कोरोना महामारीपछि बेचिने महिला, किशोरी तथा बालबालिकाको संख्या बढ्दाे

कोरोना महामारीपछि बेचिने महिला, किशोरी तथा बालबालिकाको संख्या बढ्दाे

काठमाडौं : कोरोना महामारीपछि बेचिने महिला, किशोरी तथा बालबालिकाको संख्या अधिक बढेको महिला तथा बालबालिका बेचबिखनविरुद्ध काम गर्ने संघ–संस्थाहरुले जनाएका छन् । कोभिडले सबै क्षेत्र अस्तव्यस्त बनेको छ । महामारी नियन्त्रणका लागि गरिएको लकडाउनले व्यापार-व्यवसाय चौपट बनेर धेरैको रोजगारी गुम्यो । त्यसको सोझो असर श्रम गरिखाने वर्गको दैनिकीमा पर्यो ।

दैनिक आयस्रोत बन्द हुँदा पारिवारिक कलह, यौन हिंसा, घरेलु हिंसाजस्ता अपराधको संख्या बढ्दै गएको ती संघ–संस्थाको अध्ययनले देखाएको छ । यस्ता अपराधको परिणाम मानव बेचबिखनमा पनि देखिरहेको छ ।

प्राकृतिक विपत्ति र महामारीबाट जनजीवनमा रोकावट आउँदा मानव बेचबिखनको अपराध बढ्ने यस क्षेत्रमा काम गर्नेहरुको भनाइ छ । उनीहरुका अनुसार यस्तो कठिन परिस्थितिमा आर्थिक प्रलोभनमा पार्न सहज हुने भएकाले मानव तस्कर र दलालहरु सक्रिय बन्छन् । कोभिडपछि रोजगारीको प्रलोभनमा आन्तरिक तथा बाह्य बेचबिखनमा परेका तथा ओसारपसारको क्रममा उद्धार गरिएकाहरुको संख्या उल्लेख्य रुपमा बढेको छ ।

शक्ति समूहकी संस्थापक अध्यक्ष चरीमाया तामाङ कोरोना महामारीबाट सिर्जित बेरोजगारीले महिला तथा किशोरी बेचबिखन अत्यधिक बढाएको बताउँछिन् । कोरोनाको प्रभाव यथावत् रहेकाले बेचिनेको संख्या बढ्न सक्ने उनको आँकलन छ । ‘महामारी, आर्थिक मन्दी, प्राकृतिक प्रकोपहरु मानव बेचबिखनमा संलग्नहरुलाई अवसर बनेर आउने रहेछ,’ उनी भन्छिन्, ‘संकटका बेला प्रलोभनमा पार्न सहज हुने भएकाले दलालहरु यस्तै अवसरको खोजीमा हुन्छन् ।’

कोभिडका कारण आम्दानीका क्षेत्र गुमेका छन् । मानिसहरु कमाउने अवसरको खोजीमा छन् । माइती नेपालका कार्यक्रम प्रबन्धक रामशरण पौडेल यस्तो बेला अपराधीको प्रलोभनमा फस्ने जोखिम स्वतः बढ्ने बताउँछन् । जस्तो– धादिङकी कल्पना (परिवर्तित नाम) रोजगारीको प्रलोभनमा परी भारतमा बेचिन पुगिन् । ललितपुरको एउटा निजी कम्पनीमा सेल्स गर्लको काम गरिरहेकी उनी लकडाउन हुनासाथ बेरोजगार बनिन् ।

लकडाउन भएको पाँच दिनपछि साथीहरुसँग हिँडेरै घर गएकी उनी ८ महिनामा काठमाडौं आइन्, तर जागिर पाइनन् । पहिला सँगै काम गरेका एक साथीले आफ्नै फुपूको साथ लागेर काम गर्न भारत जान लागेको सुनाए । त्यहाँ आकर्षक तलब पाइने कुराले उनलाई पनि लोभ्यायो । साथीकी फुपूसँग कुरा गरेर उनी पनि उतै लागिन् ।

