प्रधानमन्त्रीको अभिव्यक्तिप्रति कांग्रेसले जनायो आपत्ति

प्रधानमन्त्रीको अभिव्यक्तिप्रति कांग्रेसले जनायो आपत्ति

काठमाडौँ: संसद विघटनको मुद्दालाई लिएर प्रधानमन्त्री केपी ओलीले दिएको अभिव्यक्तिबारे कांग्रेसले आपत्ति जनाएको छ ।’संसद विघटनको विरोध गर्नेहरू देश विरोधी हुन् भनेर प्रधानमन्त्री केपी शर्मा ओलीले दिएको अभिव्यक्ति अत्यन्तै आपत्तिजनक छ । फरक मत राख्न, आफ्नो विचार र विरोध प्रकट गर्न संविधानले प्रत्याभूत गरेको हकको प्रयोग गर्नु हरकोहीको नैसर्गिक अधिकार हो,’ नेता शर्माले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। विज्ञप्तिमार्फत प्रधानमन्त्रीको यस अभिव्यक्तिलाई अलोकतान्त्रिक र अधिनायक आकांक्षा भन्दै टिप्पणी गरिएको छ ।

सर्वोच्च अदालतमा भइरहेको बहसलाई ‘तमासा’ को संज्ञा दिएका प्रधानमन्त्रीको उक्त अभिव्यक्तिले अदालतको स्वतन्त्र विवेकलाई कुण्ठित गर्ने प्रयत्न गरेको पनि उक्त विज्ञप्तिमा छ । यस्तै सम्मानित र पाका अधिवक्ताको अपमान गरेकोमा पनि कांग्रेसले प्रधानमन्त्रीको आलोचना गरेको छ ।’आलोचक पत्रकारलाई नर्क जान्छन् भन्नू, प्रेस स्वतन्त्रता विरोधी अभिव्यक्ति हो भने पूर्व प्रधानन्यायाधीशहरुलाई ‘अजासु’ भनेर टिप्पणी गर्नु अभिव्यक्ति स्वतन्त्रता विरुद्धको बर्बराहट हो । प्रधानमन्त्रीका पछिल्ला कयौं अभिव्यक्तिले प्रधानमन्त्री पदको गरिमालाई धुलिसात बनाउँदै लगेका छन्,’ विज्ञप्तिमा उल्लेख छ।

विज्ञप्तिमा अघि लेखिएको छ, ‘उहाँको यो प्रवृत्ति दुःखद मात्रै होइन, लज्जास्पद पनि छ । संसद विघटनको असंवैधानिक कदम विरुद्ध देशव्यापी रूपमा उठेका विरोधका स्वरहरुलाई देश विरोधी, देशद्रोही भनेर गैह्र जिम्मेवार ढंगले लान्छित नगर्न र समाजको कुनै पनि वर्ग, पेशा, समुदायलाई लान्छित र अपमानित गर्ने ढंगले अभिव्यक्ति नदिन प्रधानमन्त्रीजीलाई नेपाली कांग्रेस कडा चेतावनी दिन चाहन्छ ।’

प्रतिक्रिया