समान काम,असमान ज्याला

समान काम,असमान ज्याला

दैलेख : बालकुमारी सुनार नारायण नगरपालिका–१ स्थित नमुना बस्तीमा बसोबास गर्छीन् । उनि सदरमुकाममा मालवाहक सवारी साधनमा सामान लोड अनलोड गर्ने काम गर्छिन् । दिनभरि दुःख गरेर कमाएको धेरथोर पैसा बालकुमारीले छोराछोरी पढाउन, घरखर्च चलाउन खर्चिन्छिन् । ‘बिहान ६ बजेदेखि मध्यरातीसम्म सामान लोड अनलोड गर्ने काम गर्नुपर्छ, कामको पछि दोडिँदा पेटभरी खान र छोरा छोरीको हेरचाहा गर्ने समय पनि मिल्दैन् तर पुरुष सरह ज्याला कहिल्यै पाइन्,’ उनि भन्छिन् । आफुले एक बोरो सिमेन्ट बोकेको १० रुपैयाँ पाउने गरेको उनले बताइन् ।
उनिजस्तै पवित्रा बादीको दैनिकी ज्यालादारीमा काम गरेरै बित्छ । मजदुरी देखि विकास निर्माणका काममा समेत महिलाहरुले पुरुष भन्दा कम ज्याला पाउने उनको भनाई छ । ‘घर ढलानको काममा पुरुषहरु र हामीले गर्ने काम एउटै हो तर पुरुषहरुले एक हजार रुपैयाँ पाउनुहुन्छ, हामीलाई पाँच सय रुपैयाँ पाउँछौ, काम बराबरी भएपनि ज्याला कम पाउँदा महिलाहरु विभेदमा परिरहेका छन्,’ पवित्रा भन्छिन् ‘काम एउटै भएपनि ज्याला फरक हुँदा हाम्रो श्रमको सम्मान भएन् ।’ पुरुषहरुसँगै काम गर्न जाँदा आफुहरुलाई होच्याउने गरिएको समेत उनको अनुभव छ । काम गर्ने क्रममा पुरुषले भन्दा महिलाले बढी दुःख पाउने उनको दाबी छ । कतिपय महिलाहरु सुत्केरी भएको १० दिन नबित्दै मजदुरी गर्न बाध्य भएपनि समान ज्याला नपाउँदा मर्कामा परेको स्थानीय सिता विक बताउँछिन् ।
उनिहरुजस्तै यहाँका महिलाहरुले समान काम गरेपनि आफुहरुमाथी ज्यालामा विभेद भईरहेको गुनासो गरेका छन् । अन्तराष्ट्रिय महिला दिवसको अबसरमा सुन्दर नेपाल संस्थाको सहयोग तथा समन्वयमा नारायण नगरपालिकाद्धारा आयोजित श्रमिक महिलाका सवालमा अबसर र चुनौती विषयक एक अन्तरक्रियामा महिलाहरुले आफूले धेरै स्थानमा मजदुरी गर्दा समान ज्यालाको कुरा उठाए पनि कसैले मतलब नगरेको गुनासो गरेका छन् । महिला र पुरुषहरुले गर्ने काम एउटै भए पनि ज्यालामा फरक रहेको, सरकारले समेत श्रम शोषण गरिरहेको स्थानीय कमला बादीको भनाई छ । कमला बाल शिक्षा सहयोगी कार्यकर्ता हुन् । कमलाले साना बालबालिकालाई पढाए बापत मासिक ६ हजार रुपैयाँ पाउँछिन् । ‘अहिले पाईरहेको पारिश्रमिकले घर खर्च समेत चलाउने पुग्दैन्,’ उनि भन्छिन् ‘हामी गरेको श्रमको न्यूनतम ज्याला कहिले पाउने ?’
समान ज्याला नहुँदा महिलाहरु मर्कामा परिरहेको अधिकारकर्मी रमा श्रेष्ठले बताउँछिन् । ‘महिलाहरुको घरमा गरेको कामको मुल्यांकन हुँदैन्, महिला र पुरुष कामदारबीच समान ज्याला छैन्,’ उनि भन्छिन् । राष्ट्रिय गौरबको आयोजना मध्यपहाडी राजमार्ग निर्माणमा मजदुरी गर्ने महिला कामदार र पुरुष कामदारबीच समान ज्याला नभएको उनको भनाई छ । समान ज्याला, रोजगारी सृजना र श्रमिक महिलाहरुको अधिकार सुनिश्चित गर्न स्थानीय तहले पहल गर्नुपर्ने उनको भनाई छ । दैलेखका महिलाहरु दैनिक १७ घण्टा काम गर्दै आएका छन् । कार्यक्रममा नारायण नगरपालिकाका उपप्रमुख सावित्री मल्ल, सामाजिक विकास कार्यालयका प्रमुख झलक प्रसाद कोइराला, विभिन्न सरकारी तथा गैरसरकारी निकायका प्रतिनीधि,पत्रकार तथा श्रमिक महिलाहरुको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया