सातामा २ दिन बिदाको सिफारिस

सातामा २ दिन बिदाको सिफारिस

काठमाडौँ : संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयद्वारा गठित अध्ययन समितिले सरकारी तथा सार्वजनिक निकायहरूमा साताको दुई दिन बिदा दिनु उपयुक्त हुने सिफारिस गरेको छ । कोभिड–१९ ले थलिएको पर्यटन क्षेत्रलाई उकास्नेबारे गरिएको अध्ययनमा सरकारी तथा सार्वजनिक निकायमा साताको दुई दिन बिदा दिनुपर्नेमा जोड दिइएको हो ।

बिदासम्बन्धी अध्ययन, सिफारिस र निर्णय लिने अधिकार गृह मन्त्रालयको हो तर पर्यटन क्षेत्र लक्षित पर्यटन मन्त्रालयले गराएको अध्ययनमा दुई दिन बिदालाई उपयुक्त मानिएको छ । कोभिड–१९ का कारण बाह्य पर्यटकको आवागमन शून्यमा झरेकाले आन्तरिक पर्यटकलाई बढवा दिन मन्त्रालयले उपायहरूको खोजी गर्दै छ । पर्यटन मन्त्रालयका सहसचिव कमल भट्टराई नेतृत्वको समितिले सरकारी तथा निजी क्षेत्र सबैले दुई दिन बिदा दिए सातामा ७/८ लाख मानिस घुमफिरका लागि निस्कने आकलन गरेको छ । त्यसले खस्कँदो पर्यटन क्षेत्रलाई टेवा पुग्ने समितिको विश्वास छ ।

सहसचिव भट्टराईले कार्यालय समय बिहान ९ बजेदेखि ५ बजेसम्म तथा शनिबार र आइतबार बिदाको व्यवस्था गर्नु उपयुक्त हुने बताए । ‘त्यसले पर्यटन क्षेत्रलाई मात्रै होइन, सरकारी खर्च कटौती हुनेदेखि सामाजिक र पारिवारिक वातावरणमा समेत सकारात्मक प्रभाव पार्नेछ,’ उनले भने ।

समितिले बिहीबार सार्वजनिक गरेको प्रतिवेदनमा विश्वका ८५ प्रतिशतभन्दा बढी मुलुकमा साताको दुई दिन बिदाको अभ्यास रहेकाले अन्तर्राष्ट्रिय अभ्याससँग पनि मेल खाने उल्लेख छ । साताको ४० घण्टा काम गर्नुपर्नेमा त्यसका लागि ६ दिन लगाउने कि ५ दिन भन्ने विषय महत्त्वपूर्ण भएको भट्टराई बताउँछन् । ‘हामीले ६ दिन लगाएर ४० घण्टा पुर्याइरहेका छौं, विश्वका सबैजसो मुलुकले त्यसका लागि ५ दिन लगाइरहेका छन्, दुई दिन बिदा बस्छन्,’ उनले भने, ‘हामीकहाँ पनि वर्किङ आवर बढाएर दिन घटाउने हो भने कर्मचारीले घुमफिरका लागि समय पाउनेछन् साथै वार्षिक रूपमा कम्तीमा डेढ अर्ब सरकारी खर्च कटौती हुनेछ ।’

समितिमा गृह, अर्थ, संघीय मामिला मन्त्रालयका प्रतिनिधिसमेत थिए । पर्यटन मन्त्रालयले अध्ययन गरे पनि बिदासम्बन्धी प्रस्ताव गृह मन्त्रालयबाटै अघि बढ्ने भट्टराईले बताए । ‘हामीले सम्भाव्यता अध्ययन गरेका हौं, त्यसले सकारात्मक परिणाम दिएको छ,’ उनले भने, ‘प्रस्ताव गृह मन्त्रालय हुँदै मन्त्रिपरिषद् पुगेर निर्णय हुने हो ।’

प्रतिवेदनमा मुलुक संघीयतामा गइसकेको र सेवा प्रवाहका धेरै विषय स्थानीय तहमै पुगेकाले दुई दिन सार्वजनिक बिदा दिँदा आमजनतामा विगतको जस्तो अप्ठ्यारो नहुने दाबी गरिएको छ । अहिले शुक्रबारका दिन कार्यालय समय ५ घण्टाको मात्रै हुँदा त्यस दिन काम नभ्याउनेले आइतबारसम्म पर्खिनुपर्ने अवस्था छ । शुक्रबारको कार्यालय समय ८ घण्टा पुग्दा त्यो समस्याको अन्त्यसमेत हुने औंल्याइएको छ ।

अन्य देशजस्तो ५ दिनमै साताको ४० घण्टा पुर्याउन सकिनेमा त्यसैका लागि अतिरिक्त एक दिन थपिरहनु तर्कसंगत नरहेको प्रतिवेदनमा भनिएको छ । ‘४० घण्टा लाग्ने कामलाई ६ दिन लगाउनुभन्दा ५ दिनमै पूरा गर्नु बढी उत्पादकत्व र कम खर्चिलो हुन्छ,’ समिति संयोजक भट्टराईले भने, ‘यसबाट स्रोत र समयको बचत हुन्छ । बचत भएको स्रोत र समयलाई परिवारसँग, मनोरञ्जनात्मक कार्य तथा घुमफिरमा लगाउन सकिन्छ ।’

सडकमा एक दिन सवारीसाधन कम गुड्दा त्यसले इन्धनमा बाहिरिने रकममा पनि कटौती हुने विश्वास जनाइएको छ । साताको दुई दिन बिदा दिँदा आर्थिक रूपले कर्मचारी र कार्यालय तथा संस्थाको उत्पादकत्वमा वृद्धि हुने, सरकारी खर्च कटौतीमा सहयोग पुग्ने, पर्यटकीय दृष्टिकोणले आन्तरिक पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने, सामाजिक दृष्टिकोणले लैंगिक समानता कायम हुने तथा व्यक्तिगत जीवनलाई पनि सघाउने प्रतिवेदनमा तर्क गरिएको छ । यसअघि २०५६ मा तत्कालीन कृष्णप्रसाद भट्टराई नेतृत्वको सरकारले काठमाडौं उपत्यकाको हकमा शनिबार र आइतबार बिदा दिने निर्णय गरेको थियो ।

प्रतिक्रिया