कांग्रेसले सरकारविरुद्ध मंसिर २९ गते देशभर प्रदर्शन गर्ने

कांग्रेसले सरकारविरुद्ध मंसिर २९ गते देशभर प्रदर्शन गर्ने

काठमाडौं : प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सरकारका विरुद्ध मंसिर २९ गते देशभर प्रदर्शन गर्ने भएको छ । शुक्रबार बसेको कांग्रेसका शीर्ष नेतासहितको पदाधिकारी बैठकले दुई दिन अघि पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेललाई प्रशासनले हिरासत लिएको घटनाको विरोधमा देशभर प्रदर्शन गर्ने निर्णय गरेको हो । सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बसेको बैठकले सरकार अधिनायकवादको बाटोमा अगाडि बढेको भन्दै चर्को विरोध गरेको छ ।  

बैठकमा सहभागी कांग्रेसका पूर्वसहमहामन्त्री अर्जुननरसिंह केसीले प्रतिपक्षी र प्रतिस्पर्धी विचारलाई नियन्त्रण र निषेध गर्ने सरकारको कार्यशैलीको निरन्तरताका रुपमा तनहुँमा वरिष्ठ नेता पौडेलमाथि दुर्व्यवहार भएको ठहर कांग्रेसले गरेको जनाए । कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेललाई गृहजिल्ला तनहुँमा निर्माण सम्पन्न भएको पुल उद्घाटनका क्रममा प्रशासनले तीन घण्टा हिरासत लिएपछि कांग्रेस सरकारविरुद्ध आक्रामक बनेको हो ।  त्यस्तै कांग्रेसले सरकारले तत्काल संसदको नियमित अधिवेशन नबोलाए विशेष अधिवेशनका लागि पहल गर्ने निर्णय समेत गरेको छ ।  

प्रतिक्रिया