वायु प्रदुषणका कारण चार दिन देशभरका शैक्षिक संस्था बन्द

वायु प्रदुषणका कारण चार दिन देशभरका शैक्षिक संस्था बन्द

काठमाडौँ: राजधानी लगायतका ठाउँमा केही दिनदेखि जारी वायु प्रदुषणका कारण विद्यार्थीको स्वास्थ्यमा प्रतिकूल असर पर्ने देखिएपछि सरकारले देशभरका सबै शैक्षिक संस्था ४ दिनका लागि बन्द गर्ने निर्णय गरेको छ । शिक्षा मन्त्रालयमा सोमबार बसेको आकस्मिक बैठकले यस्तो निर्णय गरेको हो । चैत १७ गते मंगलबारदेखि २० गतेसम्म शैक्षिक संस्था बन्द गरिने छ ।

शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठको अध्यक्षतामा बसेको उक्त बैठकले विद्यालय तहदेखि विश्वविद्यालय तहसम्मका सबै शैक्षिक संस्थाहरु बन्द गर्ने निर्णय गरेको प्रेस सल्लाहकार ईश्वरराज ढकालले अन्नपूर्ण अनलाईनलाई जानकारी दिए । केही दिनदेखि तुवाँलोको कारण काठमाडौँ लगायतका स्थानमा वायु प्रदुषण बढ्दै जाँदा यहाँको जनजीवन प्रभावित बनेको छ ।

जनस्वास्थ्यका लागि हानिकारक हुने भएकाले केही दिन स्कुल-कलेज बन्द गरेर विद्यार्थीहरुको स्वास्थलाई सुरक्षित राख्न यस्तो निर्णय गरिएको शिक्षा मन्त्रालयले जनाएको छ । देशभर विद्यालय तहदेखि विश्वविद्यालय तहसम्म करिब ७० लाख भन्दा बढी विद्यार्थी अध्ययनरत छन् ।

प्रतिक्रिया