दाहाल-नेपाल पक्षका ७ मन्त्रीले दिए राजीनामा

दाहाल-नेपाल पक्षका ७ मन्त्रीले दिए राजीनामा

काठमाडौँ : प्रतिनिधिसभा विघटन भएकोप्रति आपत्ति प्रकट गर्दै ७ जना मन्त्रीले राजीनामा दिएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा प्रतिनिधिसभा विघटन गर्न सिफारिस गरिएकोमा आपत्ति जनाउँदै नेकपा अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल समूह पक्षका ७ मन्त्रीले राजीनामा दिएका हुन् । पूर्वमाओवादी खेमाका गृहमन्त्री रामबहादुर थापा र उद्योगमन्त्री लेखराज भट्टले भने राजीनामा दिएका छैनन् ।

सामूहिक राजीनामा दिँदै जारी गरिएको प्रेस विज्ञप्तिमा भनिएको छ, ‘आज मिति २०७७ पुस ५ गतेको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री केपी ओलीद्वारा प्रस्तुत प्रतिनिधिसभाको विघटनको प्रस्तावमा हाम्रो असहमति रहेको सर्वविदित नै छ । त्यसलाई रोकन हाम्रो तर्फबाट अधिकतम प्रयास भएको पनि सार्वजनिक नै छ । गैरसंवैधानिक, अलोकतान्त्रिक, जनादेशविपरीत तथा राजनीतिक मूल्य र स्थितरताको प्रतिकूल हुने गरी चालिएको कदमप्रति गम्भीर असहमति जनाउँदै हामीले मन्त्री पदबाट राजीनामा गरेका छौं ।’

मन्त्रिपरिषद्को सिफारिसमा आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेकी छिन् । राष्ट्रपति कार्यालयले विज्ञप्ति जारी गरी प्रतिनिधिसभा विघटन गरिएको जनाएको छ । विज्ञप्तिमा राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ७६को उपधारा (१) र (७) तथा धारा ८५ बमोजिम प्रतिनिधिसभा विघटन गरिएको उल्लेख छ । साथै सरकारको सिफारिसमा राष्ट्रपतिले वैशाख १७ र २७ गते गरी दुई चरणमा प्रतिनिधिसभा निर्वाचनको मिति पनि तोकेकी छिन् ।

राजीनामा दिने मन्त्रीहरु

१. गिरिराजमणि पोखरेल- शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री

२. वर्षमान पुन- ऊर्जा, जलश्रोत तथा सिंचाइ मन्त्री

३. घनश्याम भुसाल- कृषि तथा पशुपन्छी विकास मन्त्री

४. योगेशकुमार भट्टराई- संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री

५. शक्तिबहादुर बस्नेत- वन तथा वातावरण मन्त्री

६. रामेश्वर राय यादव- श्रम तथा रोजगार मन्त्री

७. बिना मगर- खानेपानी तथा सरसफाइ मन्त्री

प्रतिक्रिया