संविधान र राष्ट्रियताको रक्षाका लागि संयुक्त मोर्चा बनाउन जनार्दनकाे प्रस्ताव

संविधान र राष्ट्रियताको रक्षाका लागि संयुक्त मोर्चा बनाउन जनार्दनकाे प्रस्ताव

सुर्खेत : नेकपा प्रचण्ड–माधव समूहका नेता जनार्दन शर्मा ‘प्रभाकर’ले संविधान र राष्ट्रियताको रक्षाका लागि संयुक्त मोर्चा बनाउन नयाँ प्रस्ताव गरेका छन् । सबै क्षेत्र, जातजाति, नागरिक समाज, बुद्धिजीवी, पत्रकार, महिला लगायतका विभिन्न समुदाय र क्षेत्रका मानिसहरुको सहभागितामा आन्दोलन भए पनि उपलब्धि भने केही सीमित राजनीतिक दलको हातमा परेको भन्दै नेता शर्माले सो प्रस्ताव गरेका हुन् ।

सोमबार सुर्खेतको वीरेन्द्रनगरमा पत्रकारसँग कुरा गर्दै नेता शर्माले संयुक्त मोर्चालाई कम्तीमा दस वर्ष टिकाउने र त्योबाट नै स्थायीत्वका लागि काम गर्नुपर्ने बताएका हुन् । विगतका आन्दोलनबाट प्राप्त उपलब्धिको स्वामित्व राजनीतिक दलका केही नेताहरुले मात्र लिँदा अहिले संविधान विरोधी कदम व्यहोर्नु परेको उनले बताए ।

‘ओलीको असंवैधानिक कदमले संविधान र राष्ट्रियता खतरामा छ । अव संयुक्त मोर्चा नै बनाएर संविधान र राष्ट्रियताको रक्षा गर्नुपर्ने बेला आएको छ,’ नेता शर्माले भने, ‘विगतका आन्दोलनमा बाहिरको ठूलो हिस्सा पनि सहभागी थियो । तर, आन्दोलनपछिको स्वामित्व भने केही नेताहरुले मात्रै लिए । फलस्वरुप अहिलेको संविधानविरोधी कदम व्यहोर्नु परेको छ ।’

उनले थपे, ‘यस्लाई अब बहसमा ल्यायर सच्याउनुपर्छ । हाम्रो जस्तो बहुपक्षीय समाजमा यो सहअस्तित्वको कुरा छुटेको छ । यसलाई सच्याएर नयाँ गति दिनुपर्छ ।’ संविधान बनाउँदा नै सबै पक्षलाई समेट्न नसक्नु कमजोरी भएको शर्माको भनाइ छ ।प्रधानमन्त्री ओलीले असंवैधानिक, विनासकारी र राष्ट्रघाती कदम चाल्दा संविधान र राष्ट्रियता खतरामा परेको उनको भनाइ छ ।कोही व्यक्तिले पार्टी छाडेर जाँदैमा पार्टी विभाजन गर्ने कुनै बाटो नभएको नेता शर्माको तर्क छ ।

प्रतिक्रिया