सरकार र चन्द समूहबीच दुई चरणमा वार्ता : सकारात्मक निष्कर्षमा पुग्ने अपेक्षा

          |   प्रकाशित मितिः बुधबार, फाल्गुन १९, २०७७     ::: 121 पटक पढिएको   |  

काठमाडौँ : सरकार र नेत्रविक्रम चन्द (विप्लव) समूहबीच दोस्रो चरणको वार्ता सम्पन्न भएको छ । बुधबार अपरान्ह दोस्रो चरणको वार्ता सम्पन्न भएको सरकारी वार्ता टोलीका सदस्य एवं प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराईले जानकारी दिएका छन् । वार्ता विषय केन्द्रीत रहेको र दुवै पक्ष समान धारणा नजिक पुगेको पनि उनले दाबी गरेका छन् । वार्ता सकारात्मक निष्कर्षमा पुग्ने भट्टराईले उल्लेख गरेका छन् ।
सामाजिक सञ्जालमा भट्टराईले भनेका छन्,’ नेपाल सरकार र नेत्रविक्रम चन्द (विप्लव) ले नेतृत्व गर्नु भएको नेकपाका वार्ता टोलीबीच दोस्रो चरणको वार्ता (बुधवार) अहिले साँझ सम्पन्न भयो, वार्ता विषय केन्द्रित रह्यो । दुवै पक्ष समान धारणा नजिक पुगेको र छिट्टै सकारात्मक निष्कर्षमा पुग्ने अपेक्षा गरिएको छ ।’
बुधबार बिहान मात्रै सरकार र नेत्रविक्रम चन्द नेतृत्वको समूहबीचको पहिलो चरणको वार्ता सकिएको थियो । औपचारिक रूपमा वार्ता टोली गठन गरेको भोलिपल्टै (बुधबार) दुवै पक्ष वार्तामा बसेका थिए । मंगलबार सरकारले गृहमन्त्री रामबहादुर थापा ‘बादल’ र प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा.राजन भट्टराई सम्मिलित वार्ता टोली गठन गरेको थियो । त्यसको एक घण्टापछि विप्लव पक्षले पनि वार्ता टोली गठन गरिएको वक्तव्य निकालेको थियो । उक्त समूहले पूर्वमन्त्री खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ को संयोजकत्वमा केन्द्रीय सदस्य उदयबहादुर चलाउने ‘दीपक’ सम्मिलित वार्ता टोली गठन गरेको थियो ।
बुधवार विहान भएको पहिलो चरणको वार्तापछि सरकारी वार्ता टोलीका संयोजक समेत रहेका गृहमन्त्री रामबहादुर थापाले नेत्रविक्रम चन्द समूहसँगको वार्ता सकारात्मक दिशातर्फ अघि बढेको बताएका थिए । बुधबार बालुवाटारमा भएको सरकार र चन्द समूहबीचको पहिलो चरणको वार्तामा सैद्धान्तिक र प्राविधिक विषय सहमति नजिक पुगेको पनि गृहमन्त्री थापाले जानकारी दिएका थिए ।
चन्द समूहले मंगलबार प्रवक्ता विश्वकर्माको नेतृत्वमा दुई सदस्यीय वार्ता टोली सार्वजनिक गरेको थियो । चन्द समूहले जेलमा रहेका आफ्ना नेता–कार्यकर्ता रिहा र हतियारसम्बन्धी मुद्दा फिर्ता गर्नुपर्ने, पार्टीमाथिको प्रतिबन्ध फुकुवा हुनुपर्ने लगायत सर्त अघि सारेको छ । सरकारले पनि गृहमन्त्री थापाको संयोजकत्वमा दुई सदस्यीय समिति सार्वजनिक गरेको थियो ।
मंगलबार सरकारका प्रवक्तासमेत रहेका सञ्चारमन्त्री पार्वत गुरुङले चन्द समूहले पनि वार्ता टोली गठन गरे चाँडै वार्ता हुने बताएका थिए । उनले हतियार मुद्दालगायत विषय वार्ताबाटै टुंगो लगाइने जानकारी दिएका थिए । सरकारले चन्द नेतृत्वको नेकपामाथि २०७५ फागुन २८ मा प्रतिबन्ध लगाउने निर्णय गरेको थियो । झन्डै २० महिनाअगाडि सरकारले चन्दसहितका सशस्त्र समूहसँग छलफलका लागि सोमप्रसाद पाण्डे संयोजक, सुरेश आलेमगर र लीला भण्डारी सदस्य रहेको वार्ता समिति बनाएको थियो । तर, चन्द समूह आउन नमानेपछि ६ महिनामै सरकारी वार्ता टोली भंग भएको थियो ।



Leave a comment

Your email address will not be published.


*