प्रधानमन्त्री ओली र राष्ट्रपति भण्डारीलाई पद हटाउन नेपाल तरुण दलकाे माग

प्रधानमन्त्री ओली र राष्ट्रपति भण्डारीलाई पद हटाउन नेपाल तरुण दलकाे माग

काठमाडौं : नेपाली कांग्रेसको भ्रातृसंस्था नेपाल तरुण दलले राष्ट्रपति र प्रधानमन्त्रीका कारण अहिलेको व्यवस्था नै धरापमा पर्दै गएको दावी गरेको छ । तरुण दलले संघीय लोकतान्त्रिक गणतन्त्र जोगाउन राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीलाई पदबाट हटाउनुपर्ने माग गरेको छ । तरुण दलका अध्यक्ष जीतजंग बस्नेतले बुधबार विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री ओली र राष्ट्रपति भण्डारीलाई पद हटाउन माग गरेका हुन् ।  

सम्माननीय राष्ट्रपतिज्यूको भुमिका सबै नागरिकको अभिभावक हुनुपर्नेमा प्रधानमन्त्रीको कारिन्दा र संविधानको भक्षक जस्तो देखिन आएको हुँदा राष्ट्रपतिलाई महाअभियोग र प्रधानमन्त्रीलाई अविश्वासको प्रस्तावबाट पदबाट हटाई मुलुकलाई संकटबाट मुक्त गर्नका लागि नेपाल तरुण दल केन्द्रिय समिति जोडदार माग गर्दछ,’ अध्यक्ष बस्नेतले भने ।

उनले प्रमुख प्रतिपक्षी दल लगायतका विपक्षी दलले संसद बैठकको माग गरिरहेको बेला महिनौदेखि संसदलाइ बन्धक बनाएर र उपसभामुख जस्तो गरिमामय पद खाली राखेर प्रधानमन्त्रीले आफ्नो स्वैच्छाचारी तरिकाले ल्याएको संवैधानिक परिषदसम्बन्धी अध्यादेश अलोकतान्त्रिक, संविधानको मर्म र भावना विपरीत भएको दावी गरेका छन् ।
‘अध्यादेश तुरुन्त फिर्ताका लिन र जारी अध्यादेश लाई टेकेर तत्काल कुनै पनि निर्णय नगर्न नेपाल तरुण दल केन्द्रिय समिति अनुरोध गर्दछ,’ विज्ञप्तिमा भनिएको छ, ‘संसदीय मूल्य मान्यता बोकेका मुलुकहरुले सबै समस्याको समाधान संसदबाट नै खोज्नु पर्छ भन्ने मान्यता नेपाल तरुण दलले राख्दछ ।’ तरुण दलले सरकारको सर्बसत्ताबादका विरुद्ध पार्टीले सडक संघर्ष सुरु गरिसकेको उल्लेख गर्दै सरकार नसच्चिए आन्दोलनलाई झनै सशक्त बनाउने चेतावनी दिएको छ ।

प्रतिक्रिया