ओझेलमा परेको अधिकार

ओझेलमा परेको अधिकार

सजना सुनार

सजना सुनार । अहिले लैंगिक हिंसाविरुद्ध १६ दिने अभियान चलिरहेको छ। ब्यानरमा ठूल्ठूला अक्षरले लेखिएको छ- लैंगिक समानता र लैंगिक हिंसा अन्त्यका लागि प्रतिबद्धता।तल धेरै हस्ताक्षर पनि भइसकेका छन्। केही हस्ताक्षर अझै थपिने क्रममा छन्। हस्ताक्षर गरिरहेको केही फोटा सामाजिक संजालमा छ्यापछ्याप्ती छन्। केही व्यक्तिहरू गरिसकेको हस्ताक्षरमा मार्कर राखेजस्तै गरी घरि–घरि नयाँ नयाँ फोटो खिचाइरहेका छन्।अनि त्यही भिडबाट फर्किएका बुद्धिजीवि व्यक्तिलाई मैले अनुमति माग्दै सामान्य प्रश्न सोधेकी थिएँ।मेरो प्रश्न थियो, ‘के हुन सक्यो भने लैंगिक हिंसा अन्त्य भई लैंगिक समानता हुन्छ जस्तो लाग्छ?’

म मनदेखि नै प्रतिबद्ध छु भनी हस्ताक्षर गरी आएका व्यक्तिको अकमकाउँदै दिएको जवाफ यस्तो थियो, ‘प्रायः गरिबीका कारण हरेक महिला पीडित हुन्छन्। किनकी उनीहरू श्रीमानमा आत्मनिर्भर हुन्छन्, यदि ती महिलालाई आफैंमा निर्भर हुने वातावरण मिल्यो र महिला पुरुषबीच सामाजिक, आर्थिक, राजनीतिक शैक्षिक जस्ता कुनै पनि क्षेत्रमा अर्थपूर्ण सहभागिता र समानता भयो भने लैंगिक हिंसा अन्त्य हुनेछ र समानताको प्रत्याभूत पनि।’

यो जवाफ सुनिसकेपछि म निरल्ल परेर हेरिरहेकी थिएँ। जवाफमा मात्र धन्यवाद दिएँ। हुन त यो बुझाइ ती व्यक्तिको मात्र नभई अधिकांश सबैको हो। लैंगिक समानताबारे सोध्यो भने जवाफमा महिला पुरूषबीचको समानता नै आउँछ।

केही वर्षअघिसम्म मेरो जवाफ र बुझाइ पनि यस्तै हुन्थ्यो। लिंगका आधारमा गरिने भेदभाव अर्थात लैंगिक विभेदमा परेका यौनिक तथा लैंगिक अल्पसंख्यक व्यक्तिहरू सधैं आफ्ना अधिकारबाट बञ्चित भइरहेका छन्। लैंगिक समानताका लागि आयोजित कार्यक्रमको उपस्थिति उठाउने हाजिरी रजिस्टरमा नै लिंग छुट्याइएको हुन्छ। जहाँ महिला र पुरुषमा चिन्ह लगाउनुपर्छ, वा महिला र पुरुष नै लेख्नुपर्छ। जहाँ यौनिक तथा लैंगिक अल्पसंख्यकलाई आफ्नो पहिचान देखाउने ‘कोलम’ नै हुँदैन।

अब हामी अनुमान लगाउन सक्छौं, यस्ता कार्यक्रमले लैंगिक समानता र यौनिक तथा लैंगिक अल्पसंख्यकको हक र हितका लागि आवाज उठाउन सक्लान्? लैंगिक समानताका लागि पैरवी गर्ने अभियन्ता र अधिकारकर्मीहरू महिला मुक्तिका लागि मात्रै नारा लगाइरहेको हामी देखिरहेका हुन्छौं। पछिल्लो समय केही व्यक्तिमा पुरुष हिंसा पनि भइरहेको छ है भनेर आवाज उठाइरहेका हामीले नै सुनेका छौं, देखेका छौं।

यो बीचमा केही प्रतिशत व्यक्तिले मात्र यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका मुद्दा पैरवी गरिरहेका छन्। त्योभित्र पनि केही त यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायभित्रकै पर्छन्।

लिंगको कुरा गर्ने हो भने पनि यौनांगका आधारमा छुट्याइने पहिचान जस्तै स्त्रीलिंग, पुलिंगसँगै अन्तरलिंगी पनि आउँछ। स्त्रीलिंगलाई महिला भनियो, पुलिंगलाई पुरुष भनियो। यस्तै अन्तरलिंगी, जो महिला र पुरुष दुवैको गुण भएका हुन्छन्, जुन यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायभित्र पर्छन्, उनीहरू जहिले पनि यो समाजबाट ओझेलमै छन्। समाजको सोचाइ र आफ्नो पहिचानबाट ओझेलमा परिरहेका छन्।

