गर्भावस्थामा कब्जियत र पाइल्स

गर्भावस्थामा कब्जियत र पाइल्स

डा.बालकृष्ण साह- सुजिता परियारको यो पहिलो गर्भ हो। उनको गर्भ सात महिनाको भइसक्दासम्म उनलाई खासै समस्या झेल्नुपरेन। तर पनि नियमित गर्भको र आफ्नो स्वास्थ्यको परीक्षणमा रहेकी सुजिताले चिकित्सकले सुझाएका औषधि नियमित सेवन गर्दै आएकी छिन्।

पछिल्लो समयमा उनलाई दिसा साह्रो तथा कडा भएकाले समस्या हुन थालेको छ। हुन त उनलाई पहिले पनि कहिलेकाहीं दिसा कडा हुने हुन्थ्यो र त्यसैले गर्दा दिसा गर्ने बेलामा दुखाइ हुने गथ्र्यो तर अहिले दिसा गरिसकेपछि मलद्वार बाहिर सानो डल्लो निस्कन थालेको छ। कुनै बेला दिसा गरिसकेपछि दुईतीन थोपा रगत पनि खेर जाने गरेको छ। यसले उनलाई तनाव भएको छ।

उनलाई मात्र होइन; अधिकांश गर्भवतीलाई यस्तो समस्या आउने गरेको देखिन्छ। यस्तो समस्यालाई पाइल्स अर्थात् हेमोराइड भनिन्छ। कुनै पनि दुखाइबिना नै दिसा गरेलगत्तै दुईचार थोपा रगत बग्नु यसको पहिलो लक्षण हो। दिशासँगै सिँगानजस्तो सेतो बाक्लो पदार्थ पनि जान सक्छ। रोग बढ्दै जाँदा दिशा गर्ने बेलामा मलद्वार बाहिर ठूलो आन्द्रा (रेक्टम) का केही भाग आउन सक्छ। सुरुसुरुमा यसरी बाहिर आएको भाग आफैं भित्र जाने वा हातले भित्र पठाएपछि भित्रै अडिने र दिसा गर्ने बेलामा मात्र बाहिर आउने हुन्छ। तर पछि मलद्वारभित्र नअडिने, दुख्ने, घाउ हुने जस्ता समस्याले पिरोल्न सक्छ।

हेमोराइड्स अर्थात् पाइल्स हुन नदिन कब्जियत हुनबाट जोगिनुपर्छ। कब्जियतका लागि औषधि नै सेवन गर्नुपर्छ भन्ने छैन र आइरन चक्कीले कब्जियत हुन्छ भनेर आइरन चक्की सेवन गर्न छाड्नु हुँदैन।

गर्भावस्थामा पाठेघरको आकार ठूलो भएको हुन्छ। साथै यस अवस्थामा पाठेघर र तल्लो पेटमा रक्तसञ्चारको मात्रा बढी भएको हुन्छ। यसले गर्दा मलद्वारको रक्तनलीमा धेरै रगत बग्ने तथा जम्ने हुन्छ। यस अवस्थामा कब्जियत वा दिसा कडा हुनाले पाइल्सको जन्म दिन सक्ने हुन सक्छ। गर्भवती भएका बेला कब्जियत हुनु सामान्य हो र धेरैलाई कब्जियत हुन सक्छ। यस अवस्थामा कब्जियत गराउने कारण धेरै छन्। नियमित रूपमा सागपात, ताजा फलफूल वा तरकारी सेवन नगर्नु तथा पानी कम मात्रामा पिउने गर्नु कब्जियतको प्रमुख कारण हुन्। यसबाहेक उनीहरूले नियमित सेवन गर्नुपर्ने आइरन तथा क्याल्सियमजस्ता औषधि पनि हो। विशेषतः आइरनका चक्कीले कब्जियत गराउने हुन सक्छ। गर्भावस्थामा प्रोजेस्ट्रोन नामक हर्मोनको उत्पादन बढेको हुन्छ। यस हर्मोनले मलद्वारमा रहेको रक्तनलीमा असर गर्ने र यसलाई फुल्न अर्थात् सुन्निनमा सहयोग गर्ने हुन्छ। यस हर्मोनले आन्द्राको चालमा कमी ल्याउने तथा कब्जियत गराउन सक्छ। तर कब्जियत आउँदैमा सबैलाई पाइल्स अर्थात् हेमोराइड हुन्छ भन्ने छैन। यद्यपि कब्जियत नै अेमोराइडको प्रमुख कारण हो।

