राउटेलाई राहत

राउटेलाई राहत

दैलेख : दक्षिण एशियाको एकमात्र अन्तिम भ्रमणशिल समुदाय हो, राउटे । फिरन्ते जीवन बिताउँदै आएका राउटे समुदायका आफ्नै परम्परा र मूल्य मान्यता छन् । बाँदरको मासु खाने, गिट्ठा भ्याकुर खाने, काठको भाँडो बनाउने र गाउँलेसँग अन्न साटेर जीविकोपार्जन गर्ने राउटेको जीवनशैली हो । यद्धपी सिकार र कन्दमूलको भरमा जीवन धान्दै आएको लोपोन्मुख राउटे समुदाय आधुनिकताप्रति आकर्षित बन्दै गएको छ । जंगलमा फिरन्ते जीवन बिताउने राउटे समुदाय सामाजिकीकरण तर्फ उन्मुख हुन थालेका हुन् ।
दशकदेखि सरकारी तथा गैरसरकारी क्षेत्रबाट भएका थुप्रै प्रयासका कारण राउटे समुदायले पनि आधुनिक समाजलाई स्विकार्न थालेको छ । पछिल्लो समय राउटे नागरिकहरु अत्याधिक मध्यपान गर्ने गरेका छन् । विशेषगरी दैलेख र सुर्खेतको भू–भागमा फिरन्ते जीवनयापन गर्ने राउटे समुदाय अहिले सुर्खेतको चिङ्गाड गाउँपालिकामा बस्दै आएका छन् । हाल राउटे समुदायमा ४५ घरपरिवारको एक सय ४५ जना जनसंख्या छ ।
२०७५ असार ३० गते दैलेखको गुराँस गाउँपालिकाबाट परिचयपत्र पाईसकेको राउटे समुदायलाई राहत वितरण गरिएको छ । घुमन्ते जीवन बिताउने राउटे समुदायमा परिचपयपत्र वितरण देखि नै निरन्तर सहजिकरण गर्दै आएको सामाजिक सेवा केन्द्र (सोसेक) दैलेखले राहत दिएको हो । एईआएन लक्जेम्बर्गको सहयोगमा संस्थाद्धारा सञ्चालित राउटे परियोजनाले राहत स्वरुप चामल, नुन, तेल र खुर्सानी वितरण गरेको हो । संस्थाका संस्थापक अध्यक्ष हीरासिंह थापा, कार्यकारी निर्देशक सुजन न्यौपाने लगाएतको सहभागितामा शुक्रवार राहत वितरण गरिएको हो ।
जोखिममा रहेको राउटे नागरिकहरुलाई राहत दिईएको संस्थाका संस्थापक अध्यक्ष हीरासिंह थापाले बताए । ‘संस्थाले सञ्चालन गर्दै आएको परियोजनामार्फत खटिईएका कर्मचारीहरुले स्वास्थ्य, शिक्षा, सरसफाईमा सहजीकरणको काम गर्दै आएको छन्,’ थापाले भने ‘अहिले खाद्यान्न दिएका छौ, चिसो सुरु भईसकेको छ, राउटे नागरिकहरुले कपडा चाहिएको छ भन्नुभएको छ, केहि समयपछि कपडा उपलब्ध गराउँछौ ।’ खाद्य संकट भएको बेला खाद्यान्न पाएको राउटे मुखिया सुर्यनारायण शाहीले बताए । ‘आज भोली काठको भाँडो बिक्नै छोड्यो, चामल नहुँदा मेरो जनता धेरै दिन भोकभोकै बस्यो,’ उनले भने ‘अब केहि दिनसम्मका लागि ढुक्क हुने भयौ ।’
राउटे नागरिकहरुलाई लोपोन्मुख आदिवासीको रुपमा संघीय सरकारले मासिक तीन हजार रुपैयाँ सामाजिक सुरक्षा भत्ता दिँदै आएको छ । अब भने उनिहरुले थप दुई हजार रुपैयाँ सामाजिक सुरक्षा भत्ता पाउनेछन् । कर्णाली प्रदेश सरकारले राउटे समुदायलाई प्रतिव्यक्ति मासिक २ हजार रुपैयाँ भत्ता दिने निर्णय गरेको छ । संघीय सरकारले दिने ३ हजारसमेत गरेर अब उनीहरूले प्रतिव्यक्ति ५ हजार रुपैयाँ भत्ता पाउनेछन् । प्रदेश सरकारले आर्थिक मामिला तथा योजना मन्त्रालयमार्फत दैलेखको गुराँस गाउँपालिकालाई वित्तिय हस्तान्तरण गर्ने निणर्य गरेको हो । गाउँपालिकाले नियमानुसार भत्ता वितरण गर्नेछ । गत कात्तिकमा राउटे बस्तीमा पुगेका कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले भत्ता थप गर्ने घोषणा गरेका थिए ।

प्रतिक्रिया