कोरोनाबाट बचाउन बालबालिकालाई भिटामिन ‘ए’

कोरोनाबाट बचाउन बालबालिकालाई भिटामिन ‘ए’

रामकुमार धमला। नेपाल सरकारले राष्ट्रिय रूपमा ६ महिनादेखि पाँच वर्ष मुनिका बालबालिकाका लागि निःशुल्क भिटामिन ‘ए’ र जुकाका औषधि खुवाउने कार्यक्रम सञ्चालन गर्दै आएको छ। वर्षको दुईपटक सामान्यतः कात्तिक र वैशाखको पहिलो हप्ता भिटामिन ‘ए’ र जुकाका औषधि निःशुल्क वितरण गर्ने गरिन्छ।

यसपटक भने कोभिड– १९ महामारी, दसैं, तिहार र छठ पर्वले चालु आर्थिक वर्षको प्रथम चरणका रूपमा यही मंसिर ११ र १२ गते देशैभर महिला स्वास्थ्य स्वयंसेविका र स्वास्थ्यकर्मीबाट भिटामिन ‘ए’ र जुकाका औषधि निःशुल्क वितरण गरिँदै छ। भिटामिन ‘ए’ वितरण कार्यक्रमअन्तर्गत क्याप्सुल, जुकाविरुद्धका औषधि अल्वेन्डाजोल ट्याब्लेट र बहुसूक्ष्म पोषकतत्वको मिश्रण (बालभिटा) समेतले रोग प्रतिरक्षाशक्ति बढाउने हुनाले पनि कोरोनाबाट बचाउन लक्षित उमेर समूहका सबै बालबालिकालाई भिटामिन ‘ए’ खुवाउन आवश्यक छ।

राष्ट्रिय कार्यक्रमअन्तर्गत वितरण गरिने भिटामिन ‘ए’ ले रोगप्रतिरोधी शक्ति बढाउन र श्वासप्रश्वास रोग रोकथाम गर्न पनि सहयोग गर्छ। ६ महिनादेखि १२ महिना उमेर समूहका लागि आधा क्याप्सुल (१ लाख आईयू) र १२ महिनादेखि ५ वर्षसम्मकालाई एक क्याप्सुल (२ लाख आईयू) भिटामिन ‘ए’ वितरण गरिन्छ। त्यस्तै १२ महिनादेखि २ वर्षसम्म आधा ट्याब्लेट (दुई सय एमजी) र २ वर्षदेखि ५ वर्षसम्म उमेर समूहकालाई एक ट्याब्लेट (चार सय एमजी) जुकाविरुद्धका औषधि अल्वेन्डाजोल वितरण गरिन्छ। त्यसैगरी ६ महिनादेखि २ वर्ष उमेर समूहका बालबालिकालाई बहुसूक्ष्म पोषकतत्वको मिश्रण (बालभिटा) पनि वितरण गरिन्छ।

के हो बालभिटा
बहुसूक्ष्म पोषकतत्वहरूको मिश्रण नै बालभिटा हो। बालभिटा विभिन्न १५ प्रकारका भिटामिन तथा खनिजतत्व मिश्रण गरी तयार गरिएको हुन्छ। भिटामिन ‘ए’ (भिटामिन ‘ए’ एसिटेट), भिटामिन बी१ (थाइमिनमोनोनाइट्रेट), भिटामिन बी२ (राइबोफ्लाभिन), भिटामिन बी६ (पाइरिडोक्सिन), भिटामिन बी१२ (सायानोकोबालामिन), भिटामिन सी (एस्कर्बिक एसिड), भिटामिन डी३ (कोलेक्यालसिफेरोल), भिटामिन ई (भिटामिन ई एसिटेट), फोलिक एसिड, नियासिन (नियासिनामाइड), कपर (क्युप्रिकग्लुकोनेट), आयोडिन (पोटासियम आयोडाइड), आइरन (फेरस फ्युमारेट), जिंक (जिंकग्लुकोनेट) र सेलेनियम (सोडियम सेलेनाइट) जस्ता सूक्ष्म भिटामिन तथा खनिजतत्व बालभिटामा पाइन्छ। यो सानो पुरियामा पाइन्छ।