दिल्ली पुगेको भोलिपल्ट फुपूले उनीहरुलाई एउटा कपडा पसलमा लगेर छाडिन् । कपडा पसलेले भोलिपल्टै जबजस्ती यौन व्यवसायमा लगाएपछि उनीहरुले आफूहरु बेचिएको थाहा पाए । त्यसपछि मेसेन्जरमार्फत आफन्तलाई जानकारी गराएको २४ दिनपछि उद्धार गरेर उनीहरुलाई नेपाल ल्याइयो । उनीहरुले ती ‘फुपू’विरुद्ध किटानी जाहेरी दिएका छन् । ‘अहिले आन्तरिक र बाह्य दुवैखाले बेचबिखनको जालो फैलिरहेको छ,’ उनी भन्छिन्, ‘लकडाउनको बेला एम्बुलेन्स, खाद्यान्न, पानी ढुवानी गर्ने सवारी साधनहरु आन्तरिक मानव ओसारपसारमा दुरुपयोग भएको पाइएको थियो ।’

यस क्षेत्रमा कार्यरत संघ–संस्थाका अनुसार, महिला र किशोरीहरुलाई रोजगारीको प्रलोभनमा नेपालकै विभिन्न स्थान तथा भारत र श्रीलंकासम्म पुर्याएर बेचबिखन गर्ने क्रम बढेको छ । लकडाउन भएपछिको तीन महिनामा शक्ति समूहले मात्र २१ जनाको उद्धार गरेको थियो ।त्यसयता पनि उद्घार गरिएकाहरुको संख्या थपिँदै गएकाले तथ्यांक अधूरो रहेको समूहकी संस्थापक अध्यक्ष तामाङ बताउँछिन् । अहिले पनि मानव ओसारपसार रोकथाम र उद्धारमा लागिरहेका उनले बताइन् ।

महिला तथा बालबालिका बेचबिखनविरुद्ध काम गर्ने ४१ संस्था आबद्घ एटविनमा पनि बेचबिखनमा परेका महिला तथा बालबालिकाको तथ्यांक पूर्ण छैन । कोभिडपछि बढेको तथ्यांक निकाल्न समय लाग्ने निर्देशक गुरुङले बताइन् ।महिला तथा बालबालिका बेचबिखनविरुद्ध सहकर्मी समूह नेपाल (एटविन)की कार्यकारी निर्देशक बेनुमाया गुरुङ कोभिडपछि बेचबिखनको समस्या भुसको आगोसरह भित्रभित्रै फैलिरहेको बताउँछिन् । सरकारी, गैरसरकारी सबै निकाय एक भएर नलागे यो अपराध नियन्त्रण नहुने उनी बताउँछिन् ।

‘अहिले आन्तरिक र बाह्य दुवैखाले बेचबिखनको जालो फैलिरहेको छ,’ उनी भन्छिन्, ‘लकडाउनको बेला एम्बुलेन्स, खाद्यान्न, पानी ढुवानी गर्ने सवारी साधनहरु आन्तरिक मानव ओसारपसारमा दुरुपयोग भएको पाइएको थियो ।’त्यसैको उदाहरण हुन्– मोरङकी बबिता (परिवर्तित नाम) । काठमाडौंको एक रेष्टुरेन्टमा वेटर रहेकी उनी लकडाउनसँगै बेरोजगार बन्न पुगिन् । लकडाउनको समयावधि थपिँदै जाँदा उनको समस्या बढ्ँदै गयो । त्यही बेला छिमेकका एक व्यक्तिले पोखरामा आफ्नो भाइको अनलाइन व्यवसायमा डेलिभरी गर्ल चाहिएको बताए । लकडाउनमा अनलाइन व्यवसाय फस्टाइरहेको थियो । तलब धेरै नभए पनि खाने बस्नेको सुविधा दिने भएपछि बबिता पोखरा जान तयार भइन् । उनलाई खाद्यान्न ल्याएर फर्किएको गाडीमा पोखरा लगियो ।