अन्तरलिंगी मात्र नभई समलिंगी महिला, समलिंगी पुरुष, द्विलिंगी, ट्रान्सजेन्डर पुरुष, ट्रान्सजेन्डर महिलाले आफ्नो अधिकारको प्रत्याभूत गर्न सकेका छैनन्। कसैले यस्ता विषय उठान गर्न खोज्यो वा यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका व्यक्तिबारे समुदायमा जानकारी दिन खोज्यो भने उल्टो सूचना प्रवाह गर्न चाहने व्यक्तिलाई नै तेस्रो लिंगी व्यक्तिको पहिचान गराउन खोज्यो, प्रोत्साहन वा यस्ता पहिचान भएका व्यक्तिको संख्या बढाउन खोज्यो भन्दै आरोप लगाउँछन्।

कारण, हाम्रो समाजमा अझै पनि महिला र पुरुषभन्दा फरक लैंगिक पहिचान बोकेका व्यक्तिलाई स्वीकार गर्न सक्दैनन्। यस्ता फरक लैंगिक पहिचान भएका व्यक्तिलाई घृणा गर्ने मात्र नभई मजाक बनाउने र पूर्वजन्मको पाप समेत सोच्ने यो समाजले यौनिक तथा लैंगिक अल्पसंख्यक व्यक्तिलाई खुलेर बाँच्न सक्ने सहज परिस्थिति बनाइदिएको छैन।यस्ता व्यक्ति, जसले यो समाजले गर्ने घृणित व्यवहार प्रतिकार गर्न सक्छ तब मात्र आफ्नो पहिचानका साथ खुलेर आउने गरेको पाइन्छ।

विद्यालय र समुदायमा बालबालिकालाई पनि खुल्न दिइँदैन। परिवारले नै यस्ता बालबालिकालाई भित्रै लुकाएर राख्छन्। यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका व्यक्तिलाई गरिने फरक व्यवहारका कारण शैक्षिक क्षेत्रमा उनीहरूको पहुँच कम देखिन्छ। जीवनयापनका लागि काम पनि पाउन गाह्रो छ। यस्ता कयौं समस्याका कारण केही व्यक्ति यौन व्यवसायी बन्न बाध्य हुन्छन्। कसैले त तेस्रो लिंगी भन्ने बित्तिकै उनीहरू यौन व्यवसायी नै हुन् भन्ने धारणा बनाएको पनि पाइन्छ। त्यसले पनि उनीहरूलाई थप हिंसामा पार्ने थुप्रै उदाहरण छन्।

उसो त लैंगिक हिंसाको अवस्था हेर्ने हो भने प्रत्येक दिन ८ वटा बलात्कारका तथा यौनजन्य हिंसाका घटना हुन्छन्। प्रहरीकै तथ्यांकमा चालू आर्थिक वर्षको तीन महिनामा औसत दैनिक आठ बलात्कार तथा बलात्कार प्रयासका घटना भएका छन्।पछिल्लो समय बालकहरू पनि यौन दुर्व्यवहारमा पर्ने गरेका छन्। पुरुष पनि हिंसामा नपरेका होइनन्। प्रकाशनमा आएका समाचारले पुरुषहरू पनि पीडामा छन् भन्ने देखाउँछ। अर्कोतर्फ यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका व्यक्ति पनि बलात्कारमा परेका छन्। बलात्कारपछि हत्या भएको छ। यौन दुर्व्यवहारमा परेका छन्।

यसले पनि यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका व्यक्तिको अवस्था कहालीलाग्दो छ भन्ने देखाउँछ। हामीले लैंगिक हिंसाको कुरा गरिरहँदा महिला र पुरुषको मुद्दा मात्र बाहिर निकाल्न खोज्नु, समाजको बुझाइ, अधिकारकर्मी र अभियन्ताले महिलाको मुद्दा मात्रै विशेष प्राथमिकता दिनुले यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका व्यक्ति माथि उठ्न वर्षौं लाग्ने देखिन्छ। 

साँच्चै मुलुकमा लैंगिक समानता कायम भएको हेर्न चाहने हो भने यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका व्यक्तिको मुद्दा पनि सँगसँगै लिएर हिँड्न आवश्यक देखिन्छ। उनीहरूलाई परिवारले स्वीकार गर्न सक्यो, सामान्य व्यवहार गर्न सक्यो, माया, प्रेम र स्नेह दिन सक्यो, विद्यालयमा आफ्नो लैंगिक पहिचान अनुसार सहजै विद्या आर्जन गर्न सक्यो, समाजले पनि समान व्यवहारले स्वीकार्न सक्यो, राजनीतिक तथा सामाजिक क्रियाकलापमा अर्थपूर्ण सहभागी बनाउन सकियो र रोजगारीको समान अवसर प्रदान गर्न सकियो भने उनीहरू अहिले जुन अवस्थामा छन्, त्यो अवस्थाबाट माथि आउन र महिला पुरुष जस्तै समान हक अधिकारका साथ जीउन मद्दत गर्नेछ।

लैंगिक हिंसाविरुद्धको १६ दिने अभियानमामहिला पुरुषका मुद्दा मात्र नभई यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका व्यक्तिको सवाल पनि समेट्न सकियोस्। कार्यक्रम र ब्यानरमा मात्र सीमित नभई वास्तविकतामा पनि परिणत होस्। लैंगिक समानता होस् र लैंगिक हिंसा अन्त्य होस्। शुभकामना !

प्रतिक्रिया