नेपालमा कोरोनाको नयाँ प्रजातिको भाइरस भित्रिएको पुष्टि

नेपालमा कोरोनाको नयाँ प्रजातिको भाइरस भित्रिएको पुष्टि

काठमाडौं : नेपालमा कोरोना भाइरस (कोभिड-१९) को नयाँ प्रजाति भित्रिएको पुष्टि भएको  छ।बेलायतबाट फर्केका तीन जनामा यूके भेरिएन्ट (बी.१.१.७) कोरोना भाइरस पुष्टि भएको हाे । सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै तीन जनामा बेलायतमा देखिएको नयाँ स्वरूपको कोरोना पुष्टि भएको जनाएको हो ।मन्त्रालयका अनुसार केही दिनअघि बेलायतबाट आएकाहरुलाई निगरानीमा राखेको र फर्किएकाहरु मध्ये ६ वटा नमुनामध्ये ३ जनामा पुष्टि भएको हो । उनीहरुको नमुना २७ गते विश्व स्वास्थ्य संगठनको सहयोगमा हङकङ प्रयोगशालामा नमुना पठाइएकोमा माघ ५ गते रिपोर्ट आएको थियो ।

मन्त्रालयका अनुसार २८ वर्षीया महिला, ६७ वर्षीय पुरुष र ३२ वर्षीय पुरुषमा यो नयाँ प्रकारको कोरोना पुष्टि भएको हो । तीन जनामध्ये २८ वर्षीया महिला र ३२ वर्षीय पुरुष हाल पीसीआर नेगेटिभ भइसकेको र ६७ वर्षीय पुरुष पोजिटिभ नै भए पनि लक्षण नदेखिएको मन्त्रालयले जनाएको छ । केही दिनअघि बेलायतबाट फर्किएका उनीहरूको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला (एनपीएचएल) मा स्वाब परीक्षण गर्दा बेलायतमा आनुवांशिक गुण परिवर्तन गरेको कोरोना भाइरसको संकेत देखिएको थियो । कोरोना पोजिटिभ देखिएका उनीहरूबाट लिइएको स्वाबको नमुना परीक्षण गर्दा एसजिन नेगेटिभ देखिएपछि बी–११७ को आशंका गर्दै पुस २७ गते विश्व स्वास्थ्य संगठनको सहयोगमा थप परीक्षणका लागि हङकङ प्रयोगशालामा नमुना पठाइएको थियो । हङकङ प्रयोगशालाले सोमबार इमेलमार्फत एनपीएचएललाई पठाएको रिपोर्टमा बेलायतमा देखिएकै नयाँ स्वरूपको कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

बी–११७ को असर के हुन्छ ?

बी–११७ भेरिएन्टले आनुवांशिक गुण परिवर्तन गरेका अन्य कोरोना भाइरसभन्दा ७१ प्रतिशतभन्दा बढी संक्रामक रहेको विज्ञहरूले बताएका छन् । यो संक्रमण भएका व्यक्तिहरूमा सामान्य कोरोना भाइरस संक्रमणभन्दा निकै धेरै भाइरल लोड हुने अध्ययनहरूले देखिएका छन् ।

अन्य कोरोना भाइरसको तुलनामा बी–११७ ले संक्रमितलाई पार्ने असरबारे थप अध्ययन भइरहेको छ । यसका कारणले मृत्युदर बढेको हालसम्म नदेखिएको विश्व स्वास्थ्य संगठनले जनाएको छ । यस्तै हाल प्रयोगमा आएका भ्याक्सिनहरूले बी–११७ विरुद्ध पनि काम गर्छ वा गर्दैन भन्ने अध्ययनहरू पनि भइरहेको छ । जोन हप्किन्स विश्वविद्यालयको कोरोना ट्र्याकरअनुसार यो भाइरस विश्वका करिब ३ दर्जन मुलुकमा फैलिसकेको छ ।

प्रतिक्रिया