ट्राफिक जरिवाना अनलाइनबाटै तिर्न सकिने

          |   प्रकाशित मितिः मङ्लबार, मंसिर ९, २०७७     ::: 197 पटक पढिएको   |  

काठमाडौँ : सवारी नियम उल्लंघन गरेबापत चालकले तिर्नुपर्ने जरिवाना रकम अब अनलाइन माध्यमबाटै भुक्तानी गर्न पाइने भएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले ट्राफिक नियम उल्लंघन गरेबापत तिर्ने जरिवानालाई अनलाइनबाट पनि भुक्तानी गर्न मिल्ने गरी सफ्टवेयर विकास गरेको हो ।महाशाखा प्रमुखबाट हालै प्रहरी प्रधान कार्यालय सरुवा भएका एसएसपी भीम ढकालले सोमबार आयोजित पत्रकार सम्मेलनमा ७ महिना अघिबाटै सफ्टवेयर निर्माण गर्न सुरु गरिएको र केही साताभित्र यसलाई प्रयोगमा ल्याउन लागिएको बताए । उनले आफ्नो स्थानमा सरुवा भएर आएका एसएसपी जनक भट्टराईलाई जिम्मेवारी हस्तान्तरण गर्दै प्रविधिको विकासबाट सवारी व्यवस्थापन गर्दा थप प्रभावकारी र कम जनशक्तिबाट धेरै काम गर्न सकिने बताए ।

सफ्टवेयरको नाम टीभीआरएस (ट्राफिक भाइलेन्स रेकर्ड सिस्टम) राखिएको छ । यो प्रविधिलाई तोकिएका बैंकको अनलाइन भुक्तानी प्रणालीमा समाबेस गरेर जरिवाना बापतको राजस्व रकम सरकारी राजस्व खातामा जम्मा हुने छ । ‘जरिवाना बापतको रकम ट्राफिक प्रहरी कार्यालयमै पुगेर तोकिएको बैंकमा जम्मा गर्नुपर्ने बाध्यताको अन्त्य गर्न घरमै बसेर अनलाइन भुक्तानी गर्न मिल्ने व्यवस्था लागू हुन लागेको छ, ७ महिना अघिबाट सुरु भएको सफ्टवेयर प्रयोगमा आएपछि चालक ट्राफिक प्रहरी कार्यालयमै जानु पर्दैन ।’ यसअघि सवारी र सवारी कागजातपत्र हराएमा अनलाइनबाटै उजुरी दिन सकिने व्यवस्था लागू भइसकेको छ । यो प्रविधिको विकास भएसँगै दैनिक सरदर ४ सय जनाले अनलाइनबाटै सिफारिस लिन थालेका छन् । यसअघि लाइनमा बसेर दिनमा डेढ सयले सिफारिस लिन्थे । अनलाइनबाट कागजात र सवारी हराएको सिफारिस पत्र मात्रै ३ हजार बढीले लिएका छन् । छिट्टै बिमा दाबी सम्बन्धी कागजपत्र सिफारिस पनि अनलाइनबाटै दिने गरी प्रविधिको प्रयोग गर्न लागिएको महाशाखाले जनाएको छ ।



Leave a comment

Your email address will not be published.


*