बालबालिकाद्धारा अभिनीत गीति नाटक प्रर्दशन

बालबालिकाद्धारा अभिनीत गीति नाटक प्रर्दशन

दैलेख : यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायले आफ्नो मौलिक हक, नागरिकता, शिक्षा, स्वास्थ्य, रोजगारीमा समान अधिकार आदिका लागि आवाज उठाईरहेको छ । यद्धपी यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायको पहिचानलाई अझै पनि घरपरिवार, समाजले सहजै स्वीकार्न सकेको छैन् । फरक यौनिकता र लैंगिक पहिचान भएको आधारमा यो समुदायमाथि भेदभाव हुने गरेको छ । नेपालमा यौनिक तथा लैङ्गिक अल्पसंख्यकलाई राज्यले अरु नागरिक सरह हेर्न सकेको छैन् । फलस्वरुप यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायले घरपरिवार र समुदायबाट हेँला र तिरस्कार सहनु परेको छ । समाज र घरपरिवारमा छोराछोरीबीच विभेद उस्तै छ ।
यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायले भोग्नु परेका पीडा र समाजले गर्ने तिरस्कारको बिषय तथा छोराछोरीबीच विभेदकाे अवस्था समेटिएको गीति नाटक ‘लैङ्गिक समानता’ हालै प्रर्दशन गरिएको छ । जिल्लाको गुराँस गाउँपालिका–३ सेरी स्थित तीन स्थानमा गीति नाटक ‘लैङ्गिक समानता’ प्रर्दशन गरिएको हो । सेरीस्थित पातिकान्ला बजार, सरस्वती माध्यामिक विद्यालय र शान्ति माध्यामिक विद्यालयमा नाटक प्रर्दशन गरिएको हो । सिर्जनशिल बाल क्लबले नाटक प्रर्दशन गरेको हो । सेभ द चिल्ड्रेन र सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखको साझेदारीमा सञ्चालित सहयात्रा दोस्रो परियोजना (एलजीविटीआई) को सहयोग र शान्ति मावीको समन्वयमा बाल क्लबले नाटक प्रर्दशन गरेको हो ।
बालबालिकाहरुको अन्तरनिहीत प्रतिभा प्रस्फुटन गर्न र गिती नाटकको माध्ययमबाट यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायका व्यक्तिहरुको हक अधिकारबारे समुदाय र विद्यालयमा सचेतना फैलाउने उदेश्यले नाटक प्रर्दशन गरिएको परियोजना अधिकृत सजना सुनारले बताइन् । लैङ्गिक समानताका लागि सन्देशमुलक गीति नाटक प्रर्दशन गरिएको सुनारको भनाई छ । यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायलाई घरपरिवार र समुदायबाट गर्ने व्यवहार, छोरा र छोरीबीच गरिने विभेदलाई नाटकमार्फत देखाईएको छ ।
परियोजना अधिकृत सजना सुनारको लेखन तथा परिकल्पनामा तयार पारिएको नाटकमा भविसरा रामजाली, धनकुमारी सारु, जानकी रामजाली मगर, शुसिला सुनार, कमल विक, सम्झना सुनार,, संगिता सुनार, विनिता सिजालीमगर, बसन्त मगर, सिम्रन सुनार, पूर्णीमा शाही, डिलकुमारी रामजाली मगर, विक्रम सुनार, गणेश शाही, रामकुमारी सिजाली मगर, प्रेरणा रामजाली मगर, किरणबंशी मगर, हिमाल विक, कृष्ण शाही, अशोक सिजालीले अभिनय गरेका छन् ।

प्रतिक्रिया