पोखरा पुग्न लाग्दा पानी पिएर निदाएकी उनी ब्युँझिदा एउटा कोठामा थिइन् । केहीबेरमा ग्राहक आएर जबर्जस्ती गर्दा मात्रै उनले आफू बेचिएको थाहा पाइन् । करिब तीन महिनामा एक संस्था र प्रहरीको टोलीले छापा मारेर उनको उद्धार गर्यो । अहिले उनी काठमाडौंको एक संस्थाको आश्रयमा छिन् ।मनोरन्जन तथा सत्कार क्षेत्रमा कार्यरत महिलाहरुको हितमा काम गरिरहेको विश्वास नेपालले लकडाउनपछि ८ आन्तरिक र ५ बाह्य गरी बेचबिखनमा परेका १३ जनाको उद्धार गरेको छ । उनीहरु सबैलाई आर्थिक प्रलोभनमा पारेर बेचिएको उक्त संस्था बताउँछ ।

संस्थाका सूचना अधिकारी रसना ढकाल कोरोनाको कारण बेचबिखनमा पर्नुका साथै जबर्जस्ती यौन व्यवसायमा लाग्न बाध्य भएकाको संख्या एकदमै बढेको बताउँछिन् । ‘मनोरन्जन तथा सत्कार क्षेत्रमा काम गर्नेहरु कोरोनाकालमा बेरोजगार हुनुभयो,’ उनी भन्छिन्, ‘यसले गर्दा आर्थिक सुरक्षाको प्रलोभनमा बेचिने जोखिम एकाएक बढ्यो । जबर्जस्ती यौन व्यवसायमा लाग्न बाध्य हुनेको संख्या बढेको छ ।’

राष्ट्रिय मानव अधिकार आयोगको मानव बेचबिखनविरुद्घ अधिकार शाखाकी सम्पर्क व्यक्ति यशोदा बन्जाडे पनि कोभिडपछि अनौपचारिक क्षेत्र र मनोरन्जन तथा सत्कार क्षेत्रमा कार्यरत धेरै महिला, किशोरी तथा बालिकाहरु बेचबिखनमा परेको बताउँछिन् । उनी भन्छिन्, ‘लकडाउनमा आन्तरिक बेचबिखन र लकडाउन खुलेसँगै बाह्य बेचबिखनमा पर्नेहरुको संख्या अत्यधिक बढेको छ । त्यसलाई तथ्यांकमा उतार्ने काम हुँदैछ ।’

प्रहरीको तथ्यांकमा बेचिनेको संख्या न्यून

मानव बेचबिखनविरुद्घ काम गर्ने संघ–संस्थाहरुले कोभिडपछि बेचिनेको संख्या अत्यधिक बढेको बताइरहेको बेला प्रहरीको तथ्यांकले भने अवस्था सामान्य देखाउँछ । चालु आर्थिक वर्षको माघ मसान्तसम्म ३३ वटा मात्रै मानव बेचविखन सम्बन्ध अपराधको मुद्दा दर्ता भएको छ ।नेपाल प्रहरीको मानव बेचबिखन व्यूरोकी प्रमुख एसएसपी दुर्गा सिंह अवैध बाटो भएर वैदेशिक रोजगारीमा जानेको संख्या बढेपनि बेचबिखनमा पर्नेको संख्या नबढेको बताउँछिन् ।

एटविनकी कार्यकारी निर्देशक बेनुमाया गुरुङ भने रिपोर्टिङमा हुने समस्याका कारण प्रहरीको तथ्यांकमा कम देखिएको हुनसक्ने बताउँछिन् । ‘एक त प्रहरीको संरचना महिलामैत्री छैन,’ उनी भन्छिन्, ‘तहगत रिपोर्टिङ नै नहुने समस्या पनि छ ।’शक्ति समूहकी संस्थापक अध्यक्ष चरीमाया तामाङ कानुनी उपचारमा जाँदा समाजले थाहा पाउँछ भन्ने डरले उजुरी नगर्ने चलनका कारण पनि प्रहरीमा कम रिपोर्टिङ हुने गरेको बताउँछिन् । ‘अपराधीले कमजोर व्यक्ति र समुदायलाई निशाना बनाएको हुन्छ,’ उनी भन्छिन् ‘त्यस्ता पीडितहरु पहुँच नभएर वा पीडकको डरले प्रहरीसम्म पुग्नै सक्दैनन् ।’ नुनुता राई/अनलाइनखबर

प्रतिक्रिया