रिसोर्टमा काम गर्ने बालिका बलात्कृत, ४ जना पक्राउ

रिसोर्टमा काम गर्ने बालिका बलात्कृत, ४ जना पक्राउ

भक्तपुर : भक्तपुरको चाँगुनारायण नगरपालिका ७ वागेश्वरीको हेल्मेट डाँडास्थित एक रिसोर्टमा काम गर्ने बालिका बलात्कृत भएकी छन् । प्रहरीले बालिकामाथि बलात्कार गर्ने एक युवकसहित ४ जनालाई पक्राउसमेत गरेको छ ।महानगरीय प्रहरी परिसर भक्तपुरका अनुसार हेल्मेट डाँडास्थित बाटोमाथिको रिसोर्टमा काम गर्ने १७ वर्षीया बालिका बलात्कृत भएकी थिइन् । उनलाई जबरजस्ती करणी गर्ने बझाङको थलारा गाउँपालिका २ स्थायी घर भई हाल काठमाडौं महानगरपालिका शान्तिनगर बस्ने २६ वर्षीय निश्चल उपाध्यायलाई पक्राउ गरिएको परिसरले जनाएको छ ।

परिसरका प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक गिरीले जबरजस्ती करणी गर्न सघाएको आरोपमा तनहुँ म्याग्दे गाउँपालिका ७ रानीश्वारा घर भई हाल बाटोमाथिको रिसोर्टमा वेटरको काम गर्ने २० वर्षीय प्रदीप कुँवरलाई नियन्त्रणमा लिएको जानकारी दिए ।त्यस्तै बालिकामाथि जबरजस्ती करणी गर्ने उपाध्याय र सघाउने कुँवरलाई पक्राउ गर्न बाधा पुर्याएको भन्दै प्रहरीले सोही रिसोर्टमा काम गर्ने थप दुई मजदुरलाई नियन्त्रणमा लिएको छ ।

प्रहरी नायब उपरीक्षक गिरीका अनुसार प्रहरीलाई अवरोध तथा दुव्र्यवहार गर्ने काभ्रेको भुम्लु गाउँपालिका २ डटुवा घर भएका २१ वर्षीय प्रदीप केसी र गोरखाको गोरखा नपा ९ लक्ष्मीबजार घर भएका २२ वर्षीय अश्विन कुँवरलाई नियन्त्रणमा लिइएको छ ।प्रहरीले उक्त रिसोर्टमा उमेर नपुगेका बालिकाहरुलाई ललाईफकाई ल्याएर काम गराउने गरेको विशेष सूचनाको आधारमा मंसिर ३० गते छापा मारेको थियो ।
रिसोर्टमा काममा आएपछि उमेर नपुगेका बालिकाहरुलाई जबरजस्ती डरत्रास देखाएर रिसोर्टमा आएका ग्राहकहरुसँग यौनजन्य कार्य गर्न बाध्य पार्ने गरेको विशेष सूचना आएको प्रहरी नायब उपरीक्षक गिरीले जानकारी दिए ।सोही सूचनाको आधारमा रिसोर्टमा छापा मार्दा उमेर नपुगेकी बालिका र निश्चल कोठामा आपत्तिजनक अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । रिसोर्टमा यौनजन्य क्रियाकलाप हुँदै गरेकाले छापा मार्न गएको प्रहरी टोलीले दुई मजदुरले अवरोध पुर्याएको प्रहरीले बताएको छ ।

परिसरका प्रहरी निरीक्षक शशिधर शर्माको नेतृत्वको प्रहरी टोलीले रिसोर्टमा छापा मारेको थियो । उक्त टोलीले चेकजाँच गर्दा रिसोर्टको कोठामा भेटिएका १७ बर्षीया बालिका र निश्चल उपाध्यायलाई नियन्त्रणमा लिएको थियो । बालिकाले दिएको बयानको आधारमा प्रहरीले रिसोर्टमा वेटर काम गर्ने प्रदीपलाई समेत पक्राउ गरेको थियो ।बालिकाले वेटर प्रदीपले उनको इच्छाविपरीत प्रलोभनका साथै डर, धाक धम्की दिई जबरजस्ती ग्राहकसँग पठाउने गर्दै आएकोे बयान दिएको प्रहरी नायब उपरीक्षक गिरीले बताए ।

उनका अनुसार उक्त दिन पनि प्रदीपले ती बालिकालाई निश्चल उपाध्याय बसेको रिसोर्टको कोठामा जबरजस्ती पठाएर बाहिरबाट ढोका बन्द गरेको र त्यसको फाइदा उठाउँदै निश्चलले जबरजस्ती करणी गरेको भनी बालिकाले बयान दिएकी थिइन् ।प्रहरीका अनुसार बालिकाले आफ्नी फुपूको रोहबरमा निश्चलले जबरजस्ती करणी गरेको र प्रदीपले जबरजस्ती करणी गर्न गराउन सहयोग गरेको भन्दै भक्तपुर प्रहरीसमक्ष जाहेरी दर्ता गरेकी छन् ।

सोही जाहेरी दर्खास्तको आधारमा अनुसन्धान गर्न भक्तपुर जिल्ला अदालतबाट ५ दिनको म्याद थप भएको प्रहरी नायब उपरीक्षक गिरीले बताए । उनका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ ।उक्त स्थानमा पहिले रातो भाले रिसोर्ट नामकको अर्कै रिसोर्ट थियो । त्यसबेला पनि उक्त रिसोर्टमा अवैध यौनजन्य क्रियाकलाप हुने गरेको भन्दै स्थानीयले व्यापक विरोध गरेपछि उक्त रिसोर्ट बन्द नै गरिएको थियो ।

प्रतिक्रिया