प्रचण्डसहित शीर्ष नेताहरू खुमलटारमा, ओलीको सिफारिस स्वीकार नगर्न राष्ट्रपतिकहाँ सन्देश

प्रचण्डसहित शीर्ष नेताहरू खुमलटारमा, ओलीको सिफारिस स्वीकार नगर्न राष्ट्रपतिकहाँ सन्देश

काठमाडौं पुष ५ गते । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली संसद् विघटन गर्न सिफारिस बोकेर शितल निवासतिर लागेपछि असन्तुष्ट नेकपाका शीर्ष नेताहरु खुमलटारमा भेला भएका छन्। मन्त्रिपरिषद बैठक चलिरहँदा ओलीलाई भेट्न बालुवाटार पुगेका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेभेटी फर्किएका थिए। त्यसपछि अध्यक्ष प्रचण्डसहित पाँच जना सचिवालय सदस्य खुमलटारमा भेला भएका हुन्।

भेलामा प्रचण्ड, वरिष्ठ नेता झलनाथ खनाल, वरिष्ठ नेता माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम र पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठ सामेल भएको खुमलटार स्रोतले जनाएको छ। सचिवालयका सदस्यहरूले ओलीको कदमले दुर्घटना निम्त्याउने चिन्ता व्यक्त गर्दै यसलाई स्वीकार नगर्न अनौपचारिक रुपमा राष्ट्रपतिसमक्ष सन्देश पठाइसकेको स्रोतले बतायो। आइतबार बिहान बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले संसद् विघटनको सिफारिस गर्ने निर्णय गरेको थियो। उनीहरु प्रधानमन्त्री ओलीको सोही कदमको विषयमा छलफल गर्न भेला भएका हुन्। मन्त्रिपरिषद् बैठक लगत्तै प्रधानमन्त्री ओली, सिफारिस लिएर राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास पुगेका हुन्।

अब राष्ट्रपतिबाट सिफारिस स्वीकार हुन्छ या हुँदैन, राष्ट्रपतिबाट सिफारिस अनुमोदन गरेको खण्डमा कसरी अघि बढ्ने भन्नेबारे छलफल गर्न भेला भएको नेकपा स्रोतले जनाएको छ। संसद विघटन सिफारिस प्रकरणले आइतबार दिउँसो एक बजे प्रस्तावित नेकपा स्थायी कमिटी बैठक अन्योलमा परेको छ। 

प्रतिक्रिया