कांग्रेसका वरिष्ठ रामचन्द्र पौडेलले भने ‘ओली सरकारले सुनियोजित रुपमा पक्राउ गर्‍यो’

कांग्रेसका वरिष्ठ रामचन्द्र पौडेलले भने ‘ओली सरकारले सुनियोजित रुपमा पक्राउ गर्‍यो’

काठमाडाैं : निषेधाज्ञा तोडेको आरोपमा पक्राउ परेका नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई प्रहरीले ३ घण्टा नियन्त्रणमा राखेर छाडेको हो । ब्यास नगरपालिकामा वडा नम्बर १, १० र ११ जोड्ने तालघरे दुम्सीचौर सडकको बुल्दीखोला पुल उद्घाटन गर्न जाँदा निषेधाज्ञा तोडेको आरोपमा उनीसहित प्रदेश सांसद सरिता गुरुङ, तनहुँ कांग्रेसका कार्यवाहक अध्यक्ष जीतप्रकाश आले लगायत पक्राउ परेका थिए ।

उनीहरुलाई जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरवण वाग्लेको रोहबरमा रिहा गरिएको तनहुँ प्रहरी प्रमुख अरुण पौडेलले जानकारी दिए । ‘समन्वय प्रमुखको रोहबरमा रिहा गरेका छौं,’ एसपी पौडेलले भने ।

पौडेलको रिहाइको माग गर्दै कांग्रेसले जिल्ला प्रहरी कार्यालय तनहुँको बाहिर प्रदर्शन गरेको थियो । सरकारको विरोध र टायर बाल्दै रिहाई मागमा प्रदर्शन गर्दै केही समय पृथ्वी राजमार्गसमेत अवरुद्ध गरेको थियो । रिहा  भएपछि वरिष्ठ नेता पौडेलले दमौलीस्थित नेपाली कांग्रेस जिल्ला समितिको कार्यालयमा पुगेर सम्बोधन गर्ने कार्यक्रम राखेका छन् ।

प्रस्तुत छ, नेता पौडेलसँग गरिएकाे संक्षिप्त कुराकानी :

स्थानीय प्रशासनले विवाद भयो, पुल उद्घाटनमा नजानुस् भन्दाभन्दै किन जानुभएको ?

हामीले नै बनाएको पुल उपभोक्ता समिति थियो । हाम्रै सरकारका पालादेखि बजेट परेको हो । उपभोक्ता समिति र नगरपालिकाले प्रमुख अथितिका रुपमा पुल उद्घाटन गर्न बोलायो । उनीहरुले सर्वसम्मतिमै नै मलाई बोलाएका हुन् । तर हामीले काम गरेको केपी ओलीको सरकारलाई मन परेन र तस्करले प्रशासनलाई हातमा लिएर निषेधाज्ञा गर्यो । अधिवायवाद, फाँसीजमतिर यो सरकार अगाडि बढ्यो ।

तर, प्रशासनले त कोरोनाको जोखिमका बेला तपाईले संयौं जनामा जुलुस निकालेर निषेधाज्ञा तोड्ने भयो भनेको छ नि ?

कोरोनाको जोखिमबारे हामी जानकार छौं । सामाजिक दुरी कायम गरेर पुल उद्घाटन गर्ने योजनामा थियौं । कोरोनाको जोखिम नहोस् भनेर सबै प्रबन्ध मिलाएका थियौं । सरकारले त्यसमाथि अवरोध गर्यो । यो ममाथि फासिस्ट आक्रमण भयो । यो फासिस्ट शैलीको प्रतिरोध गर्छौं । अवैधानिक र कानुन विपरीतका आदेश सहेर बस्न सकिँदैन । देशैभरि प्रतिकार हुन्छ । हामीले सरकार अधिनायकवादमा जान्छ भनेका थियौं, त्यतातिर जान थाल्यो । अब यसविरुद्ध लड्छौं ।

विवाद हुँदाहुँदै पुल उद्घाटन गरेर तपाईले जस लिन हतार गर्नुभयो भन्छन् नि ?

केही तस्करहरुको हातबाट बाँधियो यहाँको प्रशासन । मैले हिजो नै सीडीओलाई पुल उद्घाटनमा जाउँ पनि भनेको थिएँ । बेलुकाबाट त तपाईंले पुल उद्घाटन गर्न पाउनुहुन्न भन्न थाले । हिजोदेखि नै पुलिस राखेर जनता तर्साउने काम भयो । राणा शासनको पालाजस्तो पुलिसले जनता तर्साउने काम गर्यो । जनताले बोलाएपछि जानुपर्यो । त्यहाँको उपभोक्ता समितिले आउनुस् भन्यो । म जनताकै काममा गएको थिएँ । हामी राम्रो काम गरेको यो सरकारले देख्न सकेन । प्रहरी लगाएर टियर ग्यास हान्यो । जुन व्यवहार मसँग गर्यो, त्यो अधिनायकवाद हो ।

सरकारले सुनियोजित ढंगले नै पक्राउ गर्यो भन्ने हो तपाईंको दाबी हो ?

केपी ओली सरकारले सुनियोजित ढंगले नै मलाई पक्राउ गरेको हो । यो सरकार फासिजमतिर जान लागेकै हो । केपी ओली कहिल्यै पनि बहुदलका लागि लडेको मान्छे होइन । बीपीको आन्दोलनलाई पनि ओलीले सहयोग गरेको होइन । यो परिवर्तनमा केपी ओलीको कुनै हात छैन । तस्करहरुलाई बोकेर पैसाका बलमा केपी ओली नेतृत्वले बहुमत ल्यायो । अहिले यिनैका इसारामा यो काम भइरहेको छ । यो लोकतन्त्रमाथि प्रहार हो, यसको प्रतिवाद देशैभरि हुन्छ ।

प्रतिक्रिया