वायु प्रदूषणमा विश्वका ५० सहरमध्ये काठमाडौं एक नम्बर

वायु प्रदूषणमा विश्वका ५० सहरमध्ये काठमाडौं एक नम्बर

काठमाडौँ : मौसम धुम्मिएसँगै काठमाडौंमा सोमबारदेखि वायु प्रदूषणको मात्रा अत्यधिक बढ्न थालेको छ । आईक्यू एअरका अनुसार काठमाडौंको वायुमण्डलमा मंगलबार बिहान एअर क्वालिटी इन्डेक्स (एक्यूआई) ४३७ पुगेको छ । विश्वका ५० सहरमध्ये प्रदूषणका हिसाबले काठमाडौं १ नम्बरमा रहेको देखिएको हो । दोस्रो नम्बरमा किर्गिस्तानको बिस्केक, तेस्रो नम्बरमा पाकिस्तानको कराँची, चौथोमा चीनको वुहान, पाँचौंमा भियतनाममको हनोइ, छैटौंमा बंगलादेशको ढाका, सातौंमा भारतको मुम्बई छ । प्रदूषणका कारण सोमबारदेखि नै सर्वसाधारणहरुले आँखा पोलेको महसुस गरेका छन् ।वातावरणविद् भूषण तुलाधरले मौसम धुम्मिएका कारण पनि प्रदूषणको मात्रा बढ्न गएको बताए । “सबै प्रदूषण कचौरा आकारको उपत्यकामा भरिएको छ”, तुलाधरले भने, “चिसोका कारण तातोका लागि आगो बाल्ने लगायतका गतिविधि पनि बढेको छ । वायु प्रदूषणका स्रोतहरु बढे, तर प्रदूषण कहीं जान पाएन ।” ‘बाहिरबाट काठमाडौं खाल्डोमा प्रदूषण भित्रिन्छ,’ तुलाधरले भने, ‘स्थानीय रूपमा पनि वायु प्रदूषण उत्सर्जन हुन्छ, जुन कचौराजस्तो उपत्यकामा लामो समय तैरिएर रहन्छ।’

उनका अनुसार जाडो (हिउँद) मा त्यसै पनि वायु प्रदूषण वर्षायाममा भन्दा ४–५ गुणा बढी हुन्छ। जाडोमा बिहान ८ देखि १० बजेसम्ममा वायु प्रदूषण बढी हुन्छ । विज्ञहरूका अनुसार जाडो मौसममा पानी नपर्ने र हावा नचल्ने भएकाले प्रदूषण बढेको हो । “काठमाडौं उपत्यका कचौरा आकारको भएकाले जाडोयाममा धूलोको कण तल्लो भागमा तैरिएको हुन्छ”, तुलाधरले भने ।अमेरिकाको हार्वड युनिभर्सिटी र जर्मनीका वैज्ञानिकहरूले अमेरिका र चीनमा चार महिनाअघि गरेको अध्ययनअनुसार वायु प्रदूषण बढी भएका स्थानमा बस्नेहरूमा कोभिड–१९ संक्रमण बढी हुने देखिएको छ । उक्त अध्ययनले कोभिड–१९ बाट भएका मृत्युमध्ये १५ प्रतिशतको मुख्य कारण वायु प्रदूषण नै रहेको ठम्याएको छ ।

वायु प्रदूषणका कारण खासगरी फोक्सोको क्यान्सर, मुटुको रोग, फोक्सोको रोग (सीओपीडी), दम, निमोनिया, मस्तिष्कघात (स्ट्रोक), कम तौल वा समय नपुग्दै बच्चा जन्मिने समस्या हुन्छ । वायु प्रदूषणका कारण विश्वमा वार्षिक ७० लाख जनाको मृत्यु हुने गरेको छ ।काठमाडौं उपत्यकामा यातायातका साधन वायु प्रदूषणका मुख्य स्रोत हुन् । उपत्यकामा साना–ठूला गरी १२ लाख सवारीसाधन गुड्छन् । सडकको धूलोसमेत अर्को स्रोत हो । फोहोर र कृषिजन्य अवशेष बाल्दाको धूवाँ, इँटाभट्टा, घरभित्र दाउरा र गुइँठाबाट निस्किने धूवाँ पनि वायु प्रदूषणका स्रोत हुन् ।

वातावरण विभागले भन्यो – बालबालिका, ज्येष्ठ नागरिक र रोगी घर बाहिर ननिस्किनुस्

काठमाडौं । काठमाडौं उपत्यकामा वायु प्रदूषण बढेको बताउँदै वातावरण विभागले घरबाहिर निस्किँदा विशेष सावधानी अपनाउन भनेको छ । साथै, बालबालिका, ज्येष्ठ नागरिक, श्वासप्रश्वास र मुटु सम्बन्धी रोगका बिरामीलाई सकेसम्म घरबाहिर ननिस्किन भनेको छ ।विभागका महानिर्देशक मुकुन्दप्रसाद निरौलाले मंगलबार दिउँसो प्रेस विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘उपत्यकामा बिहान र बेलुकीको समयमा प्रदुषण अत्यधिक बढेको पाइएको छ । यसबाट तपाईं हाम्रो स्वास्थ्यमा नकरात्मक असर पर्न सक्दछ ।’

विज्ञप्तिमा नेपालगञ्ज, विराटनगर लगायतका क्षेत्रमा पनि वायु प्रदूषणको मात्रा उच्च भएको पाइएको उल्लेख गर्दै तराई क्षेत्रका नागरिकलाई पनि विशेष सतर्कता अपनाउन भनिएको छ ।विभागले फोहोर र आगो बाल्दा पनि वायु प्रदूषण बढ्ने भएकाले त्यस्तो नगर्न पनि सुझाएको छ । भनिएको छ, ‘वायु प्रदूषण मौसममा पनि भर पर्ने भएकाले मौसम यस्तै भइरहेमा केही दिनसम्म प्रदुषण यस्तै रही रहने अथवा अझै खराब हुनसक्ने सम्भावना भएकाले विशेष सावधानी अपनाउनु हुन अनुरोध गरिन्छ ।’

प्रतिक्रिया