आज ७२ औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवस मनाइँदै

आज ७२ औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवस मनाइँदै

काठमाडौं : ७२ औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवस आज विविध कार्यक्रम गरी नेपालमा पनि मनाइँँदैछ । मानव अधिकारको विश्वब्यापी घोषणापत्र जारी भएको दिनको सम्झनामा हरेक वर्ष डिसेम्बर १० तारिखमा अन्तर्राष्ट्रिय मानव अधिकार दिवस मनाउने गरिन्छ । राष्ट्रिय मानव अधिकार आयोगले उल्लंघनका घटना बढ्दै गएको बताएको छ ।

शान्ति प्रक्रियाका बाँकी काम पुरा हुन नसक्दा नेपालमा मानव अधिकारको अवस्था कमजोर हुँदै गएको छ । विधिको शासनको अभावले गर्दा लामो समयअघिका पीडितले समेत न्याय पाउन सकेका छैनन् । विगत दशवर्षे सशस्त्र युद्धको समयमा ठूलो संख्यामा हत्या, हिंसा तथा अपहरणजस्ता मानव अधिकार हननका घटनाहरु भएका थिए । युद्धका घाउमा मल्हम लगाउने उद्देश्यले सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोग गठन गरिए पनि कामले गति लिन सकेको छैन ।

द्वन्द्वको कालखण्डमा सन् २००३ र २००४ नेपाल विश्वमै सर्वाधिक नागरिक बेपत्ता पारिने मुलुक नै बन्न पुगेको थियो । अन्तर्राष्ट्रिय रेडक्रसका अनुसार द्वन्द्वका बेला दुवै पक्षद्वारा नियन्त्रणमा लिएकामध्ये १ हजार ३ सय ५० भन्दा बढी नागरिकको अझै पत्तो लाग्न सकेको छैन । राष्ट्रिय मानव अधिकार आयोगले हालै २०५७ सालदेखि ७७ सालसम्म भएका मानव अधिकार उल्लंघनका घटना सार्वजनिक गरेको छ ।

प्रतिक्रिया