परराष्ट्रमन्त्री ज्ञवाली भारत प्रस्थान

परराष्ट्रमन्त्री ज्ञवाली भारत प्रस्थान

काठमाडौं : परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली तीन दिने भारत भ्रमणका लागि नयाँ दिल्ली प्रस्तान गरेका छन्। नेपाल-भारत संयुक्त आयोगको छैटौं बैठकमा सहभागी हुने नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै ज्ञवाली भारत गएका हुन्।नयाँ राजनीतिक घटनाक्रमपछि हुन लागेको परराष्ट्रमन्त्रीको यो भ्रमणलाई अर्थपूर्ण मानिएको छ। नक्सा प्रकरणपछि चिसिएको सम्बन्धलाई सुधार गर्न पछिल्ला दिनमा भारत सकारात्मक देखिएको छ। 

त्यही क्रममा भारतीय गुप्तचर संस्था ‘रिसर्च एन्ड एनालाइसिस विङ’ (रअ) का प्रमुख, भारतीय सेनाप्रमुख र विदेश सचिवबाट नेपाल भ्रमण भइसकेको छ।नेपालले नयाँ राजनीतिक नक्सा सार्वजनिक गरेपछि दुई देशबीचको सम्वाद र सम्बन्ध सहज हुन नसकिरहेका बेला भारतीय उच्च अधिकारीको यो शृखंलावद्ध काठमाडौं यात्राले सम्बन्ध सुधारको वातावरण बनाएको थियो। नेपाल–भारत संयुक्त आयोगको यसपटकको बैठकमा नेपाल–भारत द्वीपक्षीय सम्बन्धबारे छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ। साथै बैठकमा व्यापार, पारवहन, ऊर्जा, सीमा, कोभिड–१९ मा सहयोग, पूर्वाधार, आपसी सम्पर्क, लगानी, कृषि, पर्यटन, संस्कृतिलगायत विषयमा समेत छलफल हुनेछ ।

भ्रमणका क्रममा मन्त्री ज्ञवालीले भारतका उच्च पदाधिकारीहरूसँग समेत भेटघाट गर्नेछन्। नेपाली प्रतिनिधिमण्डलमा भारतका लागि नेपाली राजदूत, परराष्ट्र सचिव, स्वास्थ्य सचिवसहित उच्च सरकारी अधिकारीहरू समावेश छन् । परराष्ट्रमन्त्री ज्ञवाली माघ ३ गते स्वदेश फर्किनेछ।

प्रतिक्रिया