हेमोराइड्स अर्थात् पाइल्स हुन नदिन कब्जियत हुनबाट जोगिनुपर्छ। कब्जियतका लागि औषधि नै सेवन गर्नुपर्छ भन्ने छैन र आइरन चक्कीले कब्जियत हुन्छ भनेर आइरन चक्की सेवन गर्न छाड्नु हुँदैन। नियमित भोजनमा सामान्य ध्यान पुर्याइयो भने सामान्य कब्जियत ढिलोचाँडो निको हुन्छ। हाम्रो नियमित भोेजनमा २० देखि ३५ ग्राम फाइबरयुक्त खानेकुरा हुनुपर्छ। सागपात, तरकारी, फलफूल, दाल, गहुँ आदिमा प्रशस्त मात्रामा फाइबर पाइने हुन्छ। यस्ता खानेकुरासँगै प्रत्येक दिन कम्तीमा दुई लिटर पानी पिउनुपर्छ। यसबाहेक नियमित शौचालय जाने गर्नुपर्छ। शौचालय सफा र दुर्गन्धरहित हुनुपर्छ। नियमित ब्यायामले आन्द्राको चाल (वोबेल मुभमेन्ट) नियमित बनाउने हुन्छ। त्यसैले नियमित रूपमा शारीरिक ब्यायाम गर्नु लाभदायक सावित हुन सक्छ। त्यस्तै शौचालय जानुभन्दा एक घन्टाअगाडि तातो पेय पदार्थ (चिया, कफी) सेवन गर्नु पनि राम्रो हुन सक्छ। यसबाहेक उत्तानो सुत्नुभन्दा पनि कोल्टे फर्केर सुत्ने, धेरैबेर उभिएर नबस्ने, दिसा गर्ने बेलामा धेरै नकन्ने वा कम्र्फोट प्रयोग गर्नेजस्ता सावधानीले पनि पाइल्सबाट जोगाउन सक्छ। यस्ता सावधानीले पनि कब्जियत निको नभए केही थप औषधि प्रयोग गर्नुपर्ने हुन सक्छ।

सामान्यतः गर्भवतीलाई भएको पाइल्स बच्चा जन्मिएपछि विस्तारै हराउँछ। तर सबै अवस्थामा वा सबैलाई निको हुन्छ भन्न सकिँदैन। पाइल्सको किसिम र बिमारीको अवस्था हेरेर यसको उपचार गर्नुपर्ने हुन्छ। कब्जियत तथा हेमोराइडको समस्या रहिरहेमा शल्यचिकित्सकसँग परामर्श लिन आवश्यक हुन्छ। यस्ता बिरामीलाई दिसा पातलो बनाउने, सिजबाथ अर्थात् तातोपानी भएको भाँडामा मलद्वार राखेर सेक्नेजस्ता सामान्य उपचारले पनि निकै आराम हुन सक्छ। शल्यक्रिया अर्थात् हेमोराइडेक्टोमी पाइल्सका भरपर्दो तथा अन्तिम उपाय हो। यसबाहेक शल्यचिकित्सकले बिमारीको अवस्थाअनुसार अन्य नयाँ उपचार पद्धति अपनाउन सक्छन्। तर एकपटक पाइल्स भएका व्यक्तिलाई यसले पटकपटक दुःख दिने तथा दोहोरिने भएकाले यो समस्या आउने नदिन खानपानमा सावधानी अपनाउनु राम्रो हुन्छ।
–साह प्रसूति तथा स्त्रीरोग विशेषज्ञ हुन्। अन्नपूर्ण पोस्ट्बाट साभार गरिएको ।

प्रतिक्रिया