सांसदको रिटमा बहस गर्न प्रधानन्यायाधीशले तोके १५ मिनेट समय

सांसदको रिटमा बहस गर्न प्रधानन्यायाधीशले तोके १५ मिनेट समय

काठमाडौं : सर्वोच्च अदालतमा संसद विघटनविरुद्ध नेकपाका सांसदहरुले दिएको रिटमा बहस गर्न प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले समय तोकेका छन् । नेकपा संसदीय दलका नेता देव गुरुङसमेतको रिटमा सर्वोच्चमा सोमबारदेखि बहस भइरहेको छ । बुधबार सोही रिटमाथि बहस भइरहेका बेला प्रधानन्यायाधीश जबराले यस रिटमा बोल्न एक जना कानुन व्यवसायीलाई १० देखि १५ मिनेट मात्र समय दिन सक्ने बताएका छन् । बुधबारको इजलासको अन्तिममा जबराले भने ‘ अब तपाईंहरुलाई १०/१५ मिनेट भन्दा बढता दिन्नौं, हठ पनि नगर्नुहोला ।’

प्रधानन्यायाधीश जबराले यसपछि पनि संसद विघटनसम्बन्धी ६ वटा रिटमा सुनुवाइ बाँकी रहेको भन्दै धेरै समय नलिन आग्रह गरेका हुन् । ‘तपाईंहरुको सकिएपछि अझै बाँकी ६ वटा निवेदन छ । उहाँहरुलाई पनि समय दिनैपर्यो । यसलाई प्रिय नै मानिदिनुहोला’ उनले भने ।देव गुरुङसमेतको रिटमा वरिष्ठ अधिवक्ता डा. युवराज संग्रौला, शम्भु थापा, सुरेन्द्र महतो, शेरबहादुर केसी, अधिवक्ता मेघराज पोखरेललगायतले बहस गरिसकेका छन् । यसअघि यो रिटमा बहस गर्नेले २ घण्टासम्म समय पनि लिएका थिए । संसद विघटनसम्बन्धी मुद्दामा संवैधानिक इजलासमा माघ ४ गतेदेखि विषयकेन्द्रित बहस भइरहेको छ । कुल १३ वटा रिट परेकामा हालसम्म ७ वटामा मात्र सुनुवाई भएको छ ।

प्रतिक्रिया