संसद् विघटनविरुद्ध नेकपाको विरोधसभा, कुन नेताले के भने ?

संसद् विघटनविरुद्ध नेकपाको विरोधसभा, कुन नेताले के भने ?

काठमाडौं : संसद् विघटनविरुद्ध नेपाल कम्युनिस्ट पार्टी (नेकपा-प्रचण्ड) नेपाल समूहले मंगलबार काठमाडौंमा विरोधसभा गरेको छ । काठमाडौंको भृकुटीमण्डपमा भएको विरोधसभामा उपत्यकाका तीनै जिल्लाबाट प्रचण्ड-ओली समूहका नेता तथा कार्यकर्ता जुलुससहित पुगेका थिए । सभालाई अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड, माधवकुमार नेपाल, वरिष्ठ नेता झलनाथ खनाल, नेतृ अष्टलक्ष्मी शाक्यले सम्बोधन गरे । 

संविधानमा हुँदै नभएको अधिकार प्रयोग गरी प्रधानमन्त्री ओलीले संसद विघटन गरेको भन्दै प्रचण्ड-नेपाल समूह आन्दोलित भएको हो। प्रधानमन्त्रीको यो कदम असंवैधानिक, अलोकतान्त्रिक र गणतन्त्रविरोधी भएको भन्दै विभिन्न राजतीनिक दलहरु सडकमा आएका छन् । कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले केपी ओली वैशाखपछि प्रधानमन्त्री नरहने र त्यसपछि उनको राजनीतिसमेत पत्तासाफ हुने बताए । माधव नेपालले ओलीलाई पूर्वराजा ज्ञानेन्द्रकै पथमा लागेको आरोप लगाए । उता वरिष्ठ नेता झलनाथ खनालले भने प्रधानमन्त्री भएर बालुवाटार पुगेपछि केपी ओलीले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बिर्सिएको आरोप लगाए । उता नेतृ अष्टलक्ष्मी शाक्यले केपी ओलीले संसद् विघटन गरेर निरंकुश शासक बनेको आरोप लगाइन् । सभालाई सम्बोधन गर्ने सबै नेताले प्रधानमन्त्री ओलीमाथि आक्रोश पुगेका छन् । 

‘केपी ओलीले कलंकको टीको लगाए’

नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले  मंगलबार काठमाडौंमा भएको विरोधसभालाई आन्दोलनको ट्रेलरको संज्ञा दिएका छन्। २०४६ मदन भण्डारीको एउटा सम्बोधनको सम्झना गर्दै प्रचण्डले यस्तो बताएका हुन्। ‘यो आन्दोलनको सुरुवात मात्र हो।  यो  आन्दोलन ट्रेलर मात्र हो। आँधुहुरी आउन बाँकी छ’, प्रचण्डले भने, ‘यो आन्दोलन प्रतिगामी कदम नसच्चिएसम्म नरोकिने उनले बताए।’ प्रतिनिधिसभा भंग गरेर प्रधानमन्त्री केपी ओलीले इतिहासमा कहिल्यै नमेटिने कलंकको टीको लगाएको आरोप प्रचण्डले लगाएका हुन्। ‘केपी ओलीले इतिहासमा कलंकको टीको लगाएका छन्। त्यो कहिल्यै मेटिने छैन’, प्रचण्डले भने, ‘जबसम्म केपी ओलीले लोकतन्त्रमाथि घात गरेँ भनेर पश्चाताप गर्नेछैनन्। आफैंले बनाएको संविधानको बलात्कार गरेँ। म अपराधी हुँ भन्ने छैनन्। तबसम्म उनलाई जनताले माफी र क्षमा दिने छैनन्।’  प्रतिनिधिसभा भंग गर्ने निर्णय संविधानको भावना र अक्षरविरुद्ध भएको भन्दै प्रचण्डले ओलीले संविधान विरोधी काम गरेकोसमेत आरोप लगाए। ओलीले प्रतिनिधिसभा भंग नगरेर आफ्नो सरकार भंग गरेको उल्लेख गरे।

‘केपी ओलीको सिफारिस संविधानको भावना र अक्षरका विरुद्ध भएको छ। संविधानमा हुँदै नभएको व्यवस्था गरेर केपी ओलीले  सदन विघटन गर्नु भएको छ। सदन भंग भएको छैन। भंग भएको त केपी ओलीको सरकार हो’, प्रचण्डले भने, ‘संविधान विरोधी काम गरेर केपी ओलीले आफ्नै सरकार भंग गरेका छन्। केपी ओलीले आफूले आफूलाई विघटन गराएका छन्।’ 

यो आन्दोलन केपी ओलीको प्रवृत्तिविरुद्ध भएको प्रष्ट पारे। प्रचण्डले ७० वर्ष लामो लडाइँलाई ओलीले उपलब्धिमाथि प्रहार गरेको आरोपसमेत लगाए। प्रचण्डले आफैंले बनाएको प्रधानमन्त्रीले उपलब्धिमा प्रहार गरेको भन्दै आम जनतासँग क्षमासमेत मागेका छन्। सम्बोधनका क्रममा भावुक हुँदै प्रचण्डले यस्तो बताएका हुन्। ‘तीन वर्ष बित्दा नबित्त्तै हामीले बनाएको र हामीले बनाएको प्रधानमन्त्रीबाट ७० वर्षको बलीदानबाट प्रहार भयो भनेर बोल्दै गर्दा वस्तुत तपाईंहरुसँग क्षमा याचना गर्दछु’, प्रचण्डले भने, ‘मैले नै हो वाम गठबन्धन र पार्टी एकताको प्रस्ताव लिएर ओलीकहाँ गएको थिए।’ 

प्रचण्डले अहिले पनि ओली बयलगाडामै भएको आरोप लगाए। ‘उहाँ संघीयता, धर्मनिरपेक्षता विरोधी हुनुहुन्छ। हामीले उहाँलाई सच्चिनुभयो होला भन्यौँ। तर जनतालाई प्रतिगमनविरोधी आन्दोलनमा सहभागी हुन आह्वान गर्दा गल्ती गरेको महसुस गर्दै क्षमा याचना गर्न चाहन्छु’, प्रचण्डले थपे।  प्रचण्डले आफैले बनाएको प्रधानमन्त्रीबाट यस्तो निर्णय हुनसक्ने भन्ने कुरा नसोचेको उल्लेख गरे। ‘संघीयतामाथि यत्ति नराम्रो प्रहार कसैले गर्न सकेको थिएन। हामीले बनाएको प्रधानमन्त्री केपी ओलीबाट यस्तो हुन्छ भन्ने सोचेका पनि थिएनौँ’, प्रचण्डले भने।  

केपी ओलीले कम्युनिस्ट आदर्श मूल्य मान्यता, विधि विधान र विचारबाट पनि स्खलित भइसकेको आरोप प्रचण्डको छ। उनको कम्युनिस्टप्रति मोह भंग भएको उनले बताए। 
ओली लोकतन्त्रवादी नभएर निरंकुश भएको प्रचण्डले बताए। ‘उहाँ लोकतन्त्रवादी होइन। निरंकशु तानाशाही हो’, प्रचण्डले भने, ‘जसले यो देशलाई भडखालोमा हाल्न खोजेको छ भन्ने पुष्टि भयो कमरेडहरु।’ वैशाखपछि केपी ओलीको नेपालको राजनीतिबाट पत्तासाफ हुनेसमेत प्रचण्डले बताएका छन्।  

‘पूर्वराजा ज्ञानेन्द्र र ओली प्रवृत्ति उस्तै’

नेकपा अध्यक्ष माधवकुमार नेपालले केपी ओली प्रवृत्तिको आयु सकिएको बताएका छन्। ‘पुस ५ गतेको निरंकुश कदमसँगै केपी ओली प्रवृत्तिको आयु पुग्यो’, अध्यक्ष नेपालले भने, ‘अब नेपाली जनता निरंकुश प्रविृतिको विरुद्ध दृढताकासाथ उभिएका छन्।’  नेपालले ओलीले नसच्चिए अब जनताले सडकबाट ठेगान लगाउने बताए। उनले भने, ओलीजी तपाई सच्चिनुस् नत्र जनताले बाँकी राख्ने छैनन्। तपाईलाई समयले पर्खिनेवाला छैन। जनताले सडकबाट ठेगान लगाउनेछन्।ओलीले पुस ५ गते संविधानलाई खुट्टाले कुल्चिएको आरोपसमेत लगाएका छन्। ‘पुस ५ गतेका दिनमा कम्युनिस्ट पार्टीको एउटा नेताले जनताले संविधानको प्रावधानलाई खुट्टाले कुल्चिएर प्रतिनिधिसभाको विघटन गरेको छ। त्यो कुनै पनि हिसाबले उचित छैन’, नेता नेपालले भने। 
 
यो निर्णय राजनीतिक र संवैधानिक र जनभावना अनुकुल नभएको उनले बताए। यो निर्णय नेपाल कम्युनिस्ट पार्टी नेकपा अनुरुप नभएको उनले प्रष्ट पारे। यो कदम जुनसुकै कोणबाट पनि अनुपयुक्त भएको उनको भनाइ छ।‘केपी ओलीले त्यो निर्णय जुनसुकै कोणबाट हेर्दा पनि अनुपयुक्त छ। त्यो कदम जनता र हामी कम्युनिस्टलाई स्वीकार्य छैन। हामी असंवैधानिक कदमलाई अस्वीकार गर्दछौँ। प्रतिनिधिसभा भंग भएपछि त्यो व्यक्ति प्रधानमन्त्री हुनै नसक्ने संवैधानिक प्रावधान भए पनि केपी ओलीले अफूलाई प्रधानमन्त्री ठानेको बताउँदै ओली कामचलाउ भएको बताए। ओलीलाई अझैसम्म पद बाँड्ने रहर भएको टिप्पणी गरे। मन्त्री बन्ने लोभ देखाएर ओलीले पद बाँडेको उनको आरोप छ। 

उनले ओलीमा ज्ञानेन्द्रमा जस्तो प्रवृत्ति रहेको बताए। उनले भने, ‘ओलीले कहिले मलाई बोलाएर प्रधानमन्त्री बन्नुपर्यो भन्नुहुन्छ अनि  केही बेरपछि फेरि प्रचण्डजीलाई बोलाएर तपाई नै बन्नुपर्यो भन्नुहुन्छ। यस्तै प्रवृत्ति थियो हिजो पूर्वराजा ज्ञानेन्द्रमा । उनले पनि कहिले मलाई त कहिले गिरिजाबाबुलाई बोलाएर तपाई नै अघि आउनुपर्यो भन्थे।’अध्यक्ष नेपालले ओली अझै सुध्रिन्छन् कि भनेर पार्टी केन्द्रीय समिति र सदस्यबाट नहटाएको बताए । उनले केही व्यक्ति ओलीलाई सुधार गर्न लागि परेको र सुधार्न सके स्याबास दिने बताएका छन्।  

‘बालुवाटार पुगेपछि ओलीले नेकपा बिर्सिए’

नेकपा वरिष्ठ नेता झलनाथ खनालले केपी ओलीले तीन वर्षसम्म गफ हाँकेर बिताएको बताएका छन्। बालुवाटार पुगेपछि पार्टी बिर्सिएर ओलीले गफै मात्र हाँकेको उनको आरोप छ। ‘हामीले केपी ओलीलाई अपार विश्वास गर्यौँ। तर, बालुवाटारमा पुगेको दिनदेखि उहाँले पार्टीलाई बिर्सनुभयो। उहाँले पार्टीलाई भर्याङ ठान्नुभयो।  उहाँले गफैगफ हाँकेर तीन वर्ष बिताउनुभयो’, नेता खनालले भने, ‘कहिले पानीजहाल ल्याउनुभयो। कहिले रेल ल्याउनुभयो। भावनामा बग्नुभयो। गफ गरेर र उखान र टुक्काले देश चल्दैन। देशका लागि भिजन चाहिन्छ कमरेडहरु।’ संविधानमाथि घात गरेको भन्दै खनालले ओलीका कामलाई स्वीकार गरे देश अस्थिरतातर्फ जाने बताए। संसदको पुनःस्थापना अनिवार्य शर्त भएको उनको भनाइ छ। ‘जबसम्म संसदको पुनःस्थापना हुँदैन त्यस बेलासम्म नेपाली जनता उठे। अब राष्ट्रव्यापी रुपमा आन्दोलनको आँधीबेहरी उठाउँछौँ’, खनालले भने। ओलीले एकलौटी शासन गरेको आरोपसमेत लगाएका नेता खनालले कहिल्यै पनि पार्टीको सुझावलाई ओलीले स्वीकार नगरेको बताए। 

ओली निरंकुश शासक बने : अष्टलक्ष्मी शाक्य

नेकपा नेतृ अष्टलक्ष्मी शाक्यले प्रधानमन्त्री केपी ओली निरंकुश शासक बनेको आरोप लगाएकी छन् । उनले ओलीको निरंकुश शासन लामो समय नटिक्ने बताएकी छन् । उनले ठूलाठूला शासक जनताको आन्दोलनबाट सत्ताबाट बाहिरिएको भन्दै ओलीको निरंकुश शासन नटिक्ने बताइन् । ‘आज फेरि एक पटक गणतन्त्रमाथि कमरेड केपी ओलीले नै धावा बोलेका छन् । संविधानमाथि धावा बोलेका छन् । संघीय गणतन्त्रमाथि धावा बोलेका छन्’, नेतृ शाक्यले भनिन्, ‘जनताको शक्तिको सामू राजतन्त्रको व्यवस्थाले सकेन भने केपी ओलीले पनि सक्दैनन् ।  जबसम्म संसद सुचारु हुँदैन तबसम्म संघीय गणतन्त्र सुदृढ हुन सक्दैन । केपी ओली कमरेड बन्नु भएन निरंकुश शासक बन्नुभयो ।’  उनले ओली स्वेच्छाचारी शासक बनेको र त्यो लामो समय नटिक्ने प्रष्ट पारिन् । शाक्यले ओलीले जनतामाथि धावा बोलेपछि आन्दोलन गर्नु परेको प्रष्ट पारेकी छन्।

प्रतिक्रिया