सरकारले राष्ट्रिय रूपमा ६ महिनादेखि पाँच वर्ष मुनिका बालबालिकाका लागि वर्षको दुईपटक निःशुल्क रूपमा भिटामिन ‘ए’ र जुकाका औषधि खुवाउने कार्यक्रम सञ्चालन गर्दै आएको छ।

बालभिटा खानामा मिसाएर खुवाइन्छ। ६ महिनादेखि २ वर्षमुनिका बालबालिकालाई खुवाइन्छ तर आपत्कालीन अवस्थामा ५९ महिनासम्मका बालबालिकालाई दिइन्छ। पोषकतत्वको मिश्रण (बालभिटा) घरमा तयार परिएका खाना (जाउलो, लिटो, मिचिएका दालभात) मा मिसाएर सजिलैसँग खुवाउन सकिन्छ। बालभिटा मिसाएको खानाको स्वाद, गन्ध तथा रङमा कुनै परिवर्तन आउँदैन। दिमाग, शरीर र रोगसँग लड्ने क्षमताको विकास, खाना खाने रुचिमा वृद्धि, रक्तअल्पता तथा अन्य सूक्ष्म पोषकतत्वको कमीले हुने विकृति÷कुपोषणबाट जोगाउन र बालबालिकालाई चनाखो र दरिलो बनाउन बालभिटाले सहयोग पु¥याउँछ। यो बजारमा किन्न पाइन्न। सरकारी स्वास्थ्य संस्थामा निःशुल्क वितरण गरिन्छ।

राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम
मुख्यतयाः बालबालिकालाई भिटामिन ‘ए’ को कमीबाट हुन सक्ने असरबाट बचाउन, रोग प्रतिरक्षाशक्ति बढाउन, बाल मृत्युदर घटाउन र पोषणयुक्त बालबालिका बनाउन राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम सञ्चालन गरिँदै आएको छ। २०५० सालदेखि सरकारले निःशुल्क भिटामिन ‘ए’ वितरण कार्यक्रम सञ्चालन गर्दै आएको छ। आफ्ना बालबालिकालाई नजिकैको भिटामिन ‘ए’ वितरण केन्द्र वा स्वास्थ्य संस्थामा लगी भिटामिन ‘ए’ खुवाउन सकिन्छ।
यो कार्यक्रम मास क्याम्पियनका रूपमा भिटामिन ‘ए’ सँगै जुकाका औषधि र बालबालिकाका लागि बहुसूक्ष्म पोषकतत्वको मिश्रण (बालभिटा) पनि वितरण गरिन्छ। कोभिड– १९ को महामारीमा संक्रमण रोकथाम गर्ने हेतुले यसपटक भने बालबालिकाको पोषण अवस्थाको लेखाजोखा गर्न पाखुरा मापनलाई स्थगन गरिएको छ।

राष्ट्रिय भिटामिन ‘ए’ खुवाउने कार्यक्रम सफल जनस्वास्थ्य कार्यक्रम हो। खासगरी तीन तवरबाट यो कार्यक्रम कार्यान्वयन गरिएको छ। पहिलो– महिला स्वास्थ्य स्वयंसेविकामार्फत अर्धवार्षिक रूपमा ६ महिनादेखि ५ वर्षसम्मका बालबालिकालाई भिटामिन ‘ए’ खुवाउने; दोस्रो– रतन्धो रोग, दादुरा, दीर्घ झाडापखाला, कडा कुपोषण आदिबाट ग्रस्तलाई स्वास्थ्य संस्थाबाट उपचार गर्दा भिटामिन ‘ए’ वितरण गर्ने र तेस्रो– स्वास्थ्य, शिक्षा तथा सूचनामार्फत भिटामिन ‘ए’ को कमीबाट हुने असरबारेमा जनचेतना जगाउने साथै भिटामिन ‘ए’ युक्त स्थानीय खानाको प्रवद्र्धन गर्ने रहेको छ।

भिटामिन ‘ए’ को महत्त्व
मानव शरीरको वृद्धि विकास र स्वस्थ रहनका लागि आवश्यक पर्ने रासायनिक यौगिक नै भिटामिन हो। यिनीहरू कम मात्रामा आवश्यक भए पनि शरीरलाई स्वस्थ राख्न र रोगबाट बच्न भिटामिन अनिवार्य आवश्यक पर्छ। भिटामिन मुख्यतः पानीमा घुल्ने जस्तै– भिटामिन बी तथा सी र चिल्लो पदार्थमा घुल्ने जस्तै– भिटामिन ‘ए’, डी, ई र के पर्छन्। भिटामिन ‘ए’ भएका तत्वहरूको सेवनले समग्र रूपमा स्वस्थ रहन र दीर्घरोगविरुद्ध उत्कृष्ट मानिन्छ। दैनिक आहारमा भिटामिन ‘ए’ को उपयोगले रोग प्रतिरोधात्मक क्षमता बढाउँछ।

त्यस्तै राति नदेख्ने रतन्धो रोगबाट जोगाउँछ। आँखा तेजिलो बनाउँछ। यति मात्र होइन, भिटामिन ‘ए’ ले छाला, श्वासप्रश्वास तथा प्रजनन स्वास्थ्यसम्बन्धी रोगसमेत लाग्न दिँदैन। भिटामिन ‘ए’ को कमीले बालबालिकाको वृद्धि विकास र गर्भवतीको स्वास्थ्यमा समेत असर गर्छ। यसको कमीले रतन्धो रोग लाग्छ। त्यस्तै बालबालिकामा कुपोषण, रोग प्रतिरोधात्मक क्षमतामा कमी र दीर्घरोग देखा पर्छन्।

भिटामिन ‘ए’ को प्रयोग र कमीका लक्षण विशेषगरी बाल स्वास्थ्यसम्बन्धी रोग र अन्य क्लिनिकल समस्याको उपचारमा भिटामिन ‘ए’ को प्रयोग गर्ने गरिन्छ। जस्तै– रतन्धो, दादुरा, दीर्घ झाडापखाला, कडा कुपोषण, श्वासप्रश्वास र छाला रोग आदिमा भिटामिन ‘ए’ को प्रयोग गरिन्छ।

भिटामिन ‘ए’ को कमी हुँदा विभिन्न लक्षण देखा पर्छन्। मुख्यतः छाला सुक्खा हुनु र पटकपटक संक्रमण हुनु, आँखा सुक्खा हुनु र राति आँखा देख्न गाह्रो हुनुजस्ता लक्षण देखिन्छ। त्यस्तै गर्भधान नहुनु, बालबालिकाको ढिलो विकास हुनु, पटकपटक छाती तथा घाँटीको संक्रमण हुनु र घाउ ढिलो निको हुनु आदि भिटामिन ‘ए’ को कमीका लक्षण हुन्।

भिटामिन ‘ए’ का प्रमुख स्रोत पाँच वर्षभित्रका बलबालिकाको मानसिक र शारीरिक विकास तीव्र रूपमा हुने भएकाले पोषणको कमी हुन नदिन भिटामिनयुक्त स्थानीय खाना खुवाउन आवश्यक हुन्छ। भिटामिन ‘ए’ को महत्त्वपूर्ण स्रोतमा गाँजर, पालुंगो, रायोलगायत हरिया सागपात, पहेंला फलफूल, माछा, घिउ, अन्डाको पहेंलो भाग, फर्सी, ब्रोकाउली, गोलभेंडा आदि पर्छन्।
—धमला इटहरी अस्पतालका इमरजेन्सी शाखा प्रमुख हुन्।

प्रतिक्रिया