदै  प्रचण्ड-नेपाल पक्ष यतिबेला ओली टिमसँग रुष्ट भएको छ। 

प्रतिक्रिया