देशैभर आधारभूत अस्पताल निर्माण कार्य सुरु

देशैभर आधारभूत अस्पताल निर्माण कार्य सुरु

दैलेखको गुराँस गाउँपालिका–३ बराहमा निर्माण गरिन लागेको १५ शैयाको अस्पतालको शिलान्यास समाराेह

दैलेख : सरकारले देशका ३ सय ९६ स्थानीय तहमा आधारभूत अस्पताल निर्माणका लागि सोमबार एकैदिन अस्पताल भवनको शिलान्यास गरेको छ । स्थानीय तहसम्म आधारभूत स्वास्थ्य सेवा पु¥याउने उद्देश्यले सरकारले सोमबार एकैसाथ ३ सय ९६ वटा अस्पताल भवनको शिलान्यास गरेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पहिलो चरणमा अस्पताल नपुगेका ३ सय ९६ पालिकामा पाँचदेखि पन्ध्र शैयाको अस्पताल बनाउन लागेको हो ।
मन्त्रालयका अनुसार प्रदेश १ मा ८६ पालिकामा, प्रदेश २ मा ५३ पालिकामा, वाग्मती प्रदेशमा ५१ पालिका, गण्डकी प्रदेशमा ५३ पालिका, लुम्बिनी प्रदेशमा ५७ पालिका, कर्णाली प्रदेशमा ४२ पालिका र सुदूरपश्चिम प्रदेशमा ५४ पालिकामा अस्पताल बनाउनका लागि एकैसाथ शिलान्यास गरिएको हो । पालिका स्तरमा निर्माण हुन लागेका ३ सय ९६ वटा आधारभूत अस्पतालका लागि ५७ अर्ब ९५ करोड ११ लाख रुपैयाँको बजेटको स्रोत सुनिश्चितता भइसकेको पनि अर्थ मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया