नेकपा प्रचण्ड-नेपाल समूहले प्रधानमन्त्री ओलीलाई पार्टी साधारण सदस्यबाट हटायो

नेकपा प्रचण्ड-नेपाल समूहले प्रधानमन्त्री ओलीलाई पार्टी साधारण सदस्यबाट हटायो

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहले प्रधानमन्त्री केपी ओलीलाई पार्टीको साधारण सदस्यबाट हटाएको छ । आइतबार बसेको नेकपा स्थायी कमिटी बैठकले प्रधानमन्त्री ओलीलाई पार्टी साधारण सदस्यबाट हटाउने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । 

प्रवक्ता श्रेष्ठका अनुसार केन्द्रीय कमिटी बैठकले दिएको अधिकार प्रयोग गर्दै ओलीलाई पार्टीको साधारण सदस्यबाट हटाउने निर्णय भएको हो । ओलीलाई पार्टी अध्यक्ष पदबाट हटाएपछि पनि उनले संविधान, लोकतन्त्र, राष्ट्रको नीति, राष्ट्र हितविरुद्ध गतिविधि गरेको र स्पष्टीकरणको जवाफ नदिएपछि साधारण सदस्यबाट हटाएको श्रेष्ठको भनाइ छ । 

‘केपी ओलीलाई केन्द्रीय कमिटी बैठकले दिएको अधिकार प्रयोग पार्टीको साधारण सदस्यबाटसमेत हटाउने निर्णय गरिएको छ’, प्रवक्ता श्रेष्ठले भने, ‘अध्यक्ष पदबाट हटाएपछि पनि उहाँले संविधान, लोकतन्त्र, राष्ट्रिय नीति र पार्टी हितविरुद्ध लगातार गतिविधि गरेकाले उहाँलाई पार्टी हितविपरित किन काम गरेको भनी स्पष्टीकरण सोधेको थियो । उहाँले जवाफ नदिएपछि आजको स्थायी कमिटी बैठकले साधारण सदस्यबाट हटाउने निर्णय गरेको हो ।’

पुस ५ गते प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गरेपछि नेकपा विभाजित भएको छ । एउटा समूहको नेतृत्व पुष्पकमल दाहाल ‘प्रचण्ड र माधव नेपालले गरेका छन् भने अर्को समूहको नेतृत्व प्रधानमन्त्री केपी ओलीले गरेका छन् । ओली समूहले कुनै नेतालाई कारबाही नगरे पनि प्रचण्ड नेपाल समूहले ओलीलाई कारबाही गर्ने निर्णय गर्दै आएको छ । यसअघि नै अध्यक्षबाट हटाएको प्रचण्ड–नेपाल समूहले आइतबार साधारण सदस्यबाट हटाएको हो ।   त्यसैगरी बैठकले पार्टी केन्द्रीय कार्यालयको सचिवमा गंगालाल तुलाधर र उपसचिवमा मोहन गौतमलाई नियुक्त गर्ने निर्णय गरेको छ । 

प्रतिक्रिया