बिहीबार सर्वोच्च अदालत बन्द : ‘नेकपा’ कसको भन्‍ने फैसला कहिले ?

बिहीबार सर्वोच्च अदालत बन्द : ‘नेकपा’ कसको भन्‍ने फैसला कहिले ?

काठमाडौं : सर्वोच्च अदालतले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विवादको निर्णय बिहीबार नआउने भएको छ। नेकपा नाम जुधाएको भन्दै ऋषिराम कट्टेलले सर्वोच्चमा दायर गरेको रिटमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतले आज निर्णय सुनाउने भएको थियो। तर मंगलबार साँझ पूर्वप्रधानन्यायाधीश सुरेन्द्रप्रसाद सिंहको निधनको शोकमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा र सर्वोच्चका न्यायाधीश संलग्न सर्वोच्चको बुधबार बसेको फुलकोर्ट बैठकले शोक मनाउन बिहीबार मुलुकभरका सबै अदालत तथा न्यायाधीकरण बन्द गर्ने निर्णय गरेको छ।

पुस ५ गते प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभा विघटन गरेपछि पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले नेकपामा आफूहरु आधिकारिक भएको दाबी गर्दै आएका छन्। प्रधानमन्त्री ओलीलाई पार्टी अध्यक्षबाट कारबाही गरेको यो समूहले आधिकारिकता दाबी गर्दै निर्वाचन आयोगमा निवेदनसमेत दिएको छ। यता ओलीले भने नक्कलीहरुले मात्र आधिकारिकता दाबी गर्ने भन्दै आफ्नो समूह नै आधिकारिक भएको बताउँदै आएका छन्। फागुन २३ गते प्रतिनिधि सभा बैठक सरकारले बोलाएको छ। बैठकअघि फैसला आउने आस गरिएको भएपनि बिहीबार बिदा भएपछि थप समय लाग्ने भएको छ। अदालतले अब यो मुद्दाको फैसला मिति २३ गते अगाडि वा पछाडि कहिले तोकिन्छ शुक्रबार मात्र थाहा हुनेछ।

कट्टेलले नेकपा नाममा दाबी गर्दै सर्वोच्चमा दायर गरेको रिटमाथि न्यायाधीशद्वय वमकुमार श्रेष्ठ र कुमार रेग्मीको इजलासमा सुनुवाइ भएको हो। सुनुवाइ सकिएपछि २० गते निर्णय सुनाउने तय थियो।सत्तारुढ नेकपाभित्र पार्टीको आधिकारिकता विषयमा विवाद चर्किएका बेला कट्टेलले २०७५ मंसिर २१ गते दायर गरेको रिटमाथि सुनुवाइ भएको हो। यसअघि यो रिटमाथि पेसी चढे पनि सर्दै आएको थियो। नाम विवाद किनारा लागे सत्तारुढ नेकपाको विवादसमेत किनारा लाग्ने आँकलन गरिएको छ।

नेकपाको विवादमा निर्णय दिन आयोगलाई दबाब
यता पाँच पूर्वप्रमुख निर्वाचन आयुक्तले सत्तारुढ नेकपाको विवादमा यथाशीघ्र निर्णय दिन निर्वाचन आयोगलाई आग्रह गरेका छन्। आयोग अनिर्णयको बन्दी रहँदा त्यसले मुलुकको राजनीतिक प्रक्रिया तथा आयोगको साखमा असर गर्न सक्ने भन्दै उनीहरूले बुधबार प्रेस विज्ञप्तिमार्फत चिन्ता व्यक्त गरेका छन्। विज्ञप्ति जारी गर्नेमा सूर्यप्रसाद श्रेष्ठ, भोजराज पोखरेल, नीलकण्ठ उप्रेती, डा. अयोधिप्रसाद यादव र दोलखबहादुर गुरुङ छन्।

प्रतिक्रिया