एमाले संसदीय दल बैठक : निर्णय फिर्ता लिन नेपाल समूहको माग : कुनै निर्णय फिर्ता नहुने ओलीको जवाफ

काठमाडौं : नेकपा (एमाले) संसदीय दलको बैठकमा वरिष्ठ नेता माधवकुमार नेपाल समूहले सर्वोच्च अदालतको फैसलापछि पार्टीभित्र भएका निर्णय फिर्ता लिन माग गरेको छ । पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओलीले भने यसअघिका बैठकले गरेका कुनै पनि निर्णय फिर्ता लिन नसकिने जवाफ दिएका छन् । बैठकमा बोल्दै नेपाल समूहका सांसद् एवम् वरिष्ठ नेता झलनाथ खनाल, सांसदहरु घनश्याम भुसाल, योगेश, गोकर्ण विष्टले प्रधानमन्त्रीले पार्टी एकताबद्ध बनाउन ऐतिहासिक भूमिका निर्वाह गर्नुपर्ने अवस्था आएको भन्दै २०७५ जेठ २ को अवस्थाबाट अगाडि बढ्नुपर्नेमा जोड दिएका हुन् ।
बैठकमा सबैका गुनासा र आलोचना सुन्ने तर गुटगत आधारमा आउने कुरा स्वीकार्य नहुने भन्दै ओलीले कुनै पनि निर्णयबाट पछाडि नहट्नबताएको एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले बताए । ‘केही साथी अनुपस्थित भए पनि सबै बैठक विधिसम्वत् भएका छन्’, प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै नेता भट्टराईले भने, ‘फागुन २८, चैत ५ र ७ गतेका निर्णयबाट पछाडि फर्किन सकिँदैन ।’
प्रधानमन्त्री ओलीले विधान संशोधन भइसकेकाले तत्काल परिमार्जन गर्न नसकिने प्रष्ट पारेका छन् । उनले आवश्यक पर्दा संशोधन गर्न सकिने भए पनि तत्काल त्यो सम्भव नभएको दाबी गरेको भट्टराईले बताए । ‘विधानलाई केन्द्रीय कमिटीले अनुमोदन गरिसकेको अवस्था हो । विधानलाई आवश्यक परे संशोधन गर्न सकिने तर अहिले नै परिमार्जन गर्न सक्ने अवस्था छैन’, ओलीको भनाइ उद्धृत गर्दै भट्टराईले भने ।
सँगै ओलीले गुटगत ढंगले कसैसँग डिल नगर्ने बताएका छन् । व्यक्तिगत रुपमा गुनासा र आलोचना सुन्ने तर गुटगट ढंगले आएका विषयको सुनुवाइ नहुने ओलीको भनाइ छ । ‘हाम्रो पार्टीमा समूहगत र गुटगत हिसाबमा डिल कसैसँग पनि गर्दैनौँ’, ओलीको भनाइ पत्रकारलाई सुनाउँदै भट्टराईले भने, ‘व्यक्तिगत रुपमा आलोचना र गुुनासा सुन्न तयार छौँ । त्यसका लागि सचेतक, उपनेता र दलको नेतालाई भन्नुहोस् । तर, गुटगत हिसाबले छलफल र कुराकानी नहुने जानकारी गराउनु भएको छ ।’
प्रतिक्